एभरेस्ट फिल्म एकेडेमीका विद्यार्थीको तन्त्र



एभरेस्ट फिल्म एकेडेमीका विद्यार्थीहरूले तयार पारेको नाटक तन्त्रको राजधानीको बानेश्वर थापा गाउँस्थित कुञ्ज नाटक घरमा मञ्चन सुरु भएको छ। एभरेस्ट फिल्म एकेडेमीको प्रस्तुति रहेको नाटकमा कलाकार भोलाराज सापकोटाको निर्देशन तथा लेखन रहेको छ।

एकेडेमीकै विद्यार्थीले अभिनय गरिरहेको नाटकले मञ्चनको शुरुवातमै प्रशंसा पाएको छ। नाटक तन्त्रले मुख्यतया दुई विषय उठान गरेको छ। पहिलो लोकसंस्कृति अनि दोस्रो राजनीति। नजिकको तीर्थ हेलाँ भनेझैँ आफ्नै मौलिक संस्कृतिलाई बिर्संदै पश्चिमेली संस्कृति अँगाल्दा मौलिक पहिचान लोप हुँदै गइरहेको छ। यसै विषयलाई दृष्टिगत गरी गाउँघरमा घन्किने असारे भाका र खैजेडी भजनलाई नाटक तन्त्रमा उतारिएको छ।

बर्खे धान लगाउँदा खेतमा गाइने असारे भाका अनि सत्यनारायणको पूजाको साथै शुभकार्यमा राति गाइने खैजेडी भजनलाई नाटकमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ। नयाँ पिढीले यी बारेमा जान्ने, बुझ्ने र सिक्ने अवसर प्राप्त गरून् भन्ने उद्देश्यले नाटकमा मौलिक पहिचान र संस्कृतिका यी विषय समेटिएको नाटकका लेखक तथा निर्देशक भोलाराज सापकोटाले जानकारी गराए।

त्यसैगरी, पछिल्लो समयमा आप्mनो स्वार्थ पूरा गर्न कुनै कसुर नछोड्ने नेताहरू कति सम्म गिर्न सक्छन् भन्ने फोहोरी राजनितीलाई पनि नाटकको विषय बनाइएको छ। जनताले उनीहरूको फोहोरी राजनीतिलाई नकेलाई साथ र सहयोग गर्नाले उनीहरूलाई फाइदा हुने र जनता जहिल्यै थिचोमिचोमा पर्ने विषय पनि नाटकमा समेटिएको छ।

‘देशमा धेरै परिवर्तन भए, तर जनताले के पाए? पहिलेको कुनै तन्त्रदेखि अहिलेको तन्त्रसम्म हामी जनता कता छौँ । यही परिवेशमा आधारित छ, नाटक तन्त्र –लेखन तथा निर्देशन सापकोटा भन्छन्। दीपक कोइराला, सन्तोष बिष्ट, सुमन थापा, सोनीका शाही ठकुरी, लक्ष्मण केसी, मारिया कार्की, गोपाल महतरा, रोमर्श राय ठकुरी, योगेश खतिवडा र लेखनाथ विकले अभिनय गरिरहेका नाटक आगामी असोज ८ गतेसम्म चल्ने जनाइएको छ। नाटक हरेक दिन बेलुका साँढे पाँच बजे सुरु हुनेछ भने सोमबार बाहेक शनिबार दुई शो एक बजे र साँझ साँढे पाँच बजे मञ्चन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्