कष्टकर वैदेशिक रोजगार र नेताको रजाइँ



नेपालबाट रोजगारीका लागि दिनहुँ हजारौँ नेपाली मलेसिया गइरहेका छन् । मलेसिया जाने नेपाली नागरिकसँग मेनपावर कम्पनीहरुले एक जनाबराबर साढे ३ लाखदेखि ४ लाखसम्म लिइरहेका छन् । यिनीहरुले पैसा लिन्छन् तर भौचर दिँदैनन् ।

पैसा बुझाएपछि भौचर पाउनुपर्ने जनताको अधिकार हो तर भौचर दिएमा आफू तल परिन्छ वा कानुनको दायरामा परिन्छ भनेर भौचर दिँदैनन् । मलेसिया जाने भनेको आर्थिक कमजोरी, अशिक्षित, गाउँका गरिब मानिसहरु हुन् ।

यस्ता सीधासाधा जनतालाई यस्ता कम्पनीहरुले लुटिरहेका छन् । खै त राज्य वा सरकार ?
नेपाल सरकारले केही वर्षअघि मलेसिया जाने नागरिकका लागि फ्री टिकट र भिसा भनेर निर्णय गरेको थियो । साथै मेनपावर कम्पनीले मलेसियामा काम गर्न जाने मानिससँग १० हजारभन्दा बढी रकम लिन नपाइने पनि भनेको थियो । तर अहिले यी कम्पनीहरुले एकजनासँग मलेसिया गएबापत ४ लाख लिँदा सरकार किन चुप लागेर बसिरहेको छ ?

मेनपावर कम्पनीले हामीलाई यति धेरै पैसा लिएर ठगेको भन्दै हिँडेका मानिसहरु चोकचोक र चियापसलहरुमा भेटिन्छन् । उजुरी दर्ता गरेपछि कारबाही नगरिएको कुरा कतिको मुखबाट सुनिन्छ । मेनपावरले पहिला पैसा लिने समयमा एक महिनामा मलेसिया पु¥याउँछु भनेर लिन्छन् तर पैसा र पासपोर्ट लिएको ३ देखि ६ महिनासम्म पनि विदेश पठाउँदैनन् । गाउँका आर्थिक कमजोर भएका मानिसहरु आफ्नो खेतबारी बेचेर, धितो राखेर वा मिटर ब्याजमा पैसा लिएर मलेसिया जान मेनपावरमा पैसा बुझाउँछन् तर भनेको समयमा उनीहरु जान सक्दैनन् ।

यता नेपाली नागरिकसँग सरकारलाई कर प्राप्त भइरहेको छ भने उता नेताहरुलाई भोट पाउने व्यवस्था मिलिरहेको छ । नेपालीहरु जन्मिएको मितिले १६ वर्ष पुगेपछि नागरिकता र पासर्पोट बनाउँछन् कोही पैसा हुने अमेरिका, अस्ट्रेलिया पुग्छन् भने कोही आर्थिक कमजोरी भएकाले बाध्यताका साथ मलेसियातिर लाग्छन् । नेपाली नागरिकहरु १ करोडभन्दा बढी कामका लागि बाहिरी मुलुकमा रहेका छन् ।
साथै यी कम्पनीहरुले पहिला पैसा लिँदा काम राम्रो भएको र तलब पनि बढी हुने बताउने गर्छन् तर त्यहाँ गएपछि काम पनि जटिल र तलब पनि कम हुने गर्छ ।

मेनपावरहरुले जनता महँगो मूल्यमा बिक्री गरेर आफू कमाइरहेको आभास भएको छ । ती देशहरुमा घामपानी, दिनरात नभनी उनीहरुले काम गरेर आफ्नो मुलुकमा पैसा पठाउँछन् तर यहाँ त्यही पैसा सरकारले सरकारी कर्मचारी र नेताहरुलाई तलबभत्ता र गाडीमा खर्च गर्ने गर्छ । अहिले घरैपिच्छेजस्तो युवाहरु विदेश गएका छन् । गाउँदेखि शहरसम्म बच्चा र बूढा मानिसमात्र भेटिन्छन् । अहिले त आफ्नै आमाबुबा मरेमा पनि शव जलाउनका लागि छोराछोरी यता हुँदैनन् ।

नेपालमा नै नेपालीलाई विदेश पठाउने नाममा मेनपावर कम्पनीले पैसा र पासर्पोट लिएर ठगिरहेको छ । तर तिनीहरुलाई कारबाही गर्न र न्याय दिन त श्रममन्त्रीले सकेका छैनन् भने विदेशमा अन्यायमा परेर मरेका मानिसहरुको शव झन् कसरी ल्याउन सक्छन् ? एक नेपाली नागरिकले विदेश गएर फर्किंदा एक नेपाली नागरिक मरेको शव ल्याएमा उसले सञ्चारकर्मीलाई एयरपोर्टमा बोलाएर सरकारले गर्न नसकेको काम मैले गरें भनेर प्रचारप्रसार गर्छ ।

यो कुराभन्दा लाजमर्दो अरु के हुन सक्छ र सरकार ! अहिले पनि कति नेपालीहरु काम गर्दा नै विदेशमा मरेका हुनाले नेपालमा उनीहरुको लास आउन पाएको छैन भने कति नेपालीहरु काम गर्ने सिलसिलामा गल्ती नै नगरी विदेशी जेलमा बसिरहेका छन् तर उनीहरुलाई सरकारले छुटाउन सकेको छैन । यदि नेपाल सरकारले नेपालीलाई नेपालमै रोजगारीको व्यवस्था मिलाएको भए आज नेपालीहरु विदेशी जेल र मर्ने समयमा पनि विदेशमा नै मर्नुपर्दैनथ्यो ।

