विद्या सागर स्कुलमा संस्कृतिसँग बालबालिका (तस्बिरसहित)



-कन्या कुमार पुजा, धिमे र लाखे नाच प्रस्तुत

काभ्रे । संस्कृति संरक्षण, मौलिकता सहितको पहिचान तथा ब्यवहारीक ज्ञान प्रदान गर्ने उदेश्यले बनेपामा रहेको विद्या सागर स्कुलले नेपालकै पुरानो र ऐतिहासिक महत्व बोकेको बनेपामा हुँदै आएको कन्या पूजालाई निरन्तरता दिएको छ । ‘लैङ्गिताका आधारमा समावेशी बनाउन कन्या कुमार पूजा गरिएको छ’–विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालले भन्नुभयो–‘कुमार र कन्यालाई एकै स्थानमा राखेर पूजा गरिँदा बालबालिकाहरुले समानताको महसुस गरेका छन् ।’

विद्या सागर स्कुलले बालबालिकाहरुले पाठ्क्रमको अलावा ब्यवहारीक ज्ञानसँग पनि जोडिरहेको छ । स्थानीय तहले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्क्रम अनिवार्य गरेसँगै स्थानीय कला, संस्कृति, ऐतिहासिक, धामिर्क तथा अन्य विषयका बारेमा बालबालिकाहरुलाई जानकारी गराउन सहज भएको विद्यालयका एकेडेमी को अर्डिनेटर सोमा श्रेष्ठले बताउनु भयो ।

‘कला र संस्कृतिको संरक्षणमा बालबालिकाहरुलाई सहभागि गराउनुका साथै धार्मिक र ऐतिहासिक पक्षका बारेमा ब्यवहारीक ज्ञान प्राप्त गर्न कन्या कुमार पूजा विद्यालयको बार्षिक क्यालेन्डरमा समावेश गरिएको हो’–एकेडेमी को अर्डिनेटर सोमा श्रेष्ठले भन्नुभयो–‘कक्षा ८ का बालबालिकाहरुले कन्या कुमार पुजाको परियोजना प्रस्तुत गर्नैछन् ।’

बनेपामा सातगाउँबाट आउने कन्याहरुलाई कृष्णअष्टमीको अवसरमा पुजा गरिदै आएको छ । कन्या पूजाको महत्व, विधी तथा प्रकृयाका बारेमा बालबालिकाहरुले थप जानकारी पाएको चिफ को अर्डिनेटर विनय मग्रातीले बताउनु भयो ।

कन्या कुमार पूजामा नर्सरी देखि कक्षा ४ सम्मका ३ सय ३१ जना बालबालिकाहरु सहभागि भएको इसिए को अर्डिनेटर नरेन्द्र प्रधानले बताउनु भयो । कन्या पूजामा विद्यालयका शिक्षक शिक्षिकाका साथै अभिभावकहरु सहभागि थिए ।

कन्या पूजा गर्दा नेवार समुदायले प्रयोग गर्ने विभिन्न पूजाका सामाग्रीका साथै विद्यार्थीहरुलाई आवश्यक पर्ने कलम कापी उपलब्ध गराईएको थियो । सोहि अवसरमा बालबालिकाहरुले धिमे बाजा प्रस्तुत गरेका थिए । धिमे बाजा बनेपाको कला र संस्कृतिको गहना हो ।

हरेक पर्व तथा विभिन्न अवसरमा धिमे बाजा प्रस्तुत गरिन्छ । बनेपाको शाही बाजा पनि बालबाकिलाहरुले प्रस्तुत गरेका थिए । उपत्यकामा हुने इन्द्रजात्राको अवसरमा प्रस्तुत हुने लाखे नाच पनि बालबालिकाहरुले प्रस्तुत गरेका थिए ।

पुस्तकमा भएका धेरै धर्म, संस्कृतिलाई ब्यवहारमा प्रस्तुत गरी बालबालिकाहरुलाई थप ज्ञान प्रदान गर्ने उदेश्यले विद्या सागर स्कुलले शुरु गरेको कन्या कुमार पूजाको तेश्रो वर्ष बालबालिकाहरुमा उत्साह भरिएको प्रिन्सिपल हिरा शर्मा नेपालले बताउनु भयो ।

कोभिड अघि विद्यालयले नियमित कन्या कुमार पुजा, हजुरबा हजुरआमा दिवस मनाउँदै आएको थियो । यो वर्ष पनि बुबाको मुख हेर्ने दिनको अघि पारेर विद्यालयले बालबालिकाहरुका हजुरबुबा हजुरआमा दिवस मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्