दसैँको मौका पारेर उदयपुरमा सवारी भाडादरमा मनपरी वृद्धि



उदयपुर।

दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् ।

जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका साधनहरुले अहिले दसैँको समयमा सवारी भाडा मनपरी वृद्धि गर्न थालेपछि पहाडी क्षेत्र जाने अधिकांश यात्रुले मारमा परेको गुनासो गर्न थालेका छन् ।

जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे हुँदै डिल्लीबर भएर माझखर्क, बासबोटे, जाँते, बराह तथा साउने खाँबु हुँदै रसुवा भएर बलाम्ता ताम्लिछा जाने पहाडी क्षेत्रका अधिकांश यातायात व्यवसायीहरुले र एक हजारदेखि एक हजार पाँच सयसम्म सवारी भाडा वृद्धि गरेको यात्रुहरुको गुनासो छ ।

दश दिन अगाडिसम्म गाईघाटदेखि बलाम्ता, ताम्लिछा, जाँतेसम्म पुग्नका लागि प्रतिव्यक्ति रु पाँच सयदेखि छ सयसम्म सवारी भाडादर भए पनि अहिले दसैँ नजिकै आउन थालेपछि प्रतियात्रु एक हजार बढेको ताम्लिछाका यात्रु देवराज राईले बताए ।

यता जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे डिल्लीबर हुँदै माझखर्कसम्म पुग्नका लागि अहिले रु सात सयबाट सवारी भाडा वृद्धि भएर रु एक हजार पाँचसय पुगेको छ । जिल्ला सदरमुकाम गाईघाटदेखि नेपालटार, भलायाडाँडासम्म ३० किलोमिटरदेखि ५० किलोमिटर सडक खण्डको भाडादर अहिले रु एक हजारले वृद्धि भएपछि मारमा परेको उदयपुरगढी पञ्चावतीका दुर्गाकेशर खतिवडाले बताए ।

दसैँको बेला टाढाबाट दसैँ मान्न जसरी पनि गाउँ पुग्नुपर्ने भएकाले यातायात व्यवसायीहरुले भनेको जति भाडा दिन आफूहरु बाध्य हुन परेको अधिकांश यात्रुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्