दीपेन्द्रलाई संगीत सिकाएका शुभबहादुरको सपना अधुरै



काठमाडौं । 

दर्जनौं संगीतकर्मीका साथमा तत्कालीन युवराज दीपेन्द्र शाहलाई संगीत सिकाउने संगीत गुरु, कुशल संगीतकार तथा स्याक्साफोनवादक शुभबहादुर सुनामको सोमबार बिहान उपचारका क्रममा निधन भएको छ ।

आइतवार राति अचानक लगातार खोकी लागेपछि छाउनीस्थित सैनिक अस्पतालमा पु¥याइएको उहाँको उपचारका क्रममा सोमबार बिहान पौने पाँच बजे अस्पतालमा निधन भएको हो ।उहाँका नाति संगीतकार तथा संगीत संयोजक एलिश कार्कीले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार शुभबहादुरको रक्तचाप बढेको पाइए पनि हृदयघात नभएको चिकित्सकले बताएका छन् । केही समयदेखि मृगौला रोगसँग जुध्दै आएका शुभबहादुर डायोलोसिस गर्दै जीवनसँग लड्दै आउनुभएको थियो।

७४ वर्षीय शुभबहादुरले ११ वर्षकै बाल उमेरमा नेपाली सेनामा ब्वाइज दर्जामा जागिर खाने अवसर प्राप्त गर्नुभएको थियो । सेनाको सैनिक ब्यान्डमा रही वाद्यवादन तथा संगीत सिर्जनाका कार्य गर्दै उहाँ जर्नेलबाट सेवा निवृत्त हुनुभएको थियो । ‘त्यो बेलामा सेनामा ब्वाइज भन्ने पोस्ट हुँदोरहेछ र ११ वर्षमै जागिर खान पााइने रहेछ । हजुरबाले व्वाइजबाट आर्मीमा जागिर खानुभएको थियो र धेरैलाई संगीत सिकाउँदै आउनुभएको थियो ।’ –मावलीका हजुरबुबा शुभबहादुरबारे एलिशले जानकारी गराउनुभयो ।

सैनिक ब्यान्डमा रहेकै समयमा शुभबहादुरले युवराज दीपेन्द्रलाई संगीत सिकाउनुभएको थियो । नयाँदेखि पुराना दर्जनौं गायक–गायिकाका गीतमा सुमधुर संगीत भरेर गीतलाई जीवन्त रूप दिँदै आएका शुभबहादुर नेपालमा स्याक्साफोन चिनाउने संगीत साधकका रूपमा समेत परिचित हुनुहुन्थ्यो । नेपाली संगीत क्षेत्रमा स्याक्साफोनबारे थाहा नै नभएको समयमा उहाँले यसको वादन शुरु गरी लोकप्रियता कमाउनुका साथै थुप्रै स्याक्साफोनवादक पनि जन्माउनुभएको थियो। हार्मोनियम, तबलाजस्ता सबै प्रकारका वाद्य सामग्री वादनमा पोख्त शुभबहादुरले ५२ वर्षदेखि स्याक्साफोन बजाउँदै आउनुभएको थियो । नेपालका अधिकांश गीतमा स्याक्साफोन उहाँले नै बजाउनुभएको छ ।

रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, पिरती बस्यो, पर्खिबसें आउला भनी, को हो त्यो जसले मलाई मोहनी लगायो, हुँ यात्री एउटा जस्ता दर्जनौं कालजयी र लोकप्रिय गीतका संगीत सर्जक उहाँले एक सयभन्दा बढी आधुनिक तथा एक दर्जन जति फिल्मी गीतमा संगीत भर्नुभएको छ।शुभबहादुरले कुनै समयमा संगीतकार शम्भुजित बाँस्कोटासँग शुभ–शम्भु जोडी नामले सहकार्य गर्नुभएको थियो । शुभ–शम्भुजितको यो जोडीले के घर के डेरामा लगायतका गीतका लागि धुन तयार पारेका थिए भने नारायणगोपालद्वारा स्वरबद्ध तिमीले भनेका सारा देव छोएर, पर्खी बसें आउला भनी मेरो उठ्ने पालोजस्ता गीतको संगीत पनि यही जोडीले तयार पारेको थियो ।

शुभबहादुर संगीत सिर्जना वाद्यवादनसँगै दर्जनौं गीतका संगीत संयोजक पनि हुनुुहुन्थ्यो । ख्यातिप्राप्त पाकिस्तानी गजल गायक गुलाम अलीद्वारा स्वरबद्ध अधिकांश गीतको संगीत संयोजक उहाँ नै हुनुहुन्थ्यो।विभिन्न देशमा पुगेर स्याक्साफोन वादन गरी संगीतप्रेमीको मन जित्दै आएका शुभबहादुर आफूले संगीत भरेका र अन्य कालजयी गीतमाथि स्याक्साफोन वादनको एकल साँझमा प्रस्तुत हुँदै आउनुभएको थियो ।

उहाँको निधनसँगै अर्को एकल साँझ गर्ने उहाँको सपना अधुरो हुन पुगेको छ । यससँगै आफूले संगीत भरेका गीतहरुको एल्बम प्रकाशन गर्ने सपना पनि अधुरै छोडेर विदा हुनुभएका उहाँ गीत–संगीत क्षेत्रमा योगदान पु¥याएबापत विभिन्न अलंकार, पदवी, मान सम्मान, र पुरस्कारबाट सम्मानित हुँदै आउनुभएको थियो ।

शुभबहादुरकोे सोमबार नै पशुपतिस्थित आर्यघाटमा सैनिक सलामीका साथ अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारअघि आर्यघाटमै कलाकर्मी तथा संगीतप्रेमीले उहाँको पार्थिब शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । ६ महिनाअघि मात्र पत्नीशोक व्यहोरेका उहाँकोे परिवारमा दुई छोरा एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्