यसपालिको दशैँ खल्लो हुने चिन्ता



दशैँ आउन अब १५ दिन मात्र बाँकी छ र दशैँ मनाउनका लागि अहिले आफ्नो गाउँघर जाने मानिसको संख्या पनि ह्वात्तै बढिरहेको पाइन्छ । पैसा हुने मानिस बजार छिरिसकेका छन् र आफ्नो गाउँ जान पनि तयारी अवस्थामा छन् तर कतिपय मानिस भने पैसाकै कारण सामान पनि किन्न पाएका छैनन् र दशैँ मनाउन पनि आफ्नो गाउँ जान पाएका छैनन् ।

अहिले दशैँका लागि आवश्यक सामान किनमेल गर्नका लागि आफूले वर्षभरि गरेर जम्मा गरेको पैसा सहकारीमा निकाल्न गएमा त्यहाँ खालि हात नै पठाइन्छ । पछिल्लो समय सहकारीहरुले डिपोजिटरलाई पैसा फिर्ता दिएका छैनन्, जसले गर्दा दशैँ कसरी मनाउने भनेर सोच्दा नै उनीहरुको बिजोग भइरहेको पाइन्छ । वर्षभरि आफूले खाई नखाई गरेर जम्मा गरिराखेको पैसा अहिले समस्या पर्दा वा चाडबाड आउँदा पनि निकाल्न नपाउँदा जनता अन्योलमा परेका छन् ।

हामी नेपालीको महान् चाड दशैँ हो । हामी अरु चाडबाड नमनाए पनि दशैँ भने मनाउँछौँ तर आफूले दशैँ मनाउनका लागि राखेको पैसा सहकारीले नदिएपछि मानिसहरु दशैँ कसरी मनाउने भनेर सोच्दै दुःखी भइरहेका छन् । सहकारीहरुले हिजो जनताको पैसा लिने बेलामा घरघरमा पुगेर लिए तर फिर्ता गर्ने समयमा भने दाँतबाट पसिना निकाले । पछिल्लो समय लाखौँ जनता सहकारीमा आफूले राखेको पैसा निकाल्न नपाएर निराश भएका छन् ।

सहकारीहरुले कर्जा त दिएनन् नै तर डिपोजिट गरेको पैसा पनि फिर्ता दिएनन् । सहकारीहरुले डिपोजिटको पैसा फिर्ता नदिँदा जनतालाई दुःख पनि भयो र चाडबाड पनि खल्लो भयो । अहिले सहकारीहरुमा जनता आफ्नो बचत निकाल्नका लागि बिहानदेखि लाइन बसिरहेका छन् तर सहकारीहरु भने टोकन नियम बनाइरहेका छन् र १५ दिनमा ५ हजार रकम लैजानुस् भन्ने गर्छन् ।मानिसले हिजो बढी ब्याजको प्रभोलनमा सहकारीहरुमा ५ लाखदेखि करोडसम्म जम्मा गरे तर अहिले न ब्याज पाए, न सावाँ नै । अहिले सहकारीको अफिसमा गएमा त्यहाँ अध्यक्ष र चेयरम्यान भेटिँदैनन् । त्यस्तै यता सहकारीमा काम गर्ने कर्मचारीहरु पनि डिपोजिटलाई सहकारीका जिम्मेवारी व्यक्तिलाई नै भेट्नुस् भनेर आफू पन्छिन् । दशैँ हामी सबै जनताले मनाउँछौँ तर दशैँ मनाउन आफूले खाई नखाई राखेको पैसा भने सहकारी दिदैँन ।

जनताको यसपालिको दशैँ सहकारीहरुले पैसा नदिएका कारण खल्लो हुनेछ । यसरी सहकारीहरुले जनताको पैसा वा बचत फिर्ता नगर्दा सहकारी विभागका महानिर्देशक किन जनताको पैसा फिर्ता नगर्ने सहकारीलाई कारबाही गर्दैनन् ? जनतालाई सहकारीमा पैसा नराख्नुस् भनेर सचेत पनि गराउदैँनन् । सरकारको लापरबाही वा सहकारी विभागका महानिर्देशक सहकारीहरुसँग लम्पसार पर्दा आज जनताको पैसा पनि डुब्ने भयो र जनताले पनि दुःख पाइरहेका छन् । यस्तो हुँदा पनि सहकारी विभाग किन निरीह भएर बसिरहेको छ ? सहकारीमा पैसा राख्ने मानिसको रातको निद्रा र दिनको भोक पनि मेटिसकेको छ ।

उनीहरु दशैँ त आयो तर कसरी बालबच्चालाई नयाँ कपडा किनिदिने र खानेकुरा दिने भनेर सोच्दै रुन्छन् ।
अहिले उपत्यकाको चोकचोकमा वा कंलकी, बल्खु, कोटेश्वर, गंगपुमा मानिसहरु आफ्नो गाउँघर जानका लागि लर्को लागेर बसिरहेका छन् । कति मानिस भने आफूले सहकारीमा राखेको पैसा सहकारीले नदिएपछि ऋण खोजेर आफ्नो गाउँघर दशैँ मनाउन जान लागेका छन् भने कति मानिस सहकारीले आफ्नो पैसा नदिएको र ऋण खोज्दा पनि नपाएकाले यसपालि दशैँ मनाउन आफ्नो गाउँघर जान नपाएको भन्दै गुनासो गर्छन् ।

