नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा खाताबाटै रकम गायब

ओपन सेक्रेट–२



काठमाडौं ।  

कानुनका छिद्रहरूबाट नेपालको वित्तीय क्षेत्रमा के कस्ता अपराध भइरहेका छन् भन्ने तथ्यहरू नेपाल समाचारपत्रले उजागर गर्ने क्रमको थालनी गरेको छ ।

अघिल्लो अंकमा वित्तीय अपराधका केही दृष्टान्त प्रस्तुत गरिएको थियो । त्यसमध्ये नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा भएको घोटलासम्बन्धी प्राप्त केही तथ्य आजको अंकमा समावेश गरिँदैछ । नेपालको वित्तीय क्षेत्रमा तरङ सिर्जना गर्ने गरी नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा करोडौं रुपियाँ घोटाला भएको थियो । सो घोटालापश्चात थला परेको उक्त फाइनान्स १२ वर्षपछि नेपाल राष्ट्र बैंकले बिउँत्याउने तयारी गरेको छ ।

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सलाई बिउँत्याउने तयारी हुँदै गर्दा वर्षांैदेखिका पीडित सेयरधनी र निक्षेपकर्ताले उठाउँदै आएको प्रश्नको जवाफ अझै फेला परेको छैन ।ऊ बेला उक्त फाइनान्समा जम्मा गरेको आफूहरूको पैसा कहाँ गयो ?, वर्षांैसम्म डुबेको रकम पूरै पाइन्छ त ?, ब्याजसहित पाइन्छ कि, बिनाब्याज वा रकम कट्टा गरी फिर्ता पाइन्छ ? भन्ने सेयरधनी र निक्षेपकर्ताको प्रश्न छ ।

आफ्नो मूल लगानीमा वार्षिक १० प्रतिशत ब्याज जोडेर लगानी फिर्ता हुनुपर्ने माग सेयरधनीको रहेको छ । त्यस्तै, निक्षेपकर्ताले पनि आफ्नो डुबेको रकम ब्याजसहित फिर्ता पाउनुपर्ने अडान छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स घोटालाका मुख्य योजनाकार एवम् कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले आफूहरूको लगानी दुरूपयोग गरी अर्बौं रुपियाँ कमाएको आरोप लगाउँदै सेयरधनी र निक्षेपकर्ताहरूले आफूहरूको प्रतिफल सुनिश्चित हुनुपर्नेे दाबी गरेका छन् ।
नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स घोटालाका मुख्य योजनाकार श्रेष्ठ कुनै बेला नेपालको आर्थिक क्षेत्रका ‘रोल मोडल’ जस्तै थिए । बागलुङको सामान्य परिवारबाट काठमाडौं आएका उनी काठमाडौं आएको छोटो समयमै व्यवसाय विस्तारसँगै आर्थिक छलाङका कारण चिनजानका लागि रोलमोडल बनिसकेका थिए ।

सामान्य पृष्ठभूमिबाट आएर वित्तीय क्षेत्रमा विरासत खडा गर्नेहरूको सूचीमा नेपाल सेयर मार्केट्सका अध्यक्ष श्रेष्ठ र तत्कालीन किस्ट बैंकका सीईओ कमल ज्ञवाली पहिलो सूचीमा आउँथे । वित्तीय क्षेत्रमा दुवैजना आक्रामक थिए । प्रकारान्तरमा दुवैजना वित्तीय क्षेत्रका ‘बद्नाम अनुहार’ भए । श्रेष्ठ र ज्ञवालीले भरोसा र विश्वासमा चल्ने वित्तीय क्षेत्रमा कयौंलाई डुबाए । उनीहरूले खडा गरेको ‘एम्पाएर’ तासको महलजस्तै गरी ढल्यो ।

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका कार्यकारी अध्यक्ष श्रेष्ठले एमएमसी इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ प्रालि, कार्यविनायक इन्भेस्टमेन्ट प्रालि, स्टार होल्डिङ्स, माछापुच्छ«े इन्भेस्टमेन्ट, स्टार इन्भेस्टमेन्ट, स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सेयर मार्केट्स इन्भेस्टमेन्ट एन्ड फाइनान्सलगायत २०–२५ वित्तीय संस्था र जलविद्युत् कम्पनीमा लगानी गरेका थिए । त्यस्तै, चोभार, सीतापाइला, कमलादी, पुतलीसडक काठमाडौंका महत्वपूर्ण स्थानमा उनी र उनको परिवारका नाममा जमीन जोडिँदै थिए । तर, सबै उपलब्धि अरूलाई डुबाएर निर्माण भएको तथ्य फेला परेको छ ।

उनको आर्थिक हिनामिनाका विषयमा तथ्यहरू संकलन गर्ने र दस्तावेजको अध्ययन गरी वास्तकिता उजागर गर्ने क्रममा नेपाल समाचारपत्रले नेपालको वित्तीय क्षेत्रलाई नै हलचल गराउन गरी उनले के कस्ता आर्थिक अनियमितता गरे भन्ने तथ्य केलाउने प्रयास गरेको छ । अदालतमा पेस भएका दस्तावेज, नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको पत्र र निक्षेपकर्ताको दाबी यस समाचारमा प्रस्तुत गरिएको छ ।

२०६६ सालमा नेपाल सेयर मार्केटले राष्ट्र बैंकको नेतृत्वसमेत सहभागी गराएर सोल्टी होटलमा एउटा भब्य कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमपछि नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स ‘ग’ वर्गको वित्तीय संस्थाले १ बराबर ३ दशमलव ६ सय २९ दरमा हकप्रद सेयर जारी गरेर २ अर्ब रुपियाँको चुक्तापुँजीसहित ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा स्तरोन्नति गर्ने घोषणा भयो ।

