त्रिविमा लगाइएको ताला खोल्ने र बन्द गर्ने होडबाजी !



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगाइएको ताला अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले तोडेको छ । आज (आइतबार) अनेरास्ववियुले स्थानीयसँगको सक्रियतामा त्रिविमा महिनौँ पहिलेदेखि लगाइएको ताला तोडेको हो ।

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले महिनौँदेखि लगाएको ताला अनेरास्ववियुले आज तोडेको छ । तालाबन्दीका कारण त्रिविको प्रशासनिक तथा पठनपाठन लगायतका अन्य कार्य प्रभावित भएको भन्दै ताला तोडेको अनेरास्ववियु त्रिविका इञ्चार्ज मदन विष्टले जानकारी दिए ।

ताला तोडेको केहीबेरमै पुनः नेविसंघले लगाएको छ । उक्त संघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाको नेतृत्वमा पुगेको टोलिले तोडेको ताला फेरि लगाएको हो । अनेरास्ववियुका केही अराजकहरूले बन्द गरिएको ताला खोलेको अध्यक्ष शेर्पाले बताए । उनले आफ्नो संगठनले राखेका माग सम्बोधन नभएसम्म ताला नखोल्ने अडान लिँदै आएका छन् ।

यसअघि मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिविमा लगाइएको ताला तोडेको थियो । ताला तोडेकै भोलिपल्ट नेविसंघले पुनः लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्