सकियो भ्रष्टाचारविरुद्धको निशाना



कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा धनगढीस्थित कैलाली जनपुस्तकालयमा निसाना नाम दिई भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी गरिएको छ।

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले प्रदर्शनीको शुभारम्भ गर्दै भ्रष्टाचार अन्त्यका लागि सबैले पहलकदमी लिनुपर्नेमा जोड दिइन्। ‘मानिसले बोलेका विषयले क्षणिक रुपमा असर गर्छ। तर, कार्टुन, फिल्मलगायतले दीर्घकालीन रूपमै सुधार ल्याउन मद्दत पु-याउँछ’ .उनले कार्टुन, फिल्म, नाटक, साहित्यलगायतका सिर्जनात्मक पक्षले समाजलाई सही बाटोमा डोहो-याउन मद्दत पु-याउने चर्चा गर्दै भनिन्।

समारोहमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लक्षिराम आचार्यले भ्रष्टाचार सामाजिक अपराध भएकाले यसको अन्त्यका लागि राजनीतिक दल, सञ्चार माध्यम, नागरिक समाज, साहित्यकार, कलाकार एवं जनताले खबरदारी गरिरहनुपर्ने बताए। सिर्जनशील मञ्चका अध्यक्ष जनक रसिकले धनगढीमा पहिलोपटक कार्टुन प्रदर्शनी भएको जनाउँदै यो अभियानले खराब प्रवृत्तिविरुद्ध सशक्त आवाज उठाएको बताए।

क्लबका अध्यक्ष वासु क्षितिजले प्रदर्शनीमा नेपालका ३६ कार्टुनिस्टले तयार पारेका भ्रष्टाचारविरुद्ध सन्देश दिने ५० कार्टुन राखिएको जनाउँदै पछिल्लो समय विकाससँगै भ्रष्टाचार पनि तल्लो तहसम्म पुगेकोले जनप्रतिनिधि र नागरिकलाई सतर्क बनाउन सुदूरपश्चिम प्रदेशको धनगढीमा निसाना प्रदर्शनी गरिएको बताए। उनले गत वैशाख ४ गते काठमाडौंबाट सुरु भएको प्रदर्शनीको अन्तिम प्रदर्शनी शुक्रबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुगेर समापन गरिएको जानकारी गराए। ‘हामीले यसपटक भ्रष्टाचारविरुद्धमा निसाना गरेर यसलाई सांकेतिक रूपमा प्रदर्शनीमा ल्याएका हौँ। यो संकेतलाई वास्तविकतामा उतार्न सम्पूर्ण कार्टुनप्रेमी तथा भ्रष्टाचारविरोधी अभियन्ता एवं नागरिकमा आग्रह पनि गर्दछौँ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्