चुनौती बन्दै सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी



Money laundering and fraud infographics with criminal washing money, bribery and corruption concept, offshore account, crime, jail, bank, coin, banknote icon, isometric vector illustration
दीपक रिजाल

गैरकानुनी कार्य गरी आर्जन गरेको सम्पत्ती लाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्ती को वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्य सम्पत्ती शुद्धीकरण हो ।

अर्को शब्दमा गैरकानुनीरूपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ती शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो । जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्ती मा बदलेर विभिन्न ढंगले कानुनी स्वरुप दिने प्रयास गरिन्छ । अवैध वा कसूर गरी कमाएको सम्पत्ती को वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोबारको माध्यमबाट नयाँ कानुनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तीलाई शुद्ध बनाउने प्रयत्न भएको हुन्छ । सम्पत्ती शुद्धिकरणको अपराध आफैँमा अपराध सम्बद्ध कसुर नभएर, मूल कसुरको सहउत्पादन हो ।

सम्पत्ती शुद्धीकरणसम्बन्धी अन्तराष्ट्रिय संस्था वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स, एफटीएफ) ले सम्पत्ती शुद्धीकरणलाई अपराधजस्तो नराम्रो स्रोतबाट प्राप्त आमदानीलाई छिपाउन गरिने प्रक्रिय भनी परिभाषित गरेको छ । त्यस्तै, सम्पत्ती शुद्धीकरणलाई वित्तीय कारोबारलाई गैरकानुनी आर्जनको परिचय, स्रोत वा गन्तव्यलाई छिपाउने व्यवहार भनी व्याख्या गरेको छ ।

गैरकानुनी वा आपराधिक धन्दाबाट प्राप्त आयलाई कानुनसम्मत सम्पत्ती मा रुपान्तरण गरी बैधानिक गर्ने क्रियाकलाप नै सम्पत्ती शुद्धीकरण हो । सम्पत्ती शुद्धीकरणमा त्यस्तो आयको उत्पत्ति, वास्तविक स्रोत र प्राप्तिको स्थान लुकाइएको एवं छिपाएको र कृत्रिम तर कानुनी स्रोत सिर्जना गरिएको अवस्था रहन्छ ।

कुनै पनि व्यक्तिले गैरकानुनी आयलाई सम्पत्ती मा रुपान्तरण गरी सम्भाव्य कारबाहीबाट बच्न र त्यस्तो सम्पत्ती शुद्ध बनाई सोको मालिक बन्न गरिने प्रयासलाई नै अर्को शब्दमा सम्पत्ती शुद्धीकरण भनिन्छ । समग्रमा भन्नुपर्दा, गैरकानुनी एवं आपराधिक कार्यबाट कमाएको आयलाई समयको अन्तरालमा वैध सम्पत्ती मा रुपान्तरण गरी कानुनी एवम् वैधानिक बनाई समाजमा सभ्य नागरिकको रुपमा स्थापित हुने प्रयास नै सम्पत्ती शुद्धीकरण हो ।

कस्ता कार्य सम्पत्ती शुद्धीकरणमा पर्छन् ?

सम्पत्ती को गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसूरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसूरबाट प्राप्त सम्पत्ती हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्ती कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने, कसूरबाट प्राप्त सम्पत्ती हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्ने मुनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ती को सही प्रकृति, स्रोत, स्थान, निसर्ग (डिस्पोजिसन), कारोबार (मुभमेन्ट), स्वामित्व वा सो सम्पत्ती उपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, वा कसूरबाट प्राप्त सम्पत्ती हो भन्ने जानी जानी वा विश्वास गर्नु पर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ती प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने ।
कुनै व्यक्तिले माथि लेखिएबमोजिमको कुनै कार्यको षडयन्त्र, मद्दत, दुरुत्साहन, सहजीकरण, सल्लाह वा उद्योग गर्न वा सम्बद्धता वा सहभागिता जनाउन वा मतियार हुन हुँदैन । उल्लिखित कुनै कार्य गरेमा त्यस्तो कार्य सम्पत्ती शुद्धीकरणसम्बन्धी कसूर हुनेछ । सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट विभिन्न प्रयास हुँदै आएका छन् ।

कसरी हुन्छ सम्पत्ती शुद्धीकरण ?

