नेतासँग पपुलर हैन जनतासँग पपुलर भएकाले टिकट पाउनु पर्दछ : राजीव विक्रम शाह

केन्द्रीय सदस्य,नेपाली कांग्रेस



नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह तीन पुस्तादेखि काठमाडौका स्थायी बासिन्दा हुनुहुन्छ । जाजरकोटे राजपरिवार भएपनि कान्छा सन्तानले राजाको भाग पाइँदैन भनेर सायद कामको खोजीमा शाहका जिजुबाजे काठमाडौं झरेका थिए । त्यसपछि काठमाडौंमै काम, घरजम गरेका शाह परिवारको तीनपुस्ता वित्दैगर्दा राजीवलाई आफ्नो पुरानो थातथलो जाजरकोटको याद आयो । जाजरकोटमा २०६६ सालमा झाडा पखालाले ठूलो महामारीको रुप लियो । हजारौं मान्छे झाडापखालाले सिकिस्त भए भने दुई सय भन्दा बढीको मृत्यु भयो । त्यसबेला शाहले सबैभन्दा ठूलो सेवा गरेर आफ्नो पहिचान बनाउनुभयो । नितान्त सामाजिक पृष्ठभूमीका शाह २०६३-०६४ देखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति सुरु गर्नुभयो । २०७० सालमा जाजरकोट क्षेत्र नम्बर २ बाट संविधानसभाको सदस्य निर्वाचित हुनुभयो । सङ्घीय संरचनापछि एउटै निर्वाचन क्षेत्र रहेको जाजरकोटमा २०७४ मा पनि कांग्रेसबाट टिकट पाउनु भएका शाह एमाले माओवादी गठवन्धनका उम्मेदवार शक्ति बस्नेसँग पराजित हुनुभयो । पार्टीको १४ औं महाधिवेशनमा कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य बन्नुभएका शाह आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका आकांक्षी हुनुहुन्छ । शाहसँग नेपाल समाचारपत्रका लागि जीवन शर्माले गरेको संवाद:

राजीव विक्रम शाह भनेपछि जाजरकोटी नागरिकले समाजसेवी भनेर चिन्दछन । तपाई तीन पुस्तादेखि काठमाडौंवासी हुनुहुन्छ जाजरकोट प्रतिको माया कसरी जाग्यो ?

हामी तीन पुस्ता बाचुन्जेलसम्म त्यही जाजरकोटले नै इज्जत दिएर काठमाडौंसम्म लिंक जोडिएको हो । मेरो फुपुको चन्द्र शमशेर राणासँग विवाह गर्नु अथवा मेरो बुवा–मुवाबीचको विवाह लगायतका कुराले जाजरकोटका राजपरिवार ठकुरीहरु भनेर हामीले इज्जत पायौंं । अहिले पनि हाम्रो तिरका मान्छेले अवसर नपाएर कि काला पहाडतिर जान्छन कि त तराइतिर काम खोज्न झर्छन । त्यस्तै मेरो जिजुबुवा पनि त्यो बेलाको जाजारकोटे राजा भएपनि कान्छो भाइ भएपछि भागमा केही पाइँदैन भनेर यता झर्नुभएको थियो होला । त्यो समय चन्द्रशमशेर राणाकालीन थियो । त्यस बेला जात विक्थ्यो । मेरो फुपु चन्द्र शमशेरको दोस्रो महारानी हुनुभयो ।

म जन्मी हुर्की पढाइ सकेपछि हाम्रो जाजरकोटे दाजुभाइ कहाँ छन् भनेर वरिपरि भन्दा कोही नदेखिने अवस्था थियो । त्यहाँका कोही पनि डाक्टर, इन्जिनियर, न्यायाधीश, आर्मीको अफिसर थिएनन् । जव दश वर्षे सशस्त्र संघर्ष पश्चात शान्ति प्रकृयामा आइसकेपछि म मेरो जाजरकोटको बारेमा बुझ्न जान्छु, त्यहा केही सामाजिक सेवा गर्छु भनेर जाजरकोट गएको हुँ । परिस्थितिबस म राजनीतिमा आएँ । म सांसद बन्छु, ठूलो मान्छे बन्छु भन्ने थिएन, खाली त्यहाँका जनताको सेवा गर्छु भन्ने नै थियो । विभिन्न समयमा विभिन्न प्रकोपहरु आए त्यसबेला मैले सेवा पुर्याउन पाएँ । २०६६ मा झाडापखालले आक्रान्त बनाएको जाजरकोटमा हेलिकोप्टर मार्फत औषधि, उपकरण र स्वास्थ्यकर्मी ठाउँ ठाउँ पु-याएर सेवा गरें । त्यसवेला सदरमुकाममा मात्रै सडक थियो ।

