वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने



काठमाडौं । 

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ ।

कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो । कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो । वर्षाैदेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो ।

बगैंचामा सटरसहितको टहरा बनाएकोले हटाउन लागिएको जानकारी दिंदै कामपा प्रहरी प्रमुख (एसपी) राजुनाथ पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वडा अध्यक्षले ती सटरहरू भत्काउन कामपा प्रहरीलाई आग्रह गर्नुभएको थियो । हामीले सबै विवरण बुझेर भत्काउने निर्णय गरेका हौं ।’ अस्पतालकै चाहनाअनुसार अवैध सटरहरू भत्काउन लागिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘सुन्दर महानगर बनाउने परिकल्पनालाई साकार बनाउन मिचेर संरचना बनाएको जग्गा खाली गर्न लागेका हौं ।’

वडानम्बर २७ का अध्यक्ष योगेश खड्गीले अवैध रूपमा सटरमा औषधि पसल राखेको जानकारी पाएपछि भत्काउने तयारी गरेको नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँले अस्पताल क्षेत्रलाई सुन्दर बनाउन पसल कवल हटाउन लागिएको टिप्पणी गर्दै भन्नुभयो– ‘अब कसैले भनेर रोकिनेवाला छैनौं । हामीले निर्णय गरिसकेका छौं, अब भत्किन्छ ।’

कामपा प्रहरी पाण्डेसहितको टोलीले वीर अस्पतालका प्रशासन प्रमुख भुपन्द्र बस्नेतसँग कुराकानी गरी भत्काउने सहमति भएपछि महानगर प्रहरीले माइकिङ गरेको थियो । माइकिङ गरेपछि ब्यापारीहरूले सामान पोका पार्न शुरू गरेका थिए । यसअघि सटर हटाउने तयारी गर्दा औषधि व्यावसायीले आपत्ति जनाएपछि अस्पताल प्रशासन पछि हटेको थियो ।

महानगरले तोकिएको उद्देश्यविपरीत जथाभावी संरचना निर्माण भएपछि कारबाही शुरू गरेको हो । असन, भोटाहिटीलगायत भित्री शहरका अवैध संरचना हटाउन शुरू गरेको कामपाले यसअघि झण्डै ५ दर्जन बढी संरचनामा डोजर चलाइसकेको छ ।
वडा कार्यालयको अनुगमन र सहयोगमा महानगरप्रहरीले दुई महिनादेखि राजधानीको विभिन्न स्थानमा डोजर चलाइरहेको छ । यसअघि टुकुचालाई खुला गराउन संरचना हटाउन थालेको हो । संरचना हटाउने क्रममा केही विवाद भएको थियो । त्यसैक्रममा उच्च अदालत पाटनले टुकुचा खोलाको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश दिएको थियो । यद्यपि, कामपाले लगातार टुकुचा क्षेत्रको दायाँबायाँ खाली गर्न छाडेको छैन ।

यसअघि कामपाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको थियो ।यसअघि कामपाले मंगलबार असन, इन्द्रचोक, भेडासिंह, भोटाहटीलगायत भित्री शहरी क्षेत्रको बाटोमा राखेका पसल हटाउन निर्देशन दिएको छ । हालसम्म कोटेश्वर, बानेश्वर र गंगबु बसपार्कमा मात्रै करिब २ सय घर टहरा भत्काएको छ । कामपा प्रहरी प्रमुख पाण्डेका अनुसार हालसम्म २१ स्थानमा भूमिगत पार्किङको लागि वेसमेन्ट खाली गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्