वर्षमा एकपटक मात्रै आउने र हामी सबै हिन्दूधर्मावलम्बीहरुले मनाउने चाड भनेको नै दशैँ हो । दशैँमा हामी सबैले आफ्नो गाउँघर गएर आफन्त भेटघाट गर्छौँ र रमाइलो गर्छौँ । तर यसपालिको दशैँ कतिपय जनताले मनाउन नपाउने भएका छन् । यसरी जनतामाथि सहकारीहरुले खेलबाड गर्दा सरकार किन यिनीहरुलाई कारबाही गर्दैन ? किन मौन बस्छ, सरकार ?
साथै सहकारी विभागले पनि सहकारीहरुसँग आर्थिक लेनदेन गरेर वा सञ्चालक वा अध्यक्षहरुले राजनीतिक पार्टीको झोला बोकेर शक्तिकेन्द्र धाएर जनताको बचत फिर्ता गरेका छैनन् । उनीहरुलाई दुःख दिने काम गरिरहेका छन् । पछिल्लो समय दिनहुँ १० वटा सहकारीहरु जनताको बचत लिएर भोगेको भनेर बजारमा सुनिन्छ । जति सहकारीहरु बजारमा सञ्चालनमा रहेका छन् ती सबैले जनताको बचत फिर्ता दिएका छैनन् र जनताको बिजोग भइरहेको छ ।

अहिले नै सहकारीहरुको यस्तो अवस्था देख्दा त अबको एकवर्षमा दशैँभरिको सहकारीहरु भाग्छन् जस्तो देखिन्छ । अबको एकवर्षपछि झन् बढी जनताको घरमा रुवाबासी हुनेछ र सहकारी डुबेर देशको अर्थतन्त्रमा पनि ठूलो आर्थिक संकट आउनेछ । पछिल्लो समय बजारमा बच्चादेखि बूढोले सहकारीमा पैसा राख्नुहुँदैन भन्छन् । जताततै बजारमा अहिले एउटै हल्ला रहेको पाइन्छ । त्यो हो, सहकारी भाग्यो ,पैसा खाइदियो । तर सहकारीहरु कसरी डुबे र किन भागे भनेर सरकारले अहिलेसम्म गहिराइमा गएर अध्ययन गरेको छैन ।

सहकारीहरुले पहिला ३ देखि ५ प्रतिशत सेवाशुल्क र २२ देखि ४२ प्रतिशत वा मिटरब्याजमा कर्जा प्रवाह गरे । साथै घरजग्गा, गाडी र शेयरलाई आँखा चिम्लेर कर्जा प्रवाह गरे । सय रुपियाँमा बैंकले निष्कासन गरेको शेयरलाई धितो राखेर २ हजारसम्म कर्जा प्रवाह गरे साथै सरकारले आनाको ५ लाख निर्धारण गरेको जग्गालाई धितो राखेर ४० लाखसम्म कर्जा दिए । र, २० रुपियाँ किलोमा ब्रिकी नहुने फलाम वा सवारीसाधनलाई धितो राखेर लाखौँ कर्जा दिए । तर यसमा पनि सहकारीका सञ्चालक, अध्यक्षहरुले घूस खाएर कर्जा प्रवाह गरे ।

उदाहरणका लागि १ लाख रुपियाँ धितो राखेर कर्जा दिएमा त्यसमा २० हजार यिनीहरुले घूस खाने गर्थे । पछिल्लो समय बजारमा मन्दी आएकाले एकवर्षअघि मात्र ३ हजार कित्तामा किनेको शेयर अहिले सय रुपियाँमा बिक्री हुदैँन, जसले गर्दा अहिले शेयरमा आफ्नो सम्पूर्ण लगानी गर्ने मानिसको घरमा रुवाबासी चलिरहेको छ । खरिद गर्ने कोही छैन भने बिक्री गर्न चाहने मानिस हजारौँ भेटिन्छन् ।त्यस्तै यता २ वर्षअघि मात्र ४० लाखमा किनेको जग्गा अहिले ३ लाखमा बिक्दैन र एकवर्षअघि २० लाखमा किनेको सवारीसाधन अहिले २ लाखमा बिक्री हुँदैन । सहकारीहरुले भने खाली यही घरजग्गा, शेयर र गाडीमा लगानी गरे ।

त्यसकारण पछिल्लो समय वित्तीय संस्थाहरुमा डिपोजिटहरुको लर्को लागिरहेको पाइन्छ । तर बैंकहरु भने डिपोजिटलाई पैसा निकाल्न नदिनका लागि मानिसअनुसार १४ देखि १८ प्रतिशत ब्याज दिन्छु भनिरहेका छन् । यता सहकारीहरु पनि मानिस अनुसार २० देखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर भनिरहेको कुरा पनि बजारमा सुनिन्छ । अहिले वित्तीय संस्थामा डिपोजिटहरु पैसा निकाल्न गएमा त्यहाँ पानी, चिसो खुवाउने र ब्याज बढाइदिन्छु मात्र भनिरहने भनेर जनता नै बताउँछन् । अहिले पनि कति सहकारीहरुले महँगो ब्याजको प्रलोभनमा जनताको पैसा बजारबाट उठाई नै रहेका छन् ।

सहकारीमा पैसा राख्ने मानिसहरु अहिले सहकारीमा गएर ब्याज चाहिँदैन बरु सावाँ मात्रै दिनुस् भनिरहेका छन् तर सहकारीहरु पैसा फिर्ता दिँदैनन् । पहिला एक सहकारीका एक बजार प्रतिनिधिले दिनहुँ बजारबाट १ लाखदेखि ३ लाखसम्म उठाउँथे भने अहिले दिनहुँ ३ देखि ५ हजारसम्म उठाउन सकिँदैन भनेर सहकारीकै कर्मचारी वा बजार प्रतिनिधिहरु बताउँछन् । सहकारीका कारण नै धेरै मानिसको पैसा डुब्दै छ र धेरै मानिस सुकुम्बासी हुँदै छन् ।
– रुषा थापा ।

प्रतिक्रिया दिनुहोस्