अहिलेसम्म पनि विदेशमा मरेका नेपालीको शव ल्याउन र जेलमा बसेका मानिसहरु ल्याउन राष्ट्र, प्रधानमन्त्री र श्रममन्त्रीले केही पहल गरेका छैनन् । नेपालीहरु बाहिरी मुलुकहरुमा गएर काम गर्दा अरु मुलुकहरु धनी हुन्छन् भने हामी काम गर्ने नेपाली अदक्ष हुन्छौँ । नेपालको खेतयोग्य जमिनहरु खण्डीकरण वा प्लानिङ गरेर बाटो र घर बनाएर सकिसकेको छ । अहिले नेपालमा जनसंख्या वृद्धिदर उच्च रहेको छ तर कमाइ खानका लागि जग्गा छैन ।

नेपालीहरु विदेश गएर आफन्तलाई पैसा पठाउँछन् र त्यही पैसाबाट नेपालमा भएका मानिसहरुले बाहिरी मुलुकबाट आएको खाद्यान्न किनेर खान्छन् । यसरी विदेशबाट कमाएर पठाएको मुद्रा फेरि पनि विदेशतिर नै फर्कन्छ । नेपालको जनशक्ति पनि अब बिस्तारै–बिस्तारै बाहिरी मुलुकले लग्छ भने आर्थिक वा नेपाली मुद्रा पनि सबै लग्नेछन् ।नेपालीहरुसँग नेपालमा नै व्यापार व्यवसाय गर्नका लागि पैसा छैन । बैंक, फाइनान्सहरुले पनि कर्जा प्रवाह गर्दैनन् । यहाँ बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने मानिसहरु पनि राजनीतिक दलले चन्दा मागेर धुरुक नै रुवाउँछन् भन्छन् ।

मरुभूमि भएको देशमा आज नेपाली नागरिकहरु काम गर्न गएर त्यहाँ सबै विकास भयो तर यहाँको सबै जग्गाजमिन बाँझो नै रह्यो । नेपालीहरुले अरुको मुलुक विकास गरे तर आफ्नो देश बिगारे । मेनपावर कम्पनीहरुले यसरी जनतासँग महँगो पैसा लिएर ठग्दा श्रममन्त्री चुपचाप छन् । उनी जनतासँग बढी रकम लिने मेनपावर कम्पनीलाई कारबाही गर्नुको साटो यीनीहरुसँग नै मिलेका छन् । अहिले राजनीतिक पार्टीहरुले जति ठूला कुरा गरे पनि जनताको लागि केही काम नगर्ने, जनताले नै तिरेको करबाट तलबभत्ता खाने र विदेशीसँग महँगो ब्याजमा पैसा लिने मात्र गर्छन् । सरकारी कर्मचारीलाई सरकारले जति तलब बढाए पनि घूस खान नछोड्ने, काम नगर्ने तर आन्दोलन भने धूमधामसँग गर्ने गर्छन् । सरकारी कर्मचारीले गर्दा आज देश र जनता डुबे ।

यिनीहरुको केही काममा योगदान नभए पनि जनता र राष्ट्र डुबाउनुमा चाहिँ योगदान रहेको छ । नेपाल अहिले विदेशी ऋणमा चुर्लुम्म डुबिसकेको छ । नेता र सरकारी कर्मचारीले कमाएको कालो धन सबै विदेशी बैंकहरुमा छ । यता नेपालका नेताहरु आफ्नो फाइदाका निम्ति छिमेकी मुलुकसँग जस्तो पनि सम्झौता गर्छन् र राष्ट्र र जनतालाई दुःख दिन्छन् । सरकारी कर्मचारीले जागिर खाएको ५ वर्षमा जग्गा किनेर घर बनाउँछन् । यता नेताहरु भने जहिले पनि जनताको लागि काम गरेको भन्छन् तर काम गरेको देखिँदैन । उता उनीहरु २ देखि ३ रोपनी जग्गा किनेर महलजस्तो घर बनाई करोडौँको गाडीमा चढ्छन् तर जनताका लागि केही गर्दैनन् ।

केपी ओली, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनालहरुले राजनीतिको नाममा भ्रष्टाचार गरेर कमाएको देख्दा अरु पनि राजनीतिमा आउने क्रम बढ्दो छ । रवि लामिछाने पहिला पैसा कमाउन नेपाल छोडेर अमेरिका पुगेका थिए तर आज अमेरिकामा भन्दा नेपालमा बढी कमाइ हुने देखेर नेपाल भित्रिए । उनले नेपालमा आएर केही समय पत्रकारिता पेसा अपनाए तर यस पेसामा भन्दा बढी आम्दानी राजनीतिमा देखेपछि उनी पनि त्यता लागे । अब जनताले नेपालका नेताको खोक्रो भाषणमा विश्वस्त हुनुहुँदैन ।

पछिल्लो समय नेपालमा पैसा कमाउन सबैभन्दा सजिलो नै राजनीति भएको छ । यसमा कुनै लगानी पनि गर्नुपर्दैन, मेहनत पनि गर्नुपर्दैन । हावा भाषण गरेमा नेता बनी सजिलै पैसा कमाउन सकिन्छ । अहिले राजनीति सेवा नबनाई व्यापार बनिरहेको छ । यस्ता नेताहरुले अझै पनि नेपालीलाई नेपालमा नै रोजगारी दिन्छन् भनेर जनताले कसरी पत्याउने ?
– रुसा थापा ।

प्रतिक्रिया दिनुहोस्