सर्वनामले देखायो दुई युगको संवाद



मानिस प्रायः विगत र भविष्यको चिन्ता गर्छ, तर वर्तमानमा बाँच्न बिर्सन्छ। यस्तै प्रश्न र उत्तरको खोजी गर्दैै काठमाडौंको कालिकास्थानमा अवस्थित सर्वनाम थिएटरमा नाटक समय: दुई युगको संवाद मञ्चन भएको छ। सर्वनामकै १८औँ ब्याचका प्रशिक्षार्थी समूहको प्रस्तुति र निर्देशनमा तयार पारिएको नाटक सोही ब्याचकी प्रशिक्षार्थी सुजता पन्तले लेखेकी हुन्।

नाटकमा पुरानो र नयाँ युगबिचको संवाद देखाइएको छ। नाटकको सुरुआतमा घडीको सुइँको छकछक छकछक आवाज बजिरहन्छ र पृष्ठभूमीमा महिलाको आवाज आउँछ  म समय हुँ, म तिम्रो भूत हुँ। म तिम्रो वर्तमान पनि हुँ र तिम्रो भविष्य पनि हुँ। लामो हासोपश्चात विश्वभर फैलिएको कोरोना महामारीको समयलाई प्रतिकात्मक रूपमा देखाउन खोजिएको छ।

सन् २०२० र १९४० बीचको संवाद देखाउन खोजिएको नाटकको यो संवादमा गान्धी, हिटलर, चार्ली र आइन्स्टाइन उपस्थित हुन्छन् र आ-आप्mनो तर्क प्रस्तुत गर्छन्। नयाँ युगमा भने एक टेलिभिजन कार्यक्रममा वैज्ञानिक, नेता, साधु र ज्योतिषका बिचमा बहस चलिरहन्छ। यो युगको सबैभन्दा बलवान् समय हो। इतिहासका महान् पात्र र तिनले गरेका कामबाट वर्तमानलाई चिहाउने प्रयत्न यो नाटकले गरेको छ।

सर्वनामले रंगमञ्च र यसप्रति रुचि भएकालाई प्रशिक्षण दिँदै आएको छ। सर्वनामका संस्थापक तथा निर्देशक अशेष मल्लले नेपाली रंगमञ्चमा कुनै पनि रंगकर्मी बन्न चाहेकालाई मञ्च अभावकै कारण त्यसबाट वन्चित हुन नपरोस् भन्ने हेतुले यो प्रशिक्षण निरन्तर चलाएको बताए। उनले नेपाली रंगमञ्चमा मौलिक कथा, लेखक र निर्देशक पनि जन्मिउन् भन्ने आफ्नो चाहना रहेको र यो नाटकमार्फत नेपाली रंगमञ्चमा एक इँटा थपिएको बताए।

सर्वनामको तीन महिने बन्द प्रशिक्षण र करिब दुई महिनाको तयारीपश्चात् निर्माण गरिएको नाटकमा अमन श्रेष्ठ, अञ्जना गर्तौला, उत्सव पौडेल, गौरव केसी, तिलक भण्डारी, वसन्तबहादुर खड्का, भुवन सापकोटा, मिलन शाक्य, युवराज थापा मगर, राम दाहाल, सञ्जु तामाध्र, सुजता पन्त र सुवास वस्यालले अभिनय गरिरहेका छन्। पाश्लाक्पाको प्रकाश परिकल्पना रहेको नाटकमा प्रकाश परिचालन निरज पन्थीले गरेका छन् भने संगीत परिचालन मनोज महर्जन, संगीत संयोजन कृपेश घिमिरे र मोहन अभिलाषीले गरेका छन्। नाटक शनिबारसम्म चलेको थियो।

प्रतिक्रिया दिनुहोस्