सुरक्षा निकायका प्रमुखहरुबीच भेटवार्ता



काठमाडौं । सुरक्षा निकायका प्रमुखहरुबीच भेटवार्ता भएको छ । आज (बिहीबार) जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच भेटवार्ता भएको हो ।

नेपाली सेनाका उच्च तहका अधिकृतहरुको समेत सहभागीता रहेको उक्त वार्तामा समग्र सुरक्षा अवस्थाको समीक्षा गरेको जनाइएको छ । विशेष गरी आसन्न निर्वाचन शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको थियो ।

साथै, उक्त छलफल कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्