डाइरेक्टरलाई कोरियोग्राफीको नलेज भए धेरै राम्रो : देवेन्द्र पाण्डे



पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा रुचाइएको नाम बन्न पुगेको छन् देवेन्द्र पाण्डे। नयाँपूराना सबै गायक–गायिका वा तीनका गीतको म्युजिक भिडियोका निर्माताले सबैभन्दा पहिले खोज्ने नाम बनेको छन् धादिङका देवेन्द्र।राजेश हमाल, करिश्मा मानन्धरदेखि पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ, केकी अधिकारी, पूजा शर्माजस्ता दर्जनौं पुरानादेखि नयाँ अभिनेता अभिनेत्रीलाई समेत प्रभावकारी ढंगले प्रस्तुत गरेर म्युजिक भिडियोमा फरकपन भित्र्याउने श्रेष् पाएका देवेन्द्र करिब डेढ दशकदेखि यो क्षेत्रमा सक्रिय छन्।

परिवर्तन नेपाल र साधना कला केन्द्रबाट तीन वर्ष नृत्यको प्रशिक्षण लिएका देवेन्द्रले कोरस कलाकार हुँदै २०६६ सालबाट नृत्य निर्देशन गर्न थालेका हुन्। करिब चार-पाँच सय गीतमा कोरस कलाकारको रूपमा नृत्य गरेका उनले शिव शर्माका साथ केही समय सहायक निर्देशन गरेर नृत्य र नृत्य निर्देशनको क्षेत्रमा कुशल अनुभव बोकेपछि आफैँ म्युजिक भिडियो निर्देशन गर्न थालेका हुन्। म्युजिक भिडियो निर्देशन गर्दागर्दै २०७२ सालमा वान साइड लभ र २०७५ मा भिलेन नामक फिल्मसमेत निर्देशन गरेका उनले सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

सजिव र सशक्त म्युजिक भिडियो निर्देशन गरेरै सातों राप्ती म्युजिक अवार्ड, एघारौं विन्ध्यवासिनी म्युजिक अवार्ड र १२औं विन्ध्यवासिनी म्युजिक अवार्ड, पाँचौं राष्ट्रिय निम अवार्ड, दोस्रो स्पर्श म्युजिक भिडियो अवार्ड, सातौं नेसनल क्यापिटल म्युजिक अवार्ड फेसन अवाडर्, प्रथम एपिक म्युजिक अवार्ड, नवौं छायाँछवि तीज अवार्डलगायतका अवार्डबाट अवार्डेड तथा विभिन्न सांगीतिक सम्मानबाट सम्मानितसमेत भएका छन्। पछिल्लो समय मानिस ठूलो दिलले हुन्छ भन्ने गीति फिल्म निर्देशन गरेका उनीसँग गरिएको कुराकानी:

हाल के गर्दै हुनुहुन्छ?

अहिले म्युजिक भिडियो निर्देशनका लागि केही गीत आएका छन्। ती गीतका लागि स्टोरी बनाइरहेको छु। त्यसैको होमवर्कमा छु।

एकपछि अर्को गर्दै लगातार एकसे एक् म्युजिक भिडियो निर्देशन गरिरहनु भएको छ, कसरी यति धेरै काम गर्न सम्भव भएको छ?

दर्शक तथा प्रोड्युसरको मायाको कारण एकपछि अर्को काम भइरहेको छ। त्यसका साथै मेरो आफ्नो मेहनतको कारण पनि हो। मेरो मेहनत र मैले दिने क्वालिटीकै कारण काममा व्यस्त हुनु पाइरहेको छु। आउन त धरै भिडियोको अफर आउँछन्, तर म कस्तो खालको भिडियो बनाउने, गीतअनुसार भिडियोलाई न्याय गर्न सक्छु कि सक्दिनँ आदि कुरा विचार गरेर मात्र काम गर्ने गर्छु। यसो गर्दा हप्तामा तीन ओटासम्म भिडियो गर्ने गरेको छु।

कमाइ पनि राम्रो होला नि?

