जनताको पैसा डुब्नुमा सरकार नै जिम्मेवार



यतिखेर अधिकांश सहकारी समस्याग्रस्त छन् । सरकारको कारणले सहकारीमा भएको ९० लाख जनताको ९ खर्ब रुपियाँ डुब्ने अवस्थामा छ ।

सहकारीहरु बचतकर्ताको रकम कुम्ल्याएर भाग्दै छन् भने सञ्चालक र अध्यक्षलाई नेपाल प्रहरीले धमाधम समातिरहेको छ । जसले गर्दा बचतकर्ताको बिल्लीबाठ भएको छ । सहकारीमा राखेको पैसा फिर्ता माग्दा ब्याज त छोडौं सावाँ पनि नपाउने अवस्था छ । सम्बन्धित निकायले नियमन गर्दा पनि यस्तो अवस्था निम्तिएको स्पष्ट बुझिन्छ ।

यता, सहकारी विभागले समेत सहकारी डुबिसकेको भनेर घुमाउरो भाषामा भनेको छ । घर, जग्गा र शेयरमा लगानी रोक्न विभागले सहकारीलाई परिपत्र गरिसकेको छ । उता, जनतालाई पनि विभागले सतर्कता अपनाउन पहिले नै सुसूचित गरेको छ । निर्धक्कका साथ नबस्न र आफ्नो बचत भएको सहकारीको अवस्था बुझ्न विभागले खबर गरिसकेको छ । यदि सहकारीमा केही गडबड देखियो भने तत्काल रकम निकाल्न पनि विभागले जानकारी गराएको छ ।

पछिल्लो समय अधिकांश सहकारी भागिसकेका छन् । बचतकर्ताको बिचल्ली बनाएर रातारात टाप कस्ने काम भइरहेको छ । यता, सहकारीका सञ्चालकको नौटंकी पनि शुरु भएको छ । आफ्नो भवन भएको उल्लेख गर्दै उनीहरुले बहानाबाजी गरिरहेका छन् । हाम्रो यत्रो भवन छ, हामी कहाँ भाग्छौं भनेर धमाधम पैसा लिन आउनेलाई फर्काउने काम भइरहेको छ । घर देखाउने अनि जनताको पैसा नदिने । घरको मूल्यभन्दा धेरै बचत जनताको होला । भवन देखाएर जनताको दुःखजेलो गरेर कमाएको पैसा कुम्ल्याउने खोजिएको छ ।

सहकारी विभागका अनुसार मुलुकभर ३५ हजार २३९ सहकारी दर्ता छन् । तीमध्ये कतिवटा त भागिसकेका छन् । अहिलेको स्थितिलाई नियाल्ने हो भने ९५ प्रतिशत सहकारी धराशायी बनेका छन् । आज खुल्ला छ, भोलिदेखि बन्द हुन्छ । घर बहाल तिर्न सकेका छैनन्, कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् । सहकारीको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ । यस्तो अवस्था निम्तिदा पनि सहकारी विभागले दैनिक पैसा लगेर नराख्न जनतालाई निर्देशन दिएन । घुमाउरो पारामा सहकारीको अवस्था बुझ्न भनियो तर पैसा राख्न प्रतिबन्ध लगाइएन ।

यसो हेर्दा विभाग पनि व्यवसायीको पक्षमा उभिएको देखिन्छ । सहकारीको कारणले कतिपयको टाउकोबाट छत खोसिएको छ । सहकारीकै कारणले आत्महत्या गर्ने दिन पनि नआउला भन्न सकिन्न । वर्षौदेखि अलिअलि गरेर जम्मा गरेको रकम डुबेपछि जनताको अवस्था कस्तो होला ? अझै पनि यसतर्फ सरकारले चासो दिएको छैन । सहकारीलाई जनताले नपत्याएपछि र सहकारी डुबिसकेको कुरा बजारमा फैलिसकेपछि सहकारी महासंघले पनि नाटक देखाइहाल्यो ।

जनताको विश्वास जित्नका लागि आफ्नो कार्यक्रममा भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई ल्याएर उद्घाटन गराए । सहकारीले गर्दा जनताको घरमा रुवाबासी चलेको छ । उनीहरुको रातको निद्रा र दिनको भोक हराएको छ । तर, त्यस्ता सहकारीलाई कारबाही गर्नुको साटो मन्त्री शशी श्रेष्ठले तिनकै कार्यक्रममा सहभागिता जनाइन् । आज जनताको यस्तो हालत हुनुमा मन्त्री श्रेष्ठको पनि उति नै हात छ । जनता ठग्ने र लुट्ने सहकारीको कार्यक्रममा जान नैतिकताले दिन्छ ?

