भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दिने



नयाँदिल्ली।

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उनले जानकारी दिए ।उनी अध्यक्षमा निर्वाचित भए भने भारतीय राष्ट्रिय काँग्रेसमा २५ वर्षपछि मात्रै गान्धि परिवारभन्दा वाहिरको व्यक्ति अध्यक्ष हुनेछ । यसअघि सन् १९९६ मा सिताराम केसरी गान्धी परिवारभन्दा वाहिरको नेता काँग्रेसको अध्यक्ष भएका थिए । उनले शरद पवार र राजेश पिलोटलाई पराजित गरेका थिए । त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गरेकी थिइन् ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसुदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिए । भारतीय राष्ट्रिय काँग्रेसलाई लामो समयदेखि अन्तरिम अध्यक्षले सञ्चालन गर्दै आएका छन् । गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिदैँ नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा लामो समयसम्म अस्विकृत गर्दै उनलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो । तर जति आग्रह गर्दा पनि उनले नमानेपछि उनकै आम तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ ।

अब हुने महाधिवेशनबाट पनि राहुला गान्धीलाई नै अध्यक्ष बनाउनु पर्ने पक्षमा उभिदै आएका नेताहरुको सङ्ख्या धेरै छ । तर उनको वारेमा स्पष्ट निर्णय भइनसकेको बेला थारुरले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद र अन्यौलताका बीच लामो समयपछि भारतीय काँग्रेसले नयाँ नेतृत्व पाउने भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्