कामअनुसार कमाइ एकदम राम्रो छ। अरु निर्देशकको तुलनामा तपाईं महँगो डाइरेक्टरमा पर्नुहुन्छ भनेर प्रँयः मानिसले भन्ने पनि गर्नुहुन्छ। आफ्नो कामअनुसार महँगो पारिश्रमिक लिने गर्छु।

एउटा भिडियो राम्रो बन्नलाई के के कुरा महत्वपूर्ण हुन्छ?

राम्रो भिडियो बन्नका लागि पहिलो कुरा त्यसको अडियो (गीत) नै राम्रो हुनुपर्छ। त्यसपछि कथा कलाकार, बजेट, कलाकारको पहिरन आदि राम्रो भयो भने त्यो भिडियो राम्रो बन्छ। म जुनसुकै म्युजिक भिडियो बनाउँदा यी सबै पक्षलाई उत्तिकै महत्व दिन्छु। कुनै पनि कुरामा कम्प्रोमाइज गर्दिनँ।

एउटै मान्छेले निर्देशन र कोरियोग्राफी गर्दा गाहाे हुन्न?

अहँ हुँदैन। एउटा डाइरेक्टरलाई कोरियोग्राफीको पनि नलेज भयो भने त्यो त झन् धेरै राम्रो हुन्छ। सोचेभन्दा राम्रो रिजल्ट आउँछ।आफू डाइरेक्टर भएर कोरियोग्राफरलाई मेरो भिडियोमा यो डान्स गराऊ, त्यो स्टेप गराऊ भन्नुभन्दा पनि आफैँले आफ्नो थिमअनुसार त्यो काम गर्न सके सुनमा सुगन्ध हुन्छ। त्यसैले मलाई डाइरेक्सन र कोरियोग्राफी दुबै आफैँले गर्दा झन् सजिलो भएको छ। डाइरेक्सनले कारियोग्राफी र कोरियोग्राफीले डाइरेक्सनमा सहयोग भएको छ।

म्युजिक भिडियोमा गरेको लगानी फर्कर्ने सम्भावना कम छ, तर पनि लक डाउनपछि यसमा लगानी असाध्यै फस्टायो। मानिसले किन यसरी लगानी गरिरहेका छन्?

म्युजिक भिडियोको गरेको लगानी नफर्किने होईन, धेरै र थोरै भन्ने कुरा हुन्छ। युट्युव र अन्य डीजिटल प्लेटर्फम तथा स्टेज पर्फमेन्सबाट लगानी उठ्ने गर्छ। यहि कारणले पनि भिडियोमा लगानी बढेको हो। त्यसैले पनि मानिसहरुले हिजोआज फिल्मको गीतमा भन्दा पनि म्युजिक भिडियोमा दिल खोलेर धेरै लगानी गरिरहेका छन्।

एउटा राम्रो म्युजिक भिडियो बन्न कति खर्च लाग्छ?

खर्चको हिसाबमा म्युजिक भिडियो भनेको बिहेजस्तै हो। बिहे मन्दिरमा गएर थोरै खर्चमा गर्ने कि ठूलो खर्चमा राम्रोसँग गर्ने अथवा पाँचतारेमा गर्ने कि भनेजस्तै, म्युजिक भिडियोमा पनि ५० हजार देखि लिएर १५÷२० लाखसम्म खर्च गर्न सकिन्छ। कति खर्च गर्ने भन्ने कुरा आपैँमा भर पर्छ। मैेले गरेको भिडियोमा सबै भन्दा कम भनेको साँढे दुई लाखदेखि तीन लाख र बढीमा १२-१३ लाख सम्म खर्च भएको छ।

म्युजिक भिडियोको लागि प्रोड्युसर तथा कलाकारले देवेन्द्र पाण्डेलाई नै किन खोज्छन्?

मलाई धेरै गीतको भिडियोका लागि अफर आए पनि एकदमै छानेर मात्र काम गर्ने गर्छु। धेरैचोटी गीत सुनेर त्यसमा रिसर्च गरेर स्टोरी बनाउँछु। स्टोरी पनि धेरै टाइम लगाएर बनाउँछु। कथावस्तु चित्तबुझ्दो नभएसम्म काममा अघि बढ्दिन र टेक्निकल टिम पनि राम्रो बनाउँछु। मैले गर्ने मेहनतमा कहीँपनि चुक्दिनँ। त्यही कारण पनि मलाई खोज्नु हुन्छ सायद।

 

यति धेरै म्युजिक भिडियो गरि सक्नु भएको छ अब कस्तो खालको भिडियो गर्ने सोच छ?

