बझाङमा ३८ महिनामा १०३ जनाले गरे आत्महत्या



बझाङ ।

बझाङमा ३८ महिनामा १०३ जनाले आत्महत्या गरेको छन् । आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन् । तीन बर्ष दुई महिनामा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी जागेश्वर भण्डारीले आत्महत्याले सामाजिक र मनोवैज्ञानिक असर गर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने सबैको दायित्व रहेको बताएका छन् । दिवसकै अवसरमा सदरमुकाम चैनपुर बजारमा जनचेतनामुलक सन्देशसहित प्रभातफेरी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ मा २० महिला र ९ पुरुष गरी २९, आर्थिक वर्ष २०७७–०७८ मा १९ महिला र १७ पुरुष गरी ३६, आर्थिक वर्ष २०७८–०७९ मा १७ महिला र १२ जना पुरुष गरी २९ र आर्थिक वर्ष २०७९–०८० को दुई महिनामा ५ जना महिला र ४ जना पुरुष गरी ९ जनाले आत्महत्या गरेका छन् ।

 

विगतको तुलनामा पछिल्लो तीन बर्ष दुई महिनामा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । जिल्लामा सबैभन्दा बढी आत्महत्या गर्नेमा जयपृथ्वी नगरपालिकामा छन् । यस अवधिमा जयपृथ्वी नगरपालिकाका २० जनाले आत्महत्या गरेका छन् भने बुंगल नगरपालिका र खप्तडछान्ना गाउँपालिकाका १५–१५ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै मष्टा गाउँपालिकाका ९, सुर्मा, दुर्गाथली र केदारस्युँ गाउँपालिकाका ८–८, वित्थडचिर गाउँपलिकाका ६, तलकोट गाउँपालिकाका ५, छविसपाथिभेरा र थलारा गाउँपालिकाका ४–४ र सबैभन्दा कम साइपाल गाउँपालिकाका १ जनाले मात्रै आत्महत्या गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रेममा असफल, शैक्षिक असफलता मानसिक असन्तुलन, शारीरिक पीडा लगायतका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा निमित्त प्रमुख जिल्ला अधिकारी प्रमोद चनले भने समाजमा यस्ता घटनाहरू घटिरहेका हुन्छन् यिनको रोकथाका लागि सबैले एकजुट भई न्यूनीकरणमा लाग्न आवश्यक रहेको बताए । समाजपरिवर्तन गर्न हामी सबैको दायित्व हो ,संविधानले हामी सबैलाई बाधेको छ । संबिधान भित्र रहेर समाज परिवर्तन गर्न लाग्नु आजको आवश्यकता रहेको नेपाल पत्रकार महासंघ बझाङका सचिव ललितबहादुर सिंहले बताए । उनले भने आत्महत्या रोकथाका लागि जनचेतना जगाउनु आवश्य छ ।

प्रतिक्रिया दिनुहोस्