केपी बाका ‘एक्स्ट्रा एक्टिभिटिज’ !



खड्गप्रसाद शर्मा ओलीको नामको विकिपिडियामा केपी ओलीको जन्म वि.सं. २००८ फागुन ११ जनाएको छ, जसको आधारमा भन्ने हो भने उनको उमेर ७१ वर्ष पुगिसकेको छ । यो अवधिसम्ममा उनले राजनीतिमा निकै ठूलो छलाङ मारिसकेका छन् ।

विभिन्न समयमा एमाले पार्टीका अध्यक्ष बन्दै वर्तमान समयमा पनि अध्यक्षकै भूमिकामा रहेका छन् । उनी विभिन्न समयमा नेपालको प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीसमेत भएका थिए । ओली वि.सं. २०४८ मा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै ओली वि.सं. २०५१ देखि २०५२ सम्म गृहमन्त्री भएका थिए ।

वि.सं. २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए । उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं. २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए भने २०७४ को संसदीय निर्वाचनपश्चात् पनि माओवादीसँगको पार्टी एकता र अन्य दलको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर पाए ।

भाग्यले साथ दिएको तर कर्मले ठगेको ओलीले संसद् विघटनपश्चात् पनि राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ वैशाख ३० मा तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समय सीमाभित्र राख्न असमर्थ रहँदा पुनः प्रधानमन्त्रीमा ओली नियुक्ति भएका थिए । २०७८ जेठ ८ मा मध्यरातमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनपछि ओली सरