९ अर्ब बराबरको हातहतियार भित्रियो



काठमाडौं ।

नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपियाँ बराबरको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन् ।

भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपियाँको हातहतियार खरिद गरेको देखिन्छ ।गत आर्थिक वर्ष २०७८-७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपियाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७६-७७ मा २ अर्ब ३७ करोड ३८ लाख २८ हजार रुपियाँ र २०७७-७८ मा ४ अर्ब ५७ करोड ८७ लाख ९० हजार रुपियाँको हातहतियार नेपालले आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८-७९ मा ५८ करोड ९४ लाख ३४ हजार रुपियाँको ३६ लाख ७४ हजार ८२ थान बम, ग्रिनेड्स, माइन्स, मिसाइल नेपालले आयात गरेको थियो । आर्टिलरी विपन्स, पेस्तोल, सर्टगन, ग्यास गन लगायतका हातहतियार नेपाल भित्रिएको विभागले जनाएको छ ।नेपालमा हातहतियारहरू अमेरिका, दक्षिण कोरिया, सुडान, इटाली, भारत, चीन, जर्मनी, फ्रान्सलगायतका देशबाट आउने गरेको छ ।

गत आर्थिक वर्षमा मात्र नेपालले दक्षिण कोरियाबाट १ अर्ब २१ करोड ७० लाख रुपियाँको विभिन्न हातहतियार आयात गरेको छ । सोही समयमा चीनबाट ५६ करोड ७७ लाख ४९ हजार रुपियाँ र भारतबाट ८ करोड ९४ लाख ९३ हजार रुपियाँको हातहतियार नेपाल भित्रिएको छ ।

आर्थिक वर्ष २०७७-७८ मा मात्र दक्षिण कोरियाबाट नेपालले ३ अर्ब ९६ करोड ६ लाख ६० हजार रुपियाँको हातहतियार आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
यस्तै, आर्थिक वर्ष २०७६-७७ मा दक्षिण कोरियाबाट नै १ अर्ब ४० करोड ४६ लाख ८० हजार रुपियाँको विभिन्न हातहतियार नेपालले आयात गरेको थियो ।

पछिल्लो तीन वर्षमा नेपालले सबैभन्दा बढी हातहतियार दक्षिण कोरियाबाट खरिद गरेको देखिन्छ । उक्त अवधिमा नेपालले दक्षिण कोरियाबाट ६ अर्ब ५८ करोड २३ लाख ४० हजार रुपियाँको हातहतियार आयात गरेको छ । दक्षिण कोरियापछि चीन र भारतबाट नेपालमा ठूलो मात्रामा हातहतियार आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्