अराजकता र जटिलताको निर्मूल गर्ने गरी विधि निर्माण गर्न जरुरी : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले देशमा कानुन नभए अराजकता बढ्ने बताउनुभएको छ । जुन देशमा कानुन छैन त्यो देशमा अराजकता बढी हुने प्रदेश प्रमुख शेरचनले बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयले तयार गरेको वार्षिक प्रतिवेदन बुझाउनका लागि आज (बिहीबार) प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले अराजकता र जटिलताको निर्मूल गर्ने गरी विधि निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

अराजकताले मानव र राष्ट्रको कल्याण नहुने बताउँदै सबै क्षेत्रलाई न्यायालयले न्याय दिनुपर्ने प्रदेश प्रमुखको भनाइ छ । लुम्बिनी प्रदेशमा न्यायालयको क्षेत्रमा ६५ प्रतिशत सफलता हासिल भएको प्रतिवेदन आएकाले हाम्रो प्रदेशमा अन्यायपूर्ण काम नभएको भन्ने पुष्टि भएको बताउनुभयो । जनशक्तिविना कुनै काम सफल नहुने र जनतालाई सेवा दिन नसकिँने बताउँदै कर्मचारीको अभावले काम गर्न समस्याभएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले कानुनको अभावमा लक्ष्यअनुसार काम नभए पनि वार्षिक मुद्दातर्फ ६५ प्रतिशत सफलता मिलेको बताउनुभयो । उहाँले संघीय कानुन नबन्दा प्रदेशले पूर्णरुपमा अधिकार उपयोग गर्न नसकेको बताउनुभयो ।

कानुनी रायविनै गरिने फैसलामा सरकारले हार्ने गरेको भन्दै न्यायाधिवक्ता सुवेदीले कानुनी रायलिने व्यवस्था मिलाउन जरुरी रहेको औल्याउनु भयो । प्रदेशमा मुद्दाहरुको चांप बढेको जानकारी गराउँदै २४९ पटक अदालतमा उपस्थित भई पैरवी गरिएको जानकारी गराउनुभयो ।

मुख्य न्यायाधिवक्ता सुवेदीले लुम्बिनीप्रदेशमा १९ वटा विद्येयक र तीन वटा नियमावली मस्यौदा सम्बन्धित मन्त्रालयहरुमा पठाइएको जानकारी गराउनुभयो । मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा भएका गतिविधिलाई समेटेर तयार पारेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीको कार्यालयमा पठाइने कानुनी व्यवस्था छ । त्यसपछि मुख्यमन्त्रीको कार्यालयबाट मुख्यमन्त्रीले प्रदेश सभामा पठाउने र सभामा छलफल गराउनु पर्ने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्