कांग्रेस नेता शेखर पक्षको बैठक शनिबार बस्दै



काठमाडौं । नेपाली कांग्रेसभित्र न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै भोलि आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला आयोजना गर्ने भएको छ । समान न्याय र समानताका लागि खबरदारी भेलाका नाममा देशभरका आफू पक्षीय कार्यकर्ताको भेला आयोजना गर्ने भएको हो ।

आज बिहान स्वयम्भूमा बसेको शेखर पक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितको भेलाले भोलि देशभरका नेता कार्यकर्ता सम्मिलित भेला गर्ने निर्णय गरेको छ । शेखर पक्षले शनिबार बानेश्वर ब्यान्केटमा दिउसो १ बजे खबरदारी भेला बोलाएका छन् ।

अहिले पार्टीभित्र टिकट बाँडफाँटको छलफल चलिरहेका बेला आफू पक्षीय नेताहरूलाई टिकट दिलाउन शेखर पक्षले निरन्तर दबाब दिइरहेको छ । यो भेलालाई पनि सोही नजरबाट हेरिएको छ ।

शेखर पक्षले महाधिवेशनमा ४० प्रतिशत भन्दा बढी मत पाएको भन्दै पार्टीमा ४० प्रतिशत भागबण्डा आफ्नो पक्षले पाउनुपर्ने भन्दै मागदाबी गर्दै आएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन पक्ष शेखर पक्षको मागको सुनुवाइ गर्ने देखिदैन् ।

यतिबेला टिकट माग्दै देशभरका नेता कार्यकर्ता काठमाडौं केन्द्रित भएका बेला यस्तो भेला गर्दा उल्लेख्य सहभागिता जुटाउन सकिने र त्यसले संस्थापन पक्षलाई चर्को दबाब सिर्जना गर्न सकिने रणनीतिमा शेखर समूह देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्