ट्याक्सी व्यवसायीको मनपरि



काठमाडौँको थापाथलीस्थित प्रसूति गृह अस्पतालमा एकजना सुत्केरी डिस्चार्ज भएर घट्टेकुलोमा घर जानका लागि आफन्तसँग दिउँसोको १२ बजेतिर ट्याक्सी कुरिरहेकी थिइन् ।

तर कुनै पनि टयाक्सीले मिटरमा बिरामी वा सुत्केरी बोकेर घट्टेकुला जान मानेन । त्यस ठाउँमा तीनवटा टयाक्सी पार्किङ गरेर बसिरहेका थिए । ती तीनवटा ट्याक्सीलाई उनले मिटरमा घट्टेकुला लगिदिनू भनेर आग्रह गरिन् तर कसैले मानेनन् ।

प्रसूति गृह अस्पतालबाट अनामनगर हुँदै घटटेकुला जानका लागि बढीमा ३ कि.मि.को बाटो छ । यो ३ कि.मि. रोडमा सरकारले निर्धारण गरेको मूल्य २ सय रुपियाँ पनि छैन भने ट्याक्सी चालकले थापाथलीबाट त्यहाँ गएको ६ सय रुपियाँ माग्यो । ट्याक्सीमा यात्रु चढ्नेबित्तिकै ५० रुपियाँ आउँछ । तर प्रत्येक कि.मि. ५० रुपियाँ भाडा सरकारले निर्धारण गरेको छ । यता पठानमार्फत ट्याक्सीमा पनि शुरुमै १७७ रुपियाँ तिर्नुपर्छ ।
यसरी कुनै पनि ट्याक्सीले मिटरमा लग्न नमानेपछि ६ सयबाट ५ सय रुपियाँ उनी गन्तव्यमा गइन् । यसरी ट्याक्सी व्यवसायीहरूले जनता ठगिरहेका छन् । यता ट्याक्सी मिटरमा यात्रु बोक्न मान्दैन र यात्रुले भनेको ठाउँमा जान पनि मान्दैन । नागरिक अहिले ट्याक्सी व्यवसायीहरूबाट पीडित भएका छन् । यता ट्राफिक महाशाखा प्रमुख मीरा चौधरीले पनि मिटरमा यात्रु नबोक्ने र बढी भाडा लिने ट्याक्सीलाई अनुगमन गरी कारबाही गर्दिनन् । उता ट्याक्सी व्यवसायीहरू नागरिकलाई लुटिरहेका छन् ।

ट्याक्सीहरु अस्पतालअघि वा बाटोमा पार्किङ गरेर बस्छन् तर मिटरमा यात्रु बोक्न भने मान्दैनन् । यात्रुले ट्याक्सीले मागेको जति भाडा तिर्छु भनेपछि मात्र ट्याक्सीमा चढ्न पाइन्छ ।विदेशी तथा स्वदेशीहरूलाई ट्याक्सी व्यवसायीहरूले दिउँसो नै रात बनाएर ठगिरहेका छन् । यात्रुलाई यस्तो नराम्रोसँग ठग्ने ट्याक्सीहरुलाई यातायात व्यवस्था विभाग, नापतौल विभाग र ट्राफिक महाशाखाले पनि अनुगमन गरेको छैन । ट्याक्सी कालो प्लेटमा दर्ता हुन्छ, मिटरजडान हुन्छ र यो भाडाको गाडी हो । तर पनि चालकले भनेजति तिर्छु नभन्दासम्म यात्रु ट्याक्सीमा चढ्न पाउँदैनन् । ट्याक्सीको भाडा सरकारले निर्धारण गरे तापनि ट्याक्सी चालकहरुले भनेजति पैसा नदिएसम्म ट्याक्सी चढ्न पाइँदैन । ट्याक्सीको भाउ ट्याक्सी चालकको जिब्रोमा रहेको हुन्छ ।

