नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलन सम्पन्न, ११ बुँदे घोषणापत्र जारी



काठमाडौ । मंगलबार र बुधबार दुई दिन संचालित राष्ट्रिय सम्मेलनमा विभिन्न ७ वटा विषयमा बृहत छलफल भएको थियो ।

सम्मेलनको दुईदिने सम्मेलनबाट निकालेको घोषणापत्रको पहिलो बुद्धामा महामारी रोकथामका बेलाका सिकाइ र अनुभवहरुलाई विश्लेषण गरेर स्वास्थ्य प्रणालीलाई थप उत्थानशिल बनाउन नेपाल चिकित्सक संघले विशेष पहल गर्ने जनाएकोछ ।

दोस्रो बुँदामा कोभिड महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्षिय सहकार्यको अवधारणालाई सबै तहमा प्रभावकारी रुपमा कार्यान्वयनका लागि पहल गर्ने जनाएकोछ ।

सम्मेलनले तीनै तहका सरकारको समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ र प्रभावकारी बनाउँदै संविधानप्रदत्त स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न सरकारको सहभागितामा राष्ट्रिय स्वास्थ्य सभाको आयोजना गर्ने घोषणापत्रमा उल्लेख गरिएकोछ ।

घोषणापत्रमा आपतकालिन अवस्थाको पूर्वतयारी, प्रतिकार्य र रोकथाम लगाएत कार्यको लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापनाको पहल गर्ने, राष्ट्रिय स्वास्थ्य संस्था प्रत्ययन बोर्डको स्थापना गर्ने, औषधि व्यवस्था विभागको क्षमता र दायरा बढाउने, छुट्टै मानव संसाधन विभागको स्थापना गर्ने लगाएत बिषय उल्लेख गरिएकोछ ।

सम्मेलनको पहिलो दिन संघको ’पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी’, ’सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’ र ’चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा’ विषयमा छलफल भएको संघका महासचिव डा बद्री रिजालले जानकारी दिनुभयो ।

दोस्रो दिन बुधबार, ’महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु’, ’खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण’, ’नेपालमा स्वास्थ्य पर्यटनको संभावना’ र ’चिकित्सा शिक्षामा असर र अवसर’ विषयमा छलफल भएको जानकारी गराउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्