सेयर सदस्यहरूले खुशी हुँदै आफ्नो हिस्साको हकप्रद सेयरमा लगानी गरे । कसैले आफ्नो बचतबाट लगानी गरे, कसैले ऋण लिएर गरे त कसैले सम्पत्ति बेचेर लगानी गरे । तर, योगेन्द्रपसाद श्रेष्ठले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा सर्वसाधारणले जम्मा गरेको निक्षेपको पैसा हकप्रद सेयरमा लगानी गरे । जुन अवैध थियो । यो तथ्य नेपाल राष्ट्र बैंकले टीआर उपाध्यायमार्फत् अध्ययन गराएको कम्पनीको दायित्व सम्पत्ति मूल्याङ्कन (डीडीए) प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका कार्यकारी अध्यक्ष श्रेष्ठले ८८ जना नक्कली ऋणी खडा गरी १ अर्ब ५७ करोड १३ लाख ७६ हजार रुपियाँ अपचलन गरेको उल्लेख छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा कसरी घोटला भएको रहेछ भन्ने रोचक तथ्य यस्ता छन् ।

राष्ट्रिय बिमा संस्थानले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा २०६५-०६-०६ तथा २०६५-०६-१७ मा १०-१० करोड गरी जम्मा २० करोड रुपियाँ वार्षिक ९ दशमलव २५ प्रतिशत ब्याज प्राप्त गर्ने गरी निक्षेप जम्मा ग¥यो । एक वर्षपछि पुनः ११ प्रतिशत ब्याज प्राप्त गर्ने सो २० करोड रुपियाँ नवीकरण भयो । २०६७-०६-०६ तथा २०६७-०६-१७ गते वार्षिक १४ प्रतिशत ब्याज दरले प्राप्त गर्ने गरी २० करोड रुपियाँ पुनः मुद्दति निक्षेप नवीकरण भयो ।

उक्त मुद्दति निक्षेप जम्मा गर्दा एफ ०११५०७१६०१ र एफ ०११५०७१०२ को मुद्दती खाताको रसिद पनि नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सले दिएको छ । तर, नेपाल राष्ट्र बैंकको डीडीए रिपोर्टमा उक्त रकम जम्मा भएको कुनै अभिलेख देखिँदैन ।
संस्थानको २०७६-०६-०२ को पत्रअनुसार उक्त २० करोडमा १० करोड फिर्ता भइसक्यो । अब १० करोड र त्यसको ब्याज बाँकी रहेको संस्थानका सहव्यवस्थापक रेशम कृष्ण पौडेलले लेखेको पत्रमा उल्लेख छ ।

त्यस्तै, नागरिक लगानी कोषले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा १६ करोड ५० लाख रुपियाँ जम्मा गरेको भए पनि उक्त रकम स्टार सेभिङ एन्ड क्रेडिड को–अपरेटिभमा जम्मा गरिएका छ । सो रकम विभिन्न मितिमा सौरभ श्रेष्ठ र योगेन्द्रप्रसाद श्रेष्ठले झिकेर विभिन्न बैंकको ब्याज तिर्न प्रयोग गरेको स्वयं नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको पत्र भेटिन्छ ।
नागरिक लगानी कोषले २०७८-०३-१० गते नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सलाई पत्र लेखेर ३१ करोड ४९ लाख ६१ हजार ७१३ रुपियाँ २०७८ साउन १५ गतेसम्म भुक्तानी गर्न ताकेता गरेको अवस्था छ ।

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सबाट सर्वसाधारण मात्र होइन सेनामा पनि ठगिएको छ । नेपाली सेना कल्याणकारी योजना निर्देशनालयको २०६८-०२-२६ को पत्रअनुसार ४ करोड ०६ लाख २८ हजार ४८४ रुपियाँ ७६ पैसा लिनुपर्ने दाबी छ । उक्त रकममध्ये केही भुक्तानी भसकेको हुँदा २०७८-०६-१४ को पत्रअनुसार ब्याजसहित कल्याणकारी कोषलाई २ करोड ९० लाख ७६ हजार ४९ रुपियाँ तिर्नुपर्ने तत्कालीन सहायकरथी सागरबहादुर केसीको दाबी छ । तर, कम्पनीले हालसम्म भुक्तानी गरेको भन्ने जानकारी छैन ।

त्यस्तै, नेपाल सेयर मार्केट्समा हिमाल हाइड्रो एन्ड कन्सट्रक्सन लिमिटेडको खाताबाट ९० लाख रुपियाँ झिकिएको छ । तर, कम्पनीको २०६८-०६-२३ मा पत्राचार भएअनुसार सोबारे सरोकारवालालाई कुनै जानकारी छैन । यसबाट श्रेष्ठले नक्कली ऋणी खडा गरी उक्त रकम आफैंले अपचलन गर्ने गरेको प्रष्ट हुन्छ ।

उल्लिखित तथ्य नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा भएको घोटलाको केही प्रतिनिधि घटना मात्र हुन् । प्रमाण फेला परेको १ अर्ब ५७ करोड १३ लाख ७६ हजार रुपियाँ घोटालाबाहेक तथ्य पुष्टि हुन नसकेका विषय अझै गर्भमा छन् । तीनलाई नेपाल समाचारपत्रले आगामी अंकमा खोतल्दै जानेछ ।

याे पनि

कानुनी छिद्रबाट वित्तीय अपराध

 

प्रतिक्रिया दिनुहोस्