पर्वतमा रासायनिक मलको अभाव



पर्वत।

रासायनिक मल बिनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निराश बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरू चिन्तित बनेका हुन् ।

बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् । पर्वतमा पर्याप्त मल आयात नहुँदा कृषकले आवश्यकताअनुसार मल पाउन नसकेका हुन् ।

जिल्लामा मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्रले मागअनुसार मल नआउँदा कृषकलाई आवश्यकताअनुसार वितरण गर्न नसकिएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा वर्षेनी एक हजार टन युरिया र पाँच सय टन डीएपी मलको माग हुन्छ ।

मागको आधाभन्दा धेरै वर्षको अन्तिम चौमासिकमा खपत हुने गरेको छ । तर, चालु वर्षको अहिलेसम्म एक सय ८९ टन युरिया र एक सय २६ टन डीएपी मात्रै ढुवानी गरेर वितरण गरेको केन्द्रप्रमुख विपिनप्रसाद शर्माले बताउनुभयो ।

जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको बिक्री वितरण गर्दै आएका छन् । साल्ट ट्रेडिङको कुश्मास्थित बिक्री केन्द्रका अनुसार करिब एक टन मल आएकोमा सीमित किसानले लगेपछि दुई दिनमै सकिएको जनाएको छ । मलको माग कति थियो कति, साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्रेता एलिजा पुरीले भन्नुभयो–पु¥याउनै सकिएन । अब कहिले आउने हो टुङ्गो छैन ।

कृषि सामग्री कम्पनीका बिक्रेता रमेश पौडेलका अनुसार युरिया र डीएपी मल वीरगन्जसम्म आइपुगेकाले अब एक साताभित्रै पर्वतका किसानलाई बिक्री गर्न सकिने बताउनुभयो । ‘अब गुणस्तर परीक्षणलगायत केही प्रक्रिया पूरा गरेर ल्याउने हो, उहाँले भन्नुभयो–त्यसो गर्दा पाँचदेखि सात दिनभित्र किसानलाई वितरण गर्न सकिन्छ ।

मकै छरेदेखि मल नपाइएको कृषकहरूको गुनासो छ । मल अभावकै कारण अघिल्ला वर्षजस्तो मकै राम्रो भएन,’ बिहादी–२ बर्राचौरका मानबहादुर कुँवरले भन्नुभयो, ‘धान रोप्ने बेलामा पनि पाइएन ।’ अहिले कुश्मामा मल आएको छ भन्ने सुनेर आएको, आउँदाआउँदै सकिएछ । अब धान पहेँलिइसक्यो । यो वर्ष मलकै आसमा धानखेती भित्र्याउनै नपाइने उहाँको गुनासो छ ।

फलेवास नगरपालिका–४ का बिदुर लामिछानेले दिनभर लाइन बसेर पाँच किलो मात्रै मल लिएर फर्किएको गुनासो गर्नुभयो । ३० किलो युरिया चाहिएको थियो, उहाँले भन्नुभयो– ‘कोटा सकिएको रहेछ । पाँच किलो ल्याएर केमा सुघाउने ? अरू मल आएपछि एकैपटक छरौंला भनेर राखेको छु ।’

केही दिनअघि कुश्मा बजारमा सीमित मात्रामा आएको केही बोरा मल लिन किसानको घुइँचो लागेको थियो । विगतका वर्षमा किसानले मागेजति मल गाउँमै पु¥याएर वितरण गर्दै आउनुभएका बिहादी गाउँपालिका –३ रानीपानीका रामु पराजुलीले ६ महिनायता मल नपाइएको गुनासो गर्नुभयो ।

नमुना कृषि सहकारी संस्थामार्फत निःशुल्क ढुवानी गरी गाउँभरि मल वितरण गर्दै आएका पराजुलीले यो वर्ष मल अभावकै कारण वितरण गर्न नपाएको बताउनुभयो । मैले धेरैपटक कृषि सामग्री संस्थामा सम्पर्क गरें, उहाँले भन्नुभयो– ‘मल छैन भनेपछि त्यो कामै छोडिदिएँ ।’

मल अभावकै कारण जिल्लाभरका किसानले व्यावसायिक तरकारीसमेत लगाउन पाएका छैनन् । कतिपय किसानले मल छरेर धान गोड्ने भन्दै कुरेर बसेका छन् । ‘मल नपाएर मकै पनि भएनन्’, कुश्मा–९ का पुनाखर पराजुलीले भन्नुभयो– ‘धान जस्तो रोपेको हो, जस्ताको त्यस्तै छ ।’

रासायनिक मल छर्ने गरेपछि गोठेमलले मात्रै खेती नहुँने गरेको कृषकहरूको गुनासो छ । मुख्यगरी चैतदेखि भदौसम्म किसानलाई बढी रासायनिक मलको आवश्यकता पर्ने भएपनि जिल्लामा पर्याप्त मल नपाउँदा कृषकहरू समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पर्याप्त वर्षा नहुँनु, समयमै रोपाईं नहुनु र कृषकले पर्याप्त रासायनिक मल नपाउनाले यस वर्ष धान उत्पादनमा धेरैनै गिरावट आउने देखिएको ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्