कुशादेवीको लब्सेटारमा जिल्ला व्यापी भलिबल प्रतियोगिता



काभ्रे ।  

पनौती नगरपालिका वडा नम्बर २ कुशादेवीले आगामी कार्तिक २ देखि ५ गतेसम्म जिल्ला स्तरीय प्रथम काभ्रे जिल्ला व्यापी अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष समेत रहेका प्रतियोगिता मूल समारोह समितिका संयोजक पुरुषोत्तम अधिकारीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनु भयो ।

नगर प्रमुख रामशरण भण्डारीले पनौती नगरपालिकाले आफ्नो पहिचानलाई खेलकुदको माध्यमबाट पनि चिनाउने प्रयत्नमा वडा नम्बर २ ले आयोजना गरेको प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनु भयो ।

उपप्रमुख गीता बञ्जाराले युवाहरुलाई समेटेर आयोजना हुने यस्ता प्रतियोगिताले समुदायलाई समेत समेट्ने बताउनु भयो । युवाहरुको प्रतिभालाई प्रस्फुटन गर्न पाउने प्रतियोगिताको सफलताको कामना गर्दै उपप्रमुख बञ्जाराले युवाहरुलाई कुलतमा लाग्न समेत जोगाउने बताउनु भयो ।

वडा नम्बर २ मा प्याराग्लाइडिङ, साइक्लिङ, रकक्लाईमविङ जस्ता महत्त्वपूर्ण कार्य गरी अलग्गै पहिचान बनाएको छ । पनौती नगरपालिकासँग सहकार्य गरी सामाजिक क्रियाकलाप र अघिल्लो आर्थिक वर्षहरुमा कुशादेवी युवा क्लबले मेयर कप फुटबल प्रतियोगिता, अन्तर वडा भलिबल प्रतियोगिता आयोजना गरेको थियो । यो प्रतियोगितामा कुशादेवी युवा क्लवको प्रस्ताव अनुसार लब्सेटार युवा समूहले व्यवस्थापकीय भूमिका निभाउने छ । प्रतियोगिता सम्पन्न गर्न वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ ।

प्रतियोगितामा पनौती नगरपालिका वडा नम्बर १,२ र ३ को तर्फबाट एउटा टिम, नगर स्तरीय अर्को टिम सहभागी हुनेछन् । जिल्लाका १३ वटै पालिकाबाट प्रति पालिका दुई वटासम्म टिम सहभागी हुन पाउने गरी ३ हजार ५ सय शुल्क निर्धारण गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । उप विजेता टिमले ३० हजार प्राप्त गर्नेछ । सान्त्वना दुई टिमलाई नगद १०-१० हजार प्रदान गरिने छ ।

प्रतियोगितामा ३ लाख ४६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि पनौती उद्योग वाणिज्य संघका उपाध्यक्ष पुनम जंगमले दुई टिमका लागि निःशुल्क उपलब्ध गराउनु भएको जर्सी र भलिबल हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष जयबहादुर लामा, वडा नम्बर ३ का अध्यक्ष विष्णुप्रसाद सापकोटा, पूर्व अध्यक्ष किशोर थापा, जनप्रतिनिधिहरु, रेडक्रस, विद्यालय तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता वडा नम्बर २ को लब्सेटार धारा चौर खेल मैदानमा हुनेछ । नगरपालिकाको वडा नम्बर २ मा भलिबल मैदान तथा वडा नम्बर ३ मा फुटबल मैदान निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्