‘दिवा खाजामा खानाको गुणस्तर बढाउँदै लैजानुपर्छ’



काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र शिक्षा सल्लाहकार रेशु अर्यालले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमको निरीक्षण गर्नुभएको छ । शुक्रबार विद्यार्थीहरूले खाजा खाने समय मध्यान्नमा क्षेत्रपाटीस्थित कन्या मन्दिर विद्यालय पुगेर उहाँहरूले करिब १ घण्टा समय विताउनुभएको थियो ।

त्यस क्रममा उहाँहरूले दिवा खाजा पकाउने र खाने ठाउँका बारेमा जानकारी लिनुका साथै विद्यार्थीहरूसँगै बसेर खाजा खानुभएको थियो । यसपछि कक्षा कोठाहरू, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, स्मार्ट सिकाइ प्रविधि, पुस्तकालय, स्यानिटरी प्याड भेन्डिङ् मेसिनको प्रयोगको अवलोकन गर्नुभएको थियो ।

‘दिवा खाजा तयार गर्ने जिम्मा अभिभावकलाई दिनु कन्या मन्दिरको राम्रो पक्ष लाग्यो, अब खानाको गुणस्तर बढाउँदै लैजानुपर्छ’– अवलोकनपछि उपप्रमुख डंगोलले भन्नुभयो– ‘काठमाडौंका स्कुलहरूलाई नमुना बनाउने क्रममा विद्यालयको विशेषताअनुसार फरक फरक प्रकृतिको बनाउनुपर्छ । दरबार हाइस्कुलको विशेषता कन्या मन्दिरसँग नमिल्न सक्छ । कन्या मन्दिर वातावरण सम्पदा नमुना विद्यालय हुनसक्छ । किनभने यो ऐतिहासिक इखा पुखुसँग जोडिएको छ । पुननिर्माणपछिको सम्पदामैत्री संरचना भएको छ ।’

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम धेरै प्रभावकारी कार्यक्रम भएको जिकिर गर्दै शिक्षा सल्लाहकार अर्यालले भन्नुभयो, ‘सामुदायिक विद्यालयमा सहरका विपन्न परिवारबाट नानीबाबु अध्ययनका लागि आउँछन् । खाजाले एकातिर उनीहरूको शारीरिक विकासमा सहयोग पुगेको छ भने अर्कोतिर विद्यालय आउने वातावरण बनेको छ । यो धेरै राम्रो कार्यक्रम हो ।’

घरमा पर्याप्त खानेकुरा नभएका अभिभावकका लागि यो कार्यक्रमले ठूलो राहत दिएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक घनश्याम न्यौपानेले भन्नुभयो, ‘हाम्रो विद्यालयमा आउने कतिपय विद्यार्थीहरू भोकै आउने पनि छन् ।’
काठमाडौं महानगरपालिकाभित्रका ८९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन छ । यी विद्यालयमा अध्ययनरत् करिब ३२ हजार विद्यार्थीले दैनिक खाना खाने गरेका छन् ।

शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी भन्नुहुन्छ, ‘सरकारले शिशुदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दैनिक १५ रुपियाँ दिने गरेको छ । काठमाडौं महानगरपालिकाले त्यसमा १० रुपियाँ थपेर २५ रुपियाँ बराबरको खाजा खुवाउने व्यवस्था गरेको छ । कक्षा ७ र ८ का लागि महानगरले प्रतिव्यक्ति २५ रुपियाँ दिने गरेको छ ।’

कति विद्यार्थीले खाजा खाए भन्ने जानकारी कसरी लिनुहुन्छ भन्ने जिज्ञासामा शिक्षा अधिकारी सुवेदीले भन्नुभयो – ‘विद्यार्थीको हाजिरी सञ्चालक समितिको अध्यक्ष र प्रधानाध्यापकले प्रमाणित गरेर पठाएपछि त्यसैका आधारमा भुक्तानी हुन्छ ।’. कन्या स्कुलले आइतबारदेखि शुक्रबारसम्म भिन्दाभन्दै खाजाको तालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्