विदेशी र गाउँबाट आएका त यिनीहरुले देख्नु नै हुँदैन । २ सयको बाटोमा हजार लिन्छन् । ट्याक्सीको यस्तो ठगीधन्दाले जनता ठगिँदा पनि सरकार कानमा तेल हालेर बसिरहेको छ । ट्याक्सी मात्र मिटरजडान भाडाको गाडी हो । सरकारले फो स्टक तीन पाङग्रे हुटवाला मिटरजडान टयाम्पोको पनि नयाँ दर्ता खोलेको छैन । अहिले ट्याक्सी चढ्नेबित्तिकै ५० आउँछ र त्यो ५० लाई शून्यबाट चलाउँछु, ट्याम्पो प्रत्येक कि.मि. १५ रुपियाँ र ट्याक्सी २० मा चलाएर जनतालाई सेवा प्रदान गर्छु भन्दा पनि सरकार नयाँ टयाम्पो र ट्याक्सीको नयाँ दर्ता खोल्दैन ।

अहिले भएका ट्याक्सी व्यवसायीहरू आफू पनि जनतालाई सस्तोमा सेवा प्रवाह गर्दैनन्, नयाँ ट्याक्सीको दर्ता पनि खोल्न दिँदैनन् । यिनीहरु रोड कब्जा गर्ने, सिन्डिकेट लगाउने र जनता ठग्ने काम मात्रै गर्छन् । सरकारले अब नयाँ ट्याम्पो वा ट्याक्सीको दर्ता खोल्ने हो भने ट्याक्सी व्यवसायीहरुको जनता ठग्नेधन्दा र दादागिरी बन्द हुनेछ । जनतालाई पनि सहज र छिटो ट्याक्सीको सेवा पाउने व्यवस्था मिल्नेछ ।
सरकारले फो स्टक ट्याम्पोको दर्ता खोलेमा पैसा नहुने वा ट्याक्सी नजाने ठाउँमा यो ट्याम्पोबाट नागरिकले सेवा प्राप्त गर्न पाउँछन् ।

तर किन सरकारले खुल्ला प्रतिस्पर्धा गर्न दिँदैन ? किन सरकार जनतालाई सजिलो र राम्रो हुने काम गर्दैन ? सरकारले यसरी ट्याक्सी व्यवसायीहरुलाई आफ्नो मनोमानी गर्न दिँदा आज ट्याक्सी व्यवसायीहरू सरकारभन्दा माथि पुगेका छन् । सरकार ट्याक्सी व्यवसायीको अघि निरीह बन्दा राष्ट्र र जनताले दुःख पाएका छन् । एकातिर बिरामी तथा हतार भएको अवस्थामा ट्याक्सी पनि नपाइने, चक्रपथबाहिर पनि ट्याक्सी पाइँदैन र भक्तपुरमा पनि ट्याक्सी पाइँदैन । ट्याक्सी सबै न्युरोडमा रहेका हुन्छन् । तर त्यहाँ पनि ट्याक्सी चालकले भनेजति पैसा तिरेमा मात्र यात्रुले ट्याक्सीबाट सेवा पाउँछन् ।

यसरी ट्याक्सी व्यवसायीहरूले सिन्डिकेट लगाएर जनता ठग्दा र सञ्चारकर्मीहरुले कलम चलाउँदा पनि सरकार सुनेर पनि नसुनेको जसरी बसिरहेको छ । ट्याक्सीबाट जनता ठगिन बचाउनुपर्छ र नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्छ भन्ने कुरामा प्रदेश र संघीय सरकार कुनैको ध्यान जाँदैन ।यता टयाक्सीहरुले मिटरमा यात्रु नबोक्ने, यात्रुले भनेको ठाउँमा नजाने, राम्रो बोलीवचन यात्रुसँग नगर्ने गर्दा पनि ट्राफिक महाशाखा निरीह भएर बसिरहेको छ । कैयौँ मानिस बिरामीले फिटफिटी भएका हुन्छन्, कति हतार हुन्छन् भने कतिले भएको सम्पूर्ण पैसा अस्पतालमा खर्च गरेका हुन्छन् र ट्याक्सीलाई दिने भाडा हुँदैन तर पनि ट्याक्सी व्यवसायीहरुसँग मानवता र जनताप्रति इमानदारिता हुँदैन । अहिले भएका ट्याक्सी व्यवसायीहरू कुनै पनि जनताप्रति जिम्मेवार रहेका छैनन् ।