मैेले गरेको भिडियोहरू सबै फरक किसिमका छन्। त्यसकाट केही न केही सन्देश पनि आउँछन्। म सधैं केही न केही नयाँ गरौँ भन्ने सोचको मान्छे भएकाले नयाँ कुरा दिन खोजिरहेको हुन्छु। मैले एउटै भिडियोमा सुपरस्टार र महानायकलाई खेलाएको छु। राजेश हमाल, करिश्मा मानन्धर र, पल शाह र पूजा शर्मालाई एकै भिडियोमा खेलाएको छु। त्यो गर्दा परक टेस्ट आयो। अबचाहिँ एउटा भिडियोमा राजेश हमाल, निखिल उप्रेती र विराज भट्टलाई खेलाउने र सँगै अनमोल केसी र पल शाहलाइ पनि सँगै राख्ने इच्छा छ। अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने खालको म्युजिक भिडियो निर्देशन गर्ने सोच पनि छ। हाम्रो देश कला संस्कृतिमा धनी भएकाले कल्चरलाई नै छोएर म्युजिक भिडियो निर्माण गर्नुपर्छ। विश्वमाझ चिनाउने खालको काम गरौँ भन्ने लागेको छ।

कोरस डान्सर हुँदै नृत्य निर्देशक र फिल्म निर्देशकसम्म हुँदाको फरक अनुभव के केछन्?

भोग्दै आउँदा धेरै कुराहरू फरक पाएँ। कोरस डान्सरको रूपमा काम गर्दा केही तनाव हुँदैनथ्यो। बोलाको ठाउँमा जाने, डान्स गर्ने, हिँड्ने मात्र थियो। तर, डान्स डँइरेक्टर भइसकेपछि कोरस कलाकारदेखि माथिल्लो आर्टिस्टसम्मलाई ह्यान्डल गर्न निकै गाह्रो हुन्छ। म्युजिक भिडियोमा काम गर्दा सबै किसिमको जिम्मेवारी डाइरेक्टरमाथि पर्छ। हिजोको दिनमा केही सहज थियो भने कोरोनापछि थप जिम्मेवारी बढेको छ।

फिल्म निर्देशनलाई पनि निरन्तरता दिनुहुन्छ कि?

फिल्मको अफर त अहिले पनि आइरहेका छन्। मेरो प्रायोरिटी भनेको म्युजिक भिडियो नै हो। म्युजिक भिडियोबाट समय बच्यो, राम्रो बजेट र कथावस्थतु आयो र मैले न्याय दिन सक्ने बजेट प-यो भने काम गर्ने सोच छ। लेटेस्ट मानिस ठूलो दिलले हुन्छ भन्ने गीति फिल्म गरेको छु। ट्रेलर लन्च भइसकेको छ।त्यस्तै, आँगन भन्ने नयाँ फिल्म पनि साइन गरेको छु। सबै तयारी सकेर छिट्टै फ्लोरमा जाने योजना छ।

हिरोआज राजेश हमालको साथ धेरै देखिनुहुन्छ उहाँसँगको व्यक्तिगत सम्बन्धले भिडियो निर्देशनमा सहयोग भइरहेको छ कि?

हिजोका दिनमा महानायकलाई देख्न पाए हुन्थ्यो भन्ने सोच्थें, आज उहासँगै सहकार्य गर्न पाउनु भाग्यको कुरा भएको छ। उहाँसँगै हुँदा म्युजिक भिडियोका लागि सल्लाह सुझाव दिनुहुन्छ। उहाँको मायाले धेरै राम्रो भइरहेको छ। उहासँग काम गर्दा आफूलाई पनि आनन्द लाग्छ र सधैं काम गरिरहाैँ भन्ने लाग्छ।

 

 

प्रतिक्रिया दिनुहोस्