सम्पत्ती शुद्धीकरण प्रक्रियाअन्तर्गत मूलत ३ वटा चरणहरु (रकम राख्ने, रकमको तहकिकरण गर्ने र सम्पत्ती एकीकृत वा मूलप्रवाहीकरण गर्ने) रहेका छन् ।

रकम राख्ने: पहिलो चरणमा सम्पत्ती शुद्धीकरणकर्ताले सामान्यतया गैरकानुनी रुपमा प्राप्त आयलाई कुनै बैंक वा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ । यस्तो रकम निक्षेपको रुपमा, धनादेश (मनी अर्डर) द्रुत सन्देश, तार स्थानान्तरण वा अन्य उपयुक्त विधिबाट बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ । यसो गर्दा शुद्धीकरणकर्ताले ठूलो रकमलाई खण्डीकरण गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा झिक्ने र जम्मा गर्ने गर्दछ ।

रकमको तहकीकरण गर्ने: दोस्रो चरणमा सम्पत्ती शुद्धीकरणकर्ताले त्यस्तो गैरकानुनी रुपमा आर्जित रकमको स्रोत एवम् उत्पत्ति सम्बन्धमा थप अलग्याउने वा दूरी बढाउने प्रयास गर्दछ । यसका लागि उसले जटिल एवं बहु–चक्रीय वित्तीय कारोबारको सहारा लिन्छ । शुद्धीकरणकर्ताले शेयर, डिवेन्चरको खरिद–विक्री गर्ने, देशभित्रै वा विदेशमा आफ्नो वा आफन्तको नाममा रहेका खातामा दूरसंचार र तारमार्फत रकम स्थानान्तरण गर्ने तथा अस्तित्वमा नभएका वस्तु तथा सेवाको भुक्तानी गर्ने जस्ता क्रियाकलाप देखाएर त्यस्तो रकमको तहकिकरण गर्ने गर्दछ ।

सम्पत्ती एकीकृत र मूलप्रवाहीकरण: यो चरणमा शुद्धीकरणकर्ताले विभिन्न निकायमा छरेर राखेको रकमलाई एकीकृृृत गरी बैधानिक क्षेत्रमा प्रवाह गर्दछ । यस क्रममा उसले खासगरी घरजग्गा कारोबार, व्यापार व्यवसाय, स्थायी सम्पत्ती वा संस्थागत क्षेत्र आदिमा लगानी गर्ने कार्य गर्दछ । यसरी पटक–पटकको स्थानान्तरण र वैध बनाउने प्रयास गरेर उसले गैर कानुनी आम्दानीलाई शुद्ध सम्पत्ती को रुपमा रुपान्तरण गरी शुद्धीकरण गर्ने कार्यलाई सम्पन्न गर्दछ ।

सम्पत्ती शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था

सम्पत्ती शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने विषय सीमाविहीन रुपमा अपराध भएको र यसबाट सबैजसो मुलुक प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको अवस्थामा नेपालमा सम्पत्ती शुद्धीकरण निवारण ऐन, २०६४ जारी भयो । यससँग सम्बन्भित पारस्परिक कानूनी सहायता ऐन र नियमावली २०७०, सुपुर्दगी ऐन २०७०, संगठित अपराध ऐन २०७०, कसूरजन्य सम्पत्ती तथा साधन रोक्का नियन्त्रण र जफत ऐन, २०७०, जस्ता ऐन जारी भइसकेका छन् ।

सम्पत्ती शुद्धीकरण ऐन २०६४ को दोस्रो संशोधनपछि नियमावली २०७३ जारी भएको छ । यी ऐन कार्यान्वयन गर्न विभिन्न संस्थागत व्यवस्थाहरु भएका छन् । अपहरण, भ्रष्टाचार, आतङ्कवाद, राजस्वको छली आदि गैरकानूनी कार्यबाट आर्जित सम्पत्ती भूमिगत रूपमा पुनः त्यस्तै गैरकानूनी कार्यमा लगानी हुने र शुद्धीकरण गर्ने चक्रहरू चलिरहने हुँदा पुनः त्यो गैरकानुनी कार्यबाट आर्जित सम्पत्ती आपराधिक कार्यमा प्रयोग नहोस् आपराधिक कार्य रोकियोस् भनी निवारणात्मक व्यवस्थाको प्रयोजनार्थ सम्पत्ती शुद्धीकरण ऐन आएको हो ।

सम्पत्ती शुद्धीकरण एउटा बहुआयामिक वित्तीय अपराध हो । मूल अपराध लुकिने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध ग¥यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन । त्यसैले सम्पत्ती शुद्धीकरण ऐन, २०६४ को दफा २८ ले कसैसँग आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा उसको सम्पत्ती अस्वाभाविक देखिएमा र उसले आर्जन गरेको स्रोत देखाउन नसके सम्पत्ती शुद्धीकरणको अपराध हुने व्यवस्था गरेको हो ।

