बाजुराको धार्मिक पुण्यभूमि एवं पर्यटकीय भू : स्वर्ग बूढीनन्दा



यात्रा स्मरण

वारि उदाकी खेतीबेती पारि उदाकी विनी ।
ऐले माई बूढीनन्दा क्याउ बर दिन्नी ।

शक्ति स्वरुपिणी बूढीनन्दा माताको यो वर्षको मेला गत बिहीबार सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रावण शुक्लपक्ष चतुर्दशी तिथिका दिन लाग्ने उक्त मेला भर्न सुदूर र मध्यपश्चिमका सयौँ भक्तजन बूढीनन्दा जाने गर्दछन् । पुुण्यभूमि बूढीनन्दालाई धार्मिक दृष्टिकोणले रोजेको फल पाइने र पर्यटकीय दृष्टिकोणले भू–स्वर्गको एक टुक्राका रूपमा लिन सकिन्छ ।

समुद्री सतहबाट १६ हजार फिट उचाइमा अवस्थित बूढीनन्दा माताको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ । हिमालय पर्वतमा अवस्थित अलौकिक देवी ‘बूढीनन्दा माताको’ दर्शन गर्न हाम्रो पारिवारिक तीर्थयात्राको स्मरणीय क्षणलाई पाठकसमक्ष पु-याउन जमर्को गरिएको छ ।

विगत लामो समयपछि आस्था, भरोसा, शक्ति स्वरुपिणी देवी बूढीनन्दा माताको पारिवारिक दर्शन गर्ने अवसर जुट्यो । यात्रका क्रममा माथि उल्लिखित स्थानीय मंगल श्लोकमा भनिए अनुसार १६ हजार फिट उचाइमा अवस्थित बूढीनन्दा माईको नेजारबाट तल हेर्दा वारिपट्टि खेतीपाती गरेझैँ समथर भूमि, पारिपट्टि हेर्दा बिनी (धौलीबगर) जो सानो खोला तर दूध बगेझैँ बगिरहेको देखिन्छ । धर्तीको एक टुक्रा स्वर्गझैँ मनमोहक छ । त्यही धर्तीलाई स्वर्गको टुक्रा सम्झेर भक्तजन श्रद्धालुहरू मंगल भजन गाउँदै एकत्रित मनले बूढीनन्दा माताको दर्शन गर्न जान्छन् ।

एकत्रित मनले पवित्र देवभूमि बूढीनन्दा पुुगेपछि अविवाहितले वर–वधुु पाउने, निःसन्तानले सन्तान, निर्धनीले धन र अशिक्षितले शिक्षा प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । शक्ति स्वरुपिणी आराध्य देवी बूढीनन्दा माताको मन्दिर बाजुराको बूढीनन्दा नगरपालिका वडा नं. ३ मा अवस्थित छ ।

बूढीनन्दा मन्दिर ४५८१ मिटर उचाइमा पर्छ । यो स्थान सदरमुकाम मार्तडीदेखि करिब ५६ किलोमिटर दूरीमा छ । कोल्टीबाट करिब ३० किलोमिटर दूरी पर्छ । प्रत्येक वर्ष श्रावण शुक्लपक्ष त्रयोदशी तिथिदेखि बूढीनन्दा माताको दर्शन गर्न तीर्थालुु भक्तजनहरु जाने गर्दछन् । दुःख–कष्ट गरी बूढीनन्दा माताको दर्शन गरे मागेको वर पाइन्छ भन्ने धार्मिक एवं सामाजिक मान्यता पनि छ ।

यस वर्षको धार्मिक तथा पर्यटकीय मेला पनि साउन २६ गते सम्पन्न भएको छ । वर्षको एकपटक श्रावण शुक्लपक्षमा लाग्ने उक्त मेला भर्न बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा, कालीकोट लगायतका तीर्थालु भक्तजन जाने गर्दछन् । शक्ति स्वरुपिणी बूढीनन्दा माताको दर्शन गरी भाकल अनुसारको वर मागे पूरा हुने धार्मिक विश्वास छ । एकत्रित मनले पवित्र देवभूमि बूढीनन्दा पुुगेपछि अविवाहितले वर–वधुु पाउने, निःसन्तानले सन्तान, निर्धनीले धन र अशिक्षितले शिक्षा प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । भाकल पूरा भएकै कारण परापूर्वकालदेखि बूढीनन्दा माताको दर्शन गर्ने प्रचलन रहेको छ । यात्राको क्रममा यहाँ विशेष गरी बूढीनन्दा माताको प्रवेशद्वार सिमकुरुदेखि माथिको वर्णन गरिएको छ ।