अन्य गाउँमा बाटो पुगेको थिएन् । केही घटना भयो भने त्यहाँ सेवा पु-याउन अत्यन्त चुनौति थियो । त्यस्तो अवस्थामा जनताको ज्यान बचाउन सबै औषधि, उपकरण र डाक्टरहरु ठाउँ ठाउँमा हेलिकोप्टर मार्फत पु-याएर उपचार सेवा प्रदान गरें । करिव १० हजार मान्छेलाई झाडापखालाले च्यापेको थियो । जुनवेला २ सय भन्दा बढी नागरिकको ज्यानै गयो, अल्का अस्पतालसँगको सहकार्यमा औषधि उपचार गरेर अरुलाई बचाउन सकियो । एक हप्तासम्म हेलिकोप्टर त्यही राखेर गाउँ गउँमा स्वास्थ्य सेवा दिएँ ।

समाजसेवासँगै राजनीतिमा जोडिनुभयो । राजनीति मार्फत सेवा गर्ने उदेश्यकासाथ मैदानमा हुनुहुन्छ अहिलेको जाजरकोटको मुख्य समस्या के हो ?

जाजरकोटमा मात्रै होइन देशमै मैले के समस्या देखिराखेको छु भने, कोही मान्छेले म केही गर्छु, आफ्नो मातृभूमि र त्यहाँका नागरिकको सेवा गर्छु भनेर उर्जाका साथ आयो भने सेवा गर्ने वातावरण नै छैन् । जुन काम गर्छु भनेर लाग्दै गर्दा वातावरण नै भएन भने परिणाम आउन गाह्रो हुन्छ । अहिले मेरो जिल्लामा मात्रै होइन देशमै यही भैरहेको छ । विभिन्न राजनीतिक दलले आफ्नो विचार लिएर देश बनाउँछु भनेर हिडिरहेका छन् । तर हाम्रो समाज यसरी विभाजन भएको छ कसैले एउटा राम्रो काम गर्न लाग्यो भने यसलाई रोक्ने र खराव वातावरण बनाएर काम हुनै नदिने परिस्थिति छ । त्यसलाई रोक्नका लागि सिस्टम वनाउनुपर्छ । धेरैजसो युवा वेरोजगार छन् । हामीले कसरी स्वरोजगार बनाउन सक्छौ भनेर सबैले सकारात्मक रुपमा काम गर्ने वातावरण वनाउनु प¥यो । तर हामीले ती युवालाई के सिकाएका छौं भने मेरो पार्टीले जित्यो भने पावरमा आएपछि सिस्टम मिचेर तँलाई रोजगारी दिउँला, विभिन्न अवसरहरु पाउँछस्, सिस्टर भन्दा बाहिर गएरै भएपनि पाउनु पर्छ,भनेर सिकाइएको छ । हामीले हिजो राजा हटायौं, फेरी हामी नै राजा बन्न खोजिरहेका छौं । कार्यकर्ता पनि पार्टीको झोले भएर सिस्टमको विकास गर्नतिर कोही नलागेको अवस्था छ । जसको पार्टीले जित्छ उसैका कार्यकर्तालाई व्यक्तिगत फाइदा हुनेगरी लाग्यौं । यो नै समस्या हो । ठेकेदारले लापरवाही गरेर छाडेपछि १२ वर्ष सम्म अलपत्र परेको जाजरकोट डोल्पाको लाइफ लाइनका रुपमा रहेको राकमको पुल म २०७० सालमा सांसद भएपछि ठेकेदारलाई बोलाएर त्यहा देखिएका समस्याका विषयमा समन्वय गरेर बनाउन लगाएँ । त्यस्तै सडक धेरै ठाउँमा बनेका छन् । अझै त्यहाको स्वास्थ्य, शिक्षा र रोजगारका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर म लागेको छु । नागरिकलाई रोजगारीसँग जोड्न पहिलो कुरा शिक्षा हो । त्यसैले सबै नागरिकको पहुँचमा शिक्षा पु¥याउन बढी जोड दिनुपर्ने आवश्यक देखेको छु ।

सिस्टमको विकास गर्न युवा पुस्ताका नेताहरु नयाँ एजेण्डा सहित उर्जाका साथ दलहरुको नृतृत्व तहमा प्रवेश भएका छन्, के उनीहरुबाट जनअपेक्षा अनुसारको परिवर्तन सम्भव होला ?