सम्पत्ती शुद्धीकरणका सम्भाव्य स्रोत

गैरकानुनी रुपमा आर्जित सम्पत्ती लाई कानुनी आय बनाउने अर्थात कालो धनलाई सेतो धन बनाउने प्रक्रियाको सबै प्रयास एवं क्रियाकलापलाई सम्पत्ती शुद्धीकरणको स्रोतको रुपमा लिनुपर्दछ ।
सम्पत्ती शुद्धीकरणका सम्भाव्य स्रोतहरु विभिन्न हुनसक्ने भएतापनि देहायका स्रोतहरुबाट प्राप्त आर्जनको सम्पत्ती शुद्धीकरण हुने गरेको विश्वव्यापी अनुभव रहेको छ ।
१) आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानी,
२) लागुऔषध कारोबार,
३) भ्रष्टाचार,
४) अवैध हातहतियारको कारोबार,
५) मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी,
६) सीमा तस्करी,
७) चिठ्ठा ठगी,
८) माफिया सञ्चालन,
९) हुण्डी व्यापार,
१०) क्यासिनो,
११) अपहरण र फिरौती,
१२) चोरी र डकैती,
१३) राजस्व छली
१४) कुनै पनि गैरकानुनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्य ।
अर्को तर्फबाट हेर्दा आपराधिक संगठनहरुका सदस्यहरु, भ्रष्ट कर्मचारीहरु, लागु पदार्थका कारोबारीहरु, आतंककारीहरु, गैरकानूनी व्यापारीहरु, असामाजिक क्रियाकलापमा लागेका व्यक्तिहरुका गतिविधिहरु सम्पत्ती शुद्धीकरणका प्रमुख स्रोतहरु हुन् ।

चेपुवामा बैंकिङ क्षेत्र
सम्पत्ती शुद्धीकरण निवारण ऐनमा सूचक संस्थाहरूका लागि कडा प्रावधान राखिएका छन् । उक्त ऐन र नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको पालना नभएमा १७ वटा शीर्षकमा स्पष्टिकरण सोध्नेदेखि ५ करोड रुपियाँसम्म जरिवाना गर्ने निर्देशन नेपाल राष्ट्र बैंकले जारी गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले उक्त निर्देशनको पालनाका लागि प्रयास गरिरहेका छन् । तथापि, कतिपय प्रावधान पालना गर्न गाह्रो हुँदै आएको बैंकरहरूको गुनानो छ ।

राष्ट्रिय परिचय पत्र सहज वितरण छैन । त्यसैले एकीकृतरुपमा ग्राहकका व्यक्तिगत विवरण प्राप्त गर्न र प्रमाणीकरण गर्न गाह्रो छ । उच्च पदस्थ पदाधिकारीको सूची बैंक आफैंले तयार गर्नुपर्दछ । उक्त सूची तयार गर्नका लागि पनि भपर्दाे स्रोत छैनन् । अधिकांश तथ्यांक सम्बन्धित निकाय संस्थाका वेबसाइटमा भर पर्नुपर्ने हुन्छ । तर, ती वेबसाइटमा नाम मात्र उल्लेख हुन्छ । जसले गर्दा भरपर्दोरुपमा ग्राहक पहिचान गर्न गाह्रो भइरहेको बैंकहरूले जनाएका छन् । यस्ता तथ्यांक सरकार वा राष्ट्र बैंक वा कुनै तोकिएको संस्थाले उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा बैंकरहरुको जोड छ । त्यसो भए जोखिम व्यवस्थापनमा पनि एकरुपता र प्रभावकारिता आउँथ्यो । केही बैंक तथा वित्तीय संस्थाहरुलाई १० लाखदेखि ३० लाख रुपियाँसम्म जरिवानापनि भइसकेको छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पत्ती शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिम व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण हुँदै गइरहेको छ ।

समाधान के हुन सक्छ ?
सम्पत्ती शुद्धीकरण समस्या समाधानमा बाह्य र आन्तरिक चुनौती छ । चुनौतीलाई चिर्नका लागि राज्यका सूचक संस्थाहरु, नियमनकारी निकाय र कानुन कार्यान्वयन गर्ने निकाय सक्षम, सबल र प्रभावकारी हुनु नितान्त जरुरी छ । सम्पत्ती शुद्धीकरणबाट अर्थतन्त्रमा धेरै नकरात्मक असर पर्दछ । सम्पत्ती शुद्धीकरणबाट कानून पालना गर्ने व्यक्तिहरु निरुत्साहित हुने, वित्तीय प्रणालीमा जोखिम बढ्ने तथा उपयुक्त आर्थिक नीति तर्जुमा गर्न कठिन हुन्छ ।

सम्पत्ती शुद्धीकरण एउटा बहुआयामिक वित्तीय अपराध हो । मूल अपराध लुकिने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध ग¥यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन । त्यसैले सम्पत्ती शुद्धीकरण ऐन, २०६४ को दफा २८ ले कसैसँग आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा उसको सम्पत्ती अस्वाभाविक देखिएमा र उसले आर्जन गरेको स्रोत देखाउन नसके सम्पत्ती शुद्धीकरणको अपराध हुने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्