सदरमुकाम मार्तडीबाट दुुई दिनको पैदल यात्रापछि अपराह्न्न ४ बजे हामी सिमकुरु पुग्यौं । त्यहाँको भुबनोट हेर्दा पहाडी उपत्यकाजस्तो थियो । चराचुरुङ्गी चिरबिर आवाजमा गीत गाइरहेका थिए । जहाँ वरिपरि डाँडैडाँडा र बीचमा बूढीनन्दा खोला कलकल बगरिरहेकी थिइन् । माथि पाटनमा घोडा–भेडा लस्करै चरिरहेका दृश्यले मन प्रफुल्ल बनायो । पारिपट्टि नौमुले धारा, जहाँ एकैसाथ नौ मूल कलकल बगिरहेको दृश्यले मन झनै प्रफुल्लित भयो । नौ मूलमा स्नान–ध्यान गर्नाले पाप हरण हुन्छ, मन शान्ति हुन्छ, चर्मरोग पनि निको हुन्छ भन्ने मान्यता छ ।

त्यहाँ स्नान–ध्यानपछि हामी सिमकुरुको निमावि स्कुलमा बास बस्यौं । कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा स्कुलको प्रांगणमा झारले भरिएको थियो । कक्षाकोठाहरु पनि शीत–पानीले विरुप भएका थिए । कोठा ह्वारह्वार्ती गन्हाएका थिए । तैपनि स्थानीय र शिक्षकको सहयोगमा अफिस कोठामै सुत्ने व्यवस्था भयो । उहाँंहरुलाई धन्यवाद ! भोलिपल्ट बिहान सबेरै उठेर नित्यकर्मपछि सिमकुरुदेखि छाप्रे पाटनतर्फ हामी अघि बढ्यौँ । मंगल गान अनि नाचगान गर्दै घनघोर जंगलको उकालो लाग्यौं ।

बिहानको खाना लादेभैँसी खर्कमा खायौँ । त्यहाँ पुुग्दा गोठाला दाइले दही–दूध, नैवेद्य, बुकीफूल र चुन सजाएर राखेका थिए । तीर्थालुको स्वागत गर्न आतुर देखिन्थे । हामीले उनीहरूको स्वागत–सम्मान लियौं । त्यहीँ खाना खायौँ । शुद्ध शाकाहारी खाना बूढीनन्दाको प्रसादको रूपमा लिने गरिन्छ । मीठो खानासँगै गोठालासँग एकछिन् गफियौँ । गफमा गोठालाका गुुनासा धेरै थिए । ‘लादेछाप्रे पाटनसम्म सडक सञ्जाल जोडिएको भए बूढीनन्दाको महिमा अझै बढ्ने थियो । हाम्रो पहुँच छैन, पहुँचवाला टेर्दैनन्’, दलवीर रोकायालगायत गोठाला दाइका तमाम वेदना सुन्यौँ । ती गुनासा सरोकारवालाबाट सुनुवाइ भइदिए हाम्रा लागि पनि यात्रा सहज हुने महसुुस ग-यौँ ।

त्यसपछि हामी टोपी खस्ने उकालो चुन र सयौँ थरीका बुटी अनि सुुगन्धवाल फूलसँग रमाउँदै अपराह्न्न ४ बजे छाप्रे पाटन पुुग्यौँ । किंवदन्ती अनुसार बूढीनन्दा देवी कोल्टीको चौकीलेख छोडेर मृगको रूप धारण गरी छाप्रे ओडारमा बास बसेकी हुन् रे ! सोही मान्यता अनुसार तीर्थाटनमा गएका भक्तजनले एकरात छाप्रे ओडारमा बास बस्नै पर्ने धार्मिक मान्यता छ । त्यो स्थान कुण्डा क्षेत्रबाट आउने तीर्थालुहरूको संगमस्थल पनि हो । बेलुका सबै भक्तजनसँग भेट भयो । सयौँ यात्रु छाप्रे ओडारमा जाग्राम बसे । हामी पनि बयालोको सिरेटोसँगै त्रिपालको सहारामा रातभर मंगल गान गाएर जाग्राम बस्यौँ । भगवान् भक्तिको आनन्द नै बेग्लै !