ट्याक्सी भाडा धेरै महँगो हुने भएकाले जनता ट्याक्सी चढ्नबाट नै डराउँछन् । उनीहरू जतिसुकै हतार भए तापनि बसमा नै जाने गर्छन् । के ट्याक्सी चढ्न पाउने अधिकार गरिबलाई छैन ? के उनीहरू नेपाली जनता होइनन् ? सरकार र ट्याक्सी व्यवसायीको कारणले गर्दा आज गरिबहरू ट्याक्सी चढ्नबाट वञ्चित भएका छन् । सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा ट्याक्सी व्यवसायीहरू मालामाल भएका छन्, देश र जनता अन्योलमा परेका छन् । सरकारले नयाँ ट्याक्सी र टयाम्पोको दर्ता खोल्ने भनेमा ट्याक्सी व्यवसायीहरू सरकारको अगाडि आन्दोलनदेखि ट्याक्सी तेस्र्याउनेसम्म गर्छन् ।

अब सरकारले नयाँ ट्याक्सी र ट्याम्पो दर्ता खोली आन्दोलन गर्ने ट्याक्सी व्यवसायीको रोडपर्मिट र दर्ता खारेज गर्नुपर्छ । उपत्यकाभित्र जम्मा ९ हजार ट्याक्सी रहेका छन् । यहाँ ७७ वटै जिल्लाका मानिसहरू विभिन्न सेवा–सुविधा वा कामका लागि आउने गर्छन् । विदेशीहरू पनि घुम्न यहीँ आउने गर्छन् । जनसंख्या उपत्यकामा करोडौँ रहेको छ तर ट्याक्सी भने जम्मा ९ हजार मात्रै रहेका छन् ।ट्याक्सीको रोडपर्मिट उपत्यकाभित्र मात्र रहेको छ । उपत्यकासँगै जोडिएको काभ्रे जिल्लामा बिरामी हुँदा ट्याक्सी पाइँदैन । सरकारले सिन्डिकेट हट्यो भनेर ठुल्ठूला भाषण गरे पनि अहिलेसम्म सिन्डिकेट हटेको पनि छैन र खुल्ला प्रतिस्पर्धा पनि भएको छैन ।

सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दिएमा सित्तैमा नम्बरप्लेट, नयाँ व्यवसाय शुरु गर्न पाइने, राजस्व आउने, खुल्ला प्रतिस्पर्धा हुने र जनतालाई पनि सस्तो र राम्रो हुने गर्छ । तर अहिले सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा २० वर्ष पुराना ट्याक्सीको नम्बरप्लेट १२ लाखमा खरिद बिक्री हुन्छ । यसले गर्दा खुल्ला प्रतिस्पर्धा पनि भएन र एउटै व्यक्तिले ४० वर्षसम्म व्यवसाय गर्ने गर्छ । अहिलेसम्म ट्याक्सीको संख्या बढ्न पाएको छैन ।

एयरपोर्टमा २०५० सालदेखि ट्याक्सीको दर्ता खोलेको छैन र त्यहाँ २०७ वटामात्र ट्याक्सी छन् । एयरपोर्टबाट ठमेलसम्म गएको ५ हजार रुपियाँ लिइन्छ । यसरी विदेशी र स्वदेशीहरु ट्याक्सी व्यवसायीबाट ठगिइरहेका छन् । जनसंख्या बढ्यो तर अहिलेसम्म ट्याक्सीको संख्या बढेको छैन । त्यसकारण अब सरकारले जनतालाई सस्तो र राम्रो हुने गरी नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्छ । यसले गर्दा राज्यलाई पनि राजस्व आउँछ र ट्याक्सी व्यवसायीको ठगी धन्दा पनि बन्द हुन्छ ।
– कविता केसी ।

प्रतिक्रिया दिनुहोस्