अहिले व्यक्तिगत रुपमा केही युवाले जितिरहेका छन् । स्वतन्त्र उम्मेदवार पनि आइरहेका छन् । यसको मुख्य कुरा पार्टीमा सिस्टमको विकास नभएरै हो । पार्टीमा व्यक्ति हावी भएको र हामी व्यक्तिकै पछि कुद्ने अवस्था छ । यो परिवेशमा पार्टीभित्र दुःख गरेका युवाले बराबर अवसर पाउन नसकेको प्रतिकृया स्वरुप स्वतन्त्र उम्मेदवार देखिएका हुन् । तर ती स्वतन्त्र उम्मेदवाबाट पनि पार त लाग्दैन् । विकासको वातावरण नै नभएपछि भाषणमा मात्रै विकास गर्छु भन्ने तर विकास गर्नका लागि वातावरण नै बन्न सकेन भने त्यसको कुनै अर्थ छैन् । कामको जिम्मा लिएका व्यक्तिलाई कसैले पेलेर लगाउने अनि कसैले चै खुल्ला छाडीदिने भयो भने कसरी हुन्छ विकास । हामीले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री कै पालादेखि मेलम्चीको पानी २ वर्षमा काठमाडौ बासीलाई खुवाउँछौ भनेका थियौं । तर २८ वर्ष भैसक्यो खानेपानी आउँछ भन्दा भन्दै अहिलेसम्म आएको छैन् । अहिले देशका जुनसुकै राष्ट्रिय गौरवका योजना सम्पन्न हुन अनिवार्य मूल्यबृद्धि गराएकै छन् । दशौं वर्षसम्म अड्किएका योजनाहरु अलपत्र परेको अवस्था छ । नेपालमा पार्टीभित्र गुट उपगुटको चरम सीमा नाघेको अवस्था छ । हामी लोकतन्त्रको कुरा गछौं, तर व्यक्तिलाई प्राथमिकता दिदै आयौं । अनि सिस्टमको विकास गर्न तिर लागेनौं । यसले गर्दा जनताको नजरमा पार्टीहरु असफल हुन थालेका छन् । त्यसैको फलस्वरुप नयाँ विकल्पको अभ्यासका रुपमा स्वतन्त्र व्यक्तिहरु पनि आउन थालेका छन् । तर स्वतन्त्ररुपमा आएकालाई पनि जवसम्म सिस्टमको विकास हुदैँन तव उनीहरुले पनि केही गर्न सक्दैनन् । त्यस कारणले दलमा आएका युवा नेताले पार्टीलाई सिस्टममा चलाउने पद्धतिको विकास गर्न लाग्नुपर्दछ । अहिले नेपाली कांग्रेसमा केही सुधारको अपेक्षा गर्न सकिन्छ तर कांग्रेस कम्युनिष्ट सबै पार्टीको नेतृत्व तहमा आएका युवा पनि व्यक्ति पुजारी र चाकडीमै लागे भने पार्टीले जनताको भावना अनुसार काम गर्न सक्दैनन । दलको आन्तरिक जीवन र देशमा कुनै परिवर्तन हुँदैन । कार्यकर्ता झोले हुनुहुदैन, लोकतन्त्रमा व्यक्ति होइन संस्था बलियो हुनु पर्छ । सिस्टमबाट चल्नुपर्छ । आवश्यकता अनुसार समान अवसर पाउनुपर्छ, त्यसका लागि युवाहरुले हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपर्छ । हामी विकास भनेको भौतिक विकासलाई मात्रै मान्छौ, तर त्यो होइन । मानव श्रोत, चेतना र सबै क्षेत्रको विकास तिर लाग्नुपर्छ । मानव जीवन खुसी, सुखी भएर बाँच्न सक्नु पनि विकास हो । त्यस तर्फ सबैले ध्यान जानुपर्छ ।

कांग्रेसभित्र जिम्मेवारी हस्तान्तरण र नेता व्यवस्थापनमा अझै समस्या हो ?