बूढीनन्दा त्यहाँ कसरी प्रकट भइन् ?

जनप्रकाश मावि, कोल्टीका प्राचार्य तथा खोजकर्ता अनोजराज गिरीले स्थानीय जानकारलाई उद्धृत गर्दै आफ्नो स्नातकोत्तरको शोधपत्रमा उल्लेख गरेका छन्– ‘कुनै समयमा भगवतीको कोल्टीको चौकी लेकमा पहिलो बास हुन्थ्यो । चौकी लेकमा देवीको बास हुँदै गर्दा पछिल्लो समयमा मान्छे गएर फोहोर गर्ने, गाईवस्तु छाडा छोड्ने गरे ।’ कुखुराको डाँको सुनेर भगवती त्यहाँबाट विलय भएकी किंवदन्ती उनले उल्लेख गरेका छन् ।

स्थानीय एवं शिक्षक डम्बर रोकायाका अनुसार भुलेनाबाट कुखुराको डाँको सुनेर लंकारी दहमा नुहाएर मृगको रूपमा भागिन् । नुरीवासी दाने र पल्लाने मृग देखेपछि सिकार गर्न मृगका पछि–पछि लागे । बेलुुकासम्म मृग नभेट्टाएपछि छाप्रे पाटनमा बास बसे । भोलिपल्ट बिहान मृग नभेटेपछि घर फर्किन थाल्दा नजिकै मृग फेरि भेटेको किंवदन्ती छ । छाप्रे पाटनबाट भागेको कस्तुरी लौरीविनायक पुुगेर विश्राम लिएको बताइन्छ । त्यसपछि सातपाखे, नौ फेरे हुँदै वर माग्ने डाँडा, गाईगोठ भएर चरीदह पुगेको अनि चरीदहमा स्नान गरी धौलीबगर हुंँदै गएको मानिन्छ । बीच–बीचमा ढुंगा गडेको अहिले पनि देखिन्छ, जो कि मान्छे न हराओस् भन्ने मान्यता छ ।

बाह्रै मास हिमालमा अवस्थित नवदुुर्गाका रुपमा बसेकी बूढीनन्दा माताले यो हिमालमा म एक्ली कसरी बसौँला दाजु भन्छिन् रे ! त्यसैले बूढीनन्दा तालमा स्नान–ध्यानपछि तालको पश्चिमतिर फटकशिलामा सजाइएकी बूढीनन्दा माताको मूर्तिमा दर्शन गरिन्छ । बूढीनन्दा माताको दर्शन गरी फर्कने बेला यो हिमालमा मलाई एक्लै नछोड्नू, म कसरी एक्ली बसूँला भन्ने मंगल गान सुनाउँदै आफ्नो गच्छे अनुसारको फूल, फलाहार, शंख–घण्ट चढाएर हामी स्वर्गतुल्य भूमि बूढीनन्दाबाट सकुसल फर्कियौँ । जाँदा र फर्कंदा यस्ता मंगल श्लोकहरु गाइने गरिन्छ–
हियाइन शंकर दाज्यू क्याको खाना खाऊँला,
मुलुुकका फूलपाती नैवेद त्याई प पु-याऊँला ।
हियाइन शंकर दाज्यू एक्ली कसरी रौँला,
मुलुकका तेल घिय त्याई प पु-याऊँला ।
बस बैना नवदुुर्गा हियाइन शंकर,
हियाइन शंकर दाज्यू रुखी कसरी रौँला ।
मुलुकका आल भेटी त्याई प पु-याऊँला,
मुलुकका तेल घिय त्याई प पु-याऊँला ।
बस बैना नवदुुर्गा हियाइन शंकर,
ओ हियाइन शंकर ।

प्रतिक्रिया दिनुहोस्