मोहन वैद्य नेतृत्वको पार्टीका कार्यकर्ताले गाडी नियन्त्रणमा लिएपछि विवाद उत्पन्न



भद्रपुर । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीका केही कार्यकर्ताले कपडा बोकेको पिकअप गाडीलाई नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको छ । भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको आशङ्कामा नेकपा (क्रान्तिकारी माओवादी)निकट युवा सङ्गठनका कार्यकर्ताहरूले सडकमै पिकअप रोकपछि विवाद उत्पन्न भएकोे हो ।

घटना अनुसार झापाको चारआली–केचना सडक खण्डअन्तर्गत भद्रपुर–२ स्थित देउनियाँ पुल नजिकै बिहीबार लत्ताकपडा लोड गरिएको प्रदेश १–०१–००१ च ७७९५ नम्बरको पिकअप युवा लिग नेपालका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष रविन लिम्बूको नेतृत्वको कार्यकर्ताहरूले रोकेपछि विवाद भएको छ ।

विवाद पश्चात् सङ्गठनका कार्यकर्ताहरूले सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भद्रपुरलाई जिम्मा लगाएपछि सशस्त्र प्रहरीले पिकअपसहित भद्रपुर भन्सार कार्यालय लिएर गएको थियो ।

मूल्य अभिवृद्धि कर (बिल) नभएको भन्दै सङ्गठनका कार्यकर्ताहरूले लत्ताकपडासहितको पिकअप राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउनुपर्ने माग राखेपछि नियन्त्रणमा लिएको लत्ताकपडासहित पिकअप भन्सारले बुझ्न नमानेपछि सशस्त्र र नेपाल प्रहरीले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विवादका क्रममा दुवै पक्षबीच सामान्य झडप हुँदा सङ्गठनका राजेन्द्र राई घाइते भएको अध्यक्ष लिम्बुले बताए । झडप भएसँगै सशस्त्र र नेपाल प्रहरीले घटनालाई साम्य बनाउँदै सङ्गठनका कार्यकर्ताहरूलाई सुरक्षा दिएर भन्सारभित्रै राखेका थिए भने घाइतेलाई उपचारका लागि अस्पताल पठाएका थिए ।

यता सामान धनी अरुण साहका अनुसार भद्रपुरको अनुज इन्टरप्राइजेजबाट ज्योती कपडा पसल र जय माता वस्त्रालय बनियाँनीको नाममा भ्याट बिल जारी गरी सामान खरिद गरी पिकअपमा हालेर लगिरहेको अवस्थामा गुण्डागर्दी शैलीमा कार्यकर्ताहरूले चालकलाई खुकुरी देखाएर सामान नियन्त्रणमा लिएको आरोप लगाउँनुभयो ।

मोटरसाइकलमा आएका क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले सडकमा पिकअप रोकेर रकम बार्गेनिङ गरेको उहाँको आरोप छ । लामो समय बार्गेनिङमा कुरा नमिलेपछि उनीहरूले उल्टै सशस्त्रलाई बोलाएर पिकअप जिम्मा लगाएको शाहको आरोप छ । उनीहरुविरुद्ध वडा प्रहरी कार्यालय भद्रपुरमा जाहेरी दिएको व्यवसायी तुलाराम हलुवाइले बताउनुभयो ।

त्यस्तै युवा लिग नेपालका केन्द्रीय सदस्य लिम्बूले राजश्व छलेर सरसामान तस्करी भइरहेको सूचनाका आधारमा पार्टीका कार्यकर्ताले सामानसहितको पिकअप नियन्त्रणमा लिएको बताउनुभयो । पार्टीको निर्देशनअनुसार काम गरेको उहाँले बताउँनुभयो । तत्काल गाडीमा बिल विजक नभएको र पछि बिल ल्याएको उहाँको भनाइ छ ।

स्थानीय प्रहरीदेखि माथिल्लो निकायसम्म लाइन दिएर राजश्व छलिगरिरहेको पाइएकोले थप अनुसन्धान गरेर लाइन दिएर तस्करी गराउनेको नामावली सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । कार्यकर्ता घाइते भएकोले आक्रमणकारीविरुद्ध सम्बन्धीत निकायमा उजुरी दिने उहाँले जनाउकनुभयो ।

प्रतिक्रिया दिनुहोस्