म सबैलाई सम्मान गर्छु,र नेपाली कांग्रेसभित्र लोकतन्त्र ल्याउनकालागि आफ्नो जीवनभर संघर्ष गरेका नेताहरु हुनुहुन्छ । उहाँहरुको व्यवस्थापन हुनुपर्छ तर अव उहाँहरु अभिभावकत्वको भूमिकामा रहनु उचित हुन्छ । एउटै नेता कतिपटक त्यही जिम्मेवारीमा बस्ने ? उहाँहरुले के बुझ्नुप¥यो भने उमेरमा र त्यो जमानामा मेरो माग थियो । अव नयाँ पुस्ताका साथीहरुलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । नेताहरुको पनि पपुलर हुने समय एकपटक आउँछ त्यसै वेला जिम्मेवारी पाउनुपर्छ र जिम्मेवारी पाएको बेला केही परिवर्तनको आभास जनतालाई गराउनुपर्दछ । एउटै मान्छे सधैं लामो समय लोकप्रिय बन्दैन् । उसको पनि समय सकिन्छ । अव संधै राजनीतिक परिवर्तन भनेर लाग्ने अवस्था छैन । देशलाई व्यवस्थित गर्ने विकास र समृद्धिकालागि लाग्ने बेला भएकाले नेताहरुले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्छ भन्ने मेरो धारणा हो । सबै दलले मिलेर बनाएको संविधानलाई स्थायित्व दिने र कार्यान्वयन गराउनु पर्ने नेताहरुको अवको दायित्व हो । देशमा सिस्टमको विकास नहुँदा राजनीतिदेखि जागिर सम्म पहुँचका आधारमा माथि जाने प्रचलन कायमै छ । सक्षम व्यक्तिहरु पछि पर्ने अवस्था छ । अहिले कुनै पार्टीका नेताहरुसँग जनता खुसी छैनन् । यसको समीक्षा गर्ने बेला आएको छ । नेताहरु कृष्णप्रसाद भट्टराई,विपी कोइराला जस्तै सबैले मान्ने अभिभावक बन्नु प¥यो । पावर र पदको लागि मात्रै मान्ने हैन आम जनताले भित्री आत्मादेखि नै यो चै मेरो नेता हो भनेर मान्ने खालको भिजन, त्याग तपस्या उसको समाज र पार्टी सिस्टम केन्द्रीत, देश र जनता केन्द्रीत राजनीति हेरेर मान्ने हो । त्यो हाम्रा नेताहरुले देखाउन सक्नुभएको छ कि छैन् ? त्यो चै आत्मसमीक्षा गर्ने बेला भएको छ । युवा नेताले पनि यसको समीक्षा सहित चिरफार गरेर देशलाई सिस्टमको विकासतिर लानुपर्ने अहिलेको आवश्यकता हो ।

जाजरकोटबाट प्रतिनिधिसभाको आकांक्षी हुनुहुन्छ, त्यहाँका समस्या र सम्भावना के छन् ? पार्टीले टिकट पत्यायो भने टिकटसँगै के एजेण्डा लिएर जानुहुन्छ ?

समय नै बलवान रहे छ । विकास गर्छु भनेर मात्रै हुदैन, विकास गर्न वातावरण पनि मिल्नु पर्ने रहेछ । र त्यो तुरुन्तै हुने कुरा पनि होइन । तीन पुस्तादेखि काठमाडांै बसेर काठमाडौंमै जन्मीएर म जाजारकोटको सेवा गर्छु भनेर गएको पनि १९ वर्ष भैसक्यो । राजनीतिक रुपमा चिनिनलाई पनि समय लाग्ने रहेछ । २०७० मा चुनाव जिते, २०७४ मा पनि सबै पार्टीहरु एक्ला एक्लै लडेका भए म जित्थे । एमाले–माओवादी गठबन्धन भएपनि मैले थोरै मतले हारे । अवको आवश्यकता भनेको देश विकास र युवा बेरोजगार समस्याको समाधान हो । बेरोजगार हल गर्नकालागि शिक्षालाई प्राथमिकता दिनु पर्छ । विद्यालय सुधारका कार्यक्रमहरु लौजानु पर्छ । पहिलो पटक म सांसद हुँदा विद्यालयको भौतिक अवस्था सुधारमा लागे, गाउँ गाउँमा सडक पु¥याउन लागे तीनै विकासका पूर्वाधारलाई व्यवस्थित र सहज बनाउनेतिर मेरो ध्यान हुने छ । युवाहरुको क्षमता विकास, नागरिकलाई सहज र सरल स्वास्थ्य सेवा उपलब्ध गराने र गाउँघर विकास गर्ने कुरामा मेरो लगानी हुन्छ । विशेषगरी गाउँको भौतिक संरचना कसरी विकास गर्ने मानविय श्रोत कसरी उत्पादन र परिचालन गर्ने भन्ने योजना बनाएर चुनावमा जाने तयारीमा लाग्नु पर्छ भनेर सोचेको छु ।

