ओखलढुंगाको इतिहास अब पुस्तकमा 



ओखलढुङ्गा ।

पत्रकार कुम्भ राज राईद्वारा लिपिबद्ध ओखलढुङ्गा तथ्य र इतिहास नामक पुस्तक हालसालै प्रकाशन गरी बजारमा ल्याइएको छ । लेखकले पुस्तकलाई राजनीति, ऐतिहासिक स्थल, दस्ताबेज र ब्यतिm तथा अन्तरवार्ता गरी चार खण्डमा विभाजन गरी लिपिबद्ध गरेका छन् ।

लेखक राईले ओखलढुङ्गा तथ्य र इतिहासको सुरुवात काजी भीम मल्ल ओखलढुङ्गा कहिले र किन प्रवेश गरेका थिए भन्ने लोकउक्तिबाटा शुरु गरेका छन् । पुस्तकको राजनीतिक खण्डमै २००७ सालको ओखलढुङ्गा क्रान्तिमा खोटाङका प्रजातान्त्रिक योद्धा मुगाधन राईको योगदानको रोचक ढंगले चर्चा गरेका छन् ।  २०३१ सालको प्रजातान्त्रिक आन्दोलनको चर्चित घटना टिम्बुरबोटे काण्ड र सो काण्डमा क्याप्टेन यज्ञबहादुर थापाको भूमिका र एल.बी.गुरुङको टिम्बुरबोटे बयानलाई पुस्तकमा समेटेर लेखकले इतिहासलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

पुस्तकको दोस्रो खण्डमा ओखलढुङ्गाका विभिन्न ऐतिहासिक स्थलको बारेमा चर्चा गरिएको छ । पुस्तकको यो खण्डमा तलुवागढी, चिशंखुगढी, भोल्टेगढी र बुङनामगढीको इतिहास तथ्य सहित लिपिबद्ध गर्ने प्रयास गरिएको छ ।विभिन्न काल खण्डमा तत्कालीन राजा राणाहरूले जिल्लाका बडाहाकिम नेताहरूलाई लेखेको पत्र सहित समावेश गरेर वर्णन सहित पुस्तकको अको खण्ड दस्ताबेजमा उल्लेख गरिएको छ । यो खण्डमा धेरै इतिहासको तथ्य देख्न र पढ्न पाइन्छ ।

पुस्तकको अन्तिम खण्डमा ओखलढुङ्गाका विभिन्न ऐतिहासिक ब्यक्तिहरुको जीवनी र अन्तर्वार्ता समावेश गरिएको छ ।  बाइलाइन मिडिया प्रा.लिको प्रकाशनमा बजारमा आएको ओखलढुङ्गा तथ्य र इतिहासको  ९२ वर्षीय भैरव बहादुर श्रेष्ठको बाहुलिमा यही आश्विन ९ गते लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्