पोर्चुगलको सहज जित



लन्डन, (एजेन्सी) ।

यूईएफए नेसन्स लिगमा सहज जित निकाल्दै पोर्चुगल शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलले घरेलु टोली चेक रिपब्लिकलाई ४–० गोलअन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । अर्काे खेलमा स्पेनले स्विट्जरल्यान्डसँग हार बेहोरेपछि पोर्चुगललाई शीर्षस्थानमा पुग्न सहज बन्यो ।

पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक गोल गरे । सिम्वो रंगाशाला प्राहामा शनिबार राति भएको खेलको ३३औं मिनेटमा डिएगो डालोटको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले राफायल लियोको पासमा गोल गर्न सफल भए ।

पहिलो हाफको थप गरिएको इन्ज्युरी समयको दोस्रो मिनेटमा ब्रुनो फनाएन्डेसले मारियो रुइको पासमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएपनि प्याट्रिक सिक चुक्दा अन्तर कम गर्नबाट चुक्यो । खेलको ५२औं मिनेटमा डिएगो डालोटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पोर्चुगल सहज जिततर्फ अग्रसर बन्यो ।

उनले ब्रुनोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि परिवर्तित खेलाडी डिएगो जोटाले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए ।यस जितसँगै पोर्चुगल लिग ‘ए’ ग्रुप दुई बाट पाँच खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित चेक चार अंक जोडेर पुछारमा रहेको छ । स्पेनको आठ तथा स्विट्जरल्यान्डको ६ अंक छ ।

यसै समूहको अर्को खेलमा स्विट्जरल्यान्डले स्पेनलाई उसकै मैदानमा पराजित ग¥यो । स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको हो । स्विट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल फर्काए । जारागोजामा शनिबार राति भएको खेलको २१औं मिनेटमा एकान्जीको गोलबाट स्विट्जरल्यान्डले सुरुवाती अग्रता लिन सफल भयो । उनले रुवेन भर्गासको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ५५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए । स्पेनको बराबरी गोल तीन मिनेट पनि टिकेन ।खेलको ५८औं मिनेटमा एकान्जीको पासमा ब्रिल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा स्विट्जरल्यान्ड विजयी हुन सफल भयो । स्पेनले ७५ प्रतिशत बल पोसेसन राखेपनि जित निकाल्न सकेन । यस जितसँगै स्विट्जरल्यान्ड लिग ए ग्रुप दुई बाट ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पराजित स्पेन आठ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा रहँदा चेक रिपब्लिक चार अंक जोडेर पुछारमा रहेको छ ।त्यस्तै लिग ‘बी’ ग्रु ४ को खेलमा एर्लिङ ब्राउट हालान्ड सम्मिलित नर्वे पराजित भएको छ । गोलमेसिन हालान्डको गोलको बाबजुद नर्वेले युइएफए नेसन्स लिगमा स्लोभेनियासँग हार बेहोरेको हो । नर्वेले सुरुवाती अग्रता लिएपनि घरेलु टोली स्लोभेनियासँग २–१ गोलअन्तरले पराजित भएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिंदा दोस्रो हाफमा तीन गोल भएको थियो । ४७औं मिनेटमा हालान्डले गोल गर्दे नर्वेलाई सुरुवाती अग्रता दिलाए । उनले मोहम्मेद इलयोउनोउसीको पासमा गोल गर्न सफल भएका थिए । खेलको ६९औं मिनेटमा एन्डराज स्पोररले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले बेन्जामिन सेस्कोको पासमा गोल गर्न सफल भएका थिए । अघिल्लो गोलमा असिस्ट दिएका सेस्कोले ८१औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–१ को पुनरागमन जित दिलाए ।

त्यसैगरी एलेक्सान्डर मित्रोभिकको ह्याट्रिक मद्दतमा सर्वियाले यूईएफए नेसन्स लिगमा स्विडेनमाथि सानदार पुनरागमन जित निकालेको हो । सर्वियाले स्वीडेनमाथि ४–१ को पुनरागमन जित निकालेको हो । बियोग्राडमा शनिबार राति भएको खेलको १५औं मिनेटमा भिक्टोर क्लाइसनको गोलबाट स्विडेनले अग्रता लिएको थियो । तर, स्विडेनले त्यो अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

खेलको १८औं मिनेटमा एलेक्सान्डर मित्रोभिकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एन्ड्रिजा जिभकोभिकको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एलेक्सान्डर मित्रोभिकले डुसान टाडिकको पासमा अर्काे गोल गर्दै सर्वियालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । खेलको ४८औं मिनेटमा एलेक्सान्डर मित्रोभिकले ह्याट्रिक पूरा गरेपछि सर्विया खेलमा ३–१ ले अघि बढ्यो ।

यसपटक उनले डुसान भ्लाहोभिचको पासमा गोल गर्न सफल भएका थिए । खेलको ७०औं मिनेटमा सासा लुकिकले गोल गर्दै सर्वियालाई सानदार पुनरागमन जित दिलाए । उनले डार्काे लाजोभिकको पासमा गोल गर्न सफल भएका थिए । यस जितसँगै सर्विया लिग ‘बी’ ग्रुप चार मा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १० अंक रहेपनि नर्वे शीर्षस्थानमा छ । पराजित स्वीडेन ३ अंक जोडेर पुछारमा रहँदा स्लोभेनियाको ५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्