यस पटक कांग्रेसले राजीव विक्रम शाहलाई पत्याउछ कि पत्याउँदैन होला ?

अहिलेसम्म मलाई पार्टीले पत्याएरै जिल्लाबाट पनि एकल सिफरिस भएर आएको छ । प्रदेशबाट पनि त्यही आएको छ । तर गठबन्धनले पत्याउने कि नपत्याउने भन्ने कुरा हो । गठबनधनले नै चुनाव जित्नुपर्छ भन्ने छ । त्यसका लागि सहज जित्न सक्ने उम्मेदवारले टिकट पाउनुपर्छ । भोट भनेको पार्टी कार्यकर्ताले मात्रै दिने होइन जनताले दिने हो । जनतामाझ को पपुलर छ, त्यसैले टिकट पाउनुपर्छ । संविधानको रक्षा, स्थायित्वका लागि गठबन्धन बनेको हुँदा गठबन्धनले नै जित्नु पर्छ भन्ने हो । गठवन्धनले पार्टीको माथिल्लो तहको नेता भन्दैमा फिल्डमा पपुलर नदेखिएका नेतालाई टिकट दिँदा समस्या आउँछ । त्यसका लागि नेतासँग पपुलर हैन जनतासँग पपुलर भएका, जनताको माग अनुसारको नेतालाई टिकट दिनुपर्छ । यी सबैकुरामा जाजरकोटका जनताले अहिले मेरो माग गरेका छन् । तर गठबन्धनले गरेको निर्णय त मैले स्वीकानै पर्छ । र कुनै न कुनै ठाउँ चाही मैले पाउनुपर्छ ।

यदी टिकट पाउनुभयो भने जित्ने आधार के ? जनताले तपाँइलाई नै किन भोट हाल्ने ?

जनताको माग मेरो पक्षमा छ । मैले हारेको बेला पनि निरन्तर सेवा गरिरहेको छु । मैले जनताको प्रत्येक घरमा चुल्हो बाल्न त सकेको छैन्, तर परेको बेला सामुहिक रुपमा कुनै बेला पनि मदत गर्न पछि हटेको छैन् । १९ वर्षदेखि आवश्यक परेकोबेला मैले जिल्लावासी आम नागरिकलाई यो त्यो नभनी सहयोग गरेको छु । जिल्लाको भौतिक र मानवीय विकासका लागि काम गरेको छु । स्वास्थ्य शिक्षा र रोजगारीका सन्दर्भमा के कसरी काम गर्न सकिन्छ भनेर योजनाका साथ लागेको छु । अस्पतालको पूर्वाधार बनाइसकिएको छ । त्यसलाई आवश्यक जनशक्ति व्यवस्थापन गरेर सर्वसुलभ रुपमा जनतालाई स्वाथ्यसेवा दिने भनेर लागेको छु । हामी राजनीति गर्ने मान्छेहरुले देश र जनतालाई केन्द्रमा राखेर सोच्नु पर्छ । चुनाव जित हार मात्रै राजनीति वा जनसेवा हैन् । जनताको सेवामा निरन्तर लागेका मान्छेलाई स्वस्फूर्त रुपमा जनताले सहयोग गर्छन । पार्टीले पत्यायो भने मलाई जनताले पत्याउँछन । चुनाव जित्छु भन्ने मलाइ ढुक्क छ ।

प्रतिक्रिया दिनुहोस्