सहकारी अनुगमन गर्ने जिम्मा वडा र नगरपालिकाले पाएको छ । तर, वडाध्यक्ष र मेयरले सहकारी अनुगमनमा चासो दिएका छैनन् । आफन्त मिलेर खोलेको सहकारी आज चुर्लुम्मै डुबेका छन् । सरकारले पनि सहकारीलाई जनता ठग्ने प्रमाणपत्र दिएको छ । घाटा भए पनि कतिपय सहकारीले नाफा देखाउनका लागि साधारणसभा गरिरहेका छन् ।

नक्कली विवरण देखाएर अझै पनि ठग्ने काम भइरहेको छ । नाफाको प्रलोभनमा पारेर जनताबाट पैसा असुल्नतिर सहकारीहरु लागिपरेका छन् । सहकारीको हातमा पैसा पुग्यो कि त्यो फिर्ता हुँदैन भनेर जनताले अब बुझे हुन्छ । हरेक तीन महिनामा ब्याज दिने सर्तमा पैसा राखेको हुन्छ तर एक महिनासम्म पनि उनीहरु चिल्लै छन् ।

नाफा देखाउनका लागि कर्मचारीलाई पोशाक दिने र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने । उता, साधारणसभामा ठूलो भोज दिन्छन् भने नाफा देखाउनका लागि अनेक थरी योजना बनाउँछन् । तर, त्यही लोभमा परेर बचत गर्नेहरुको सावाँ नै डुब्यो । सहकारीमा पैसा राख्नेहरुले अहिले निकै गतिलो जागिर पाएका छन् । बिहान खाना खाएर सहकारीमा गएर लाइन लाग्यो । पैसा पाउने आशमा दिनभर भोकै कु-यो । बेलुका खालि हात फर्कियो । यो बचतकर्ताको दिनचर्या बनेको छ ।

सहकारीहरुले व्यक्ति हेरेर १३ देखि २२ प्रतिशतसम्म ब्याज दिएको पाइन्छ । एउटै सहकारीमा फरक–फरक ब्याजदर छ । सहकारीले जनतालाई तनाव दिएको छ । आफ्नो श्रीसम्पत्ति डुब्ने डरले जनतालाई कहाँ जाऊ र के गरुँ भइरहँदा जिल्लाको सिडियो कार्यालय टुलुटुलु हेरेर बसेको छ । २५ जना मिलेर थोरै पुँजी राखी सहकारी दर्ता गरे । बजारबाट पैसा उठाए अनि जथाभावी लगानी गरे । जुन उदेश्यका लागि सहकारी खोलिएको थियो त्यसको विपरीत काम भयो । घर, जग्गा र शेयरमा लगानी गर्नु नै गलत साबित भयो । यी क्षेत्र सबै गुन्द्रुकको भाउमा आएको छ ।

किनबेच ठप्प छ भने बजारमा मन्दी आएको छ । जनताले राखेको बचत आफूखुशी रुपमा जग्गा किनेर धमाधम प्लानिङ गर्ने, सहकारी सञ्चालक । सञ्चालक भएर दलालीको भूमिका निर्वाह गरेपछि सखाप हुने नै भइहाल्यो । जग्गाबाट आएको नाफा सबै आफू खाने अनि बचतकर्तालाई चाहिँ थोरै ब्याज दिने । अहिले यस्तो अवस्थामा आइपुग्नुमा उसको आफ्नै गल्ती छ । सहकारीका सञ्चालक र अध्यक्षको अत्तोपत्तो छैन, कर्मचारी मात्र भेटिन्छन् ।

सम्बन्धित व्यक्ति भए पनि जनतालाई भुल्याउने काम मात्र गरिरहेका छन् । चिसो, तातो खुवाउने अनि नानाथरी गफ गरेर फिर्ता पठाउने । कोरोनाका कारण व्यापारीहरु शिथिल बनेका छन् । सहकारीबाट ऋण लिएर व्यापार गरेकाहरुले किस्ता तिर्न सकेका छैनन् । उनीहरु घाटामा छन् । ऋण लिएको मान्छेले किस्ता नतिर्नेबित्तिकै सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न र कर्मचारीलाई तलब खुवाउन पनि गाह्रो प¥यो । व्यापारी डुबेसँगै सहकारी पनि डुब्यो । तर, यसको सीधै मार जनतालाई प¥यो । अहिले बजारमा पैसा उठाउनेहरु निकै न्यून छन् ।

पहिले एउटै बजार प्रतिनिधिले दैनिक एक लाख बढी उठाउँथे । तर, अहिले उनीहरु ६–७ हजारमै खुम्चिएका छन् । जनताले पैसा राख्न छोड्नुको एउटै कारण विश्वसनीयता गुमाउनु हो । सहकारी क्षेत्र सञ्चालनमा आएको तीन दशक बित्यो । सहकारी आउनेबित्तिकै घर, जग्गा र शेयरको मूल्य बढ्यो । सहकारीले महँगो ब्याज दिनेबित्तिकै मूल्य रातारात बढ्यो । तर, हामीले जोखिमपूर्ण क्षेत्रमा लगानी ग-यौं भनेर सहकारीका सञ्चालनकर्ताले सोचेनन् ।

उनीहरुले तत्कालको अवस्था हेरे तर भोलिको बारेमा सोचेनन् । जहिल्यै नाफा हुन्छ भन्ने सपना देख्न थालियो । सधैँ एउटै अवस्था रहँदैन, कुनै दिन गिरावट पनि आउन सक्छ भनेर कल्पना गरिएन । एउटै घरमा पाँचवटासम्म सहकारीको बोर्ड छ । च्याउ उमारेझैँ सहकारी खोल्न दिनुले जनताको हाल बेहाल भयो । यसमा सरकारकै ठूलो हात छ । अझै पनि कतिपयले नबुझेर पैसा राखिरहेका छन् तर यो क्रम रोकौं ।
– पवित्रा बराल ।

प्रतिक्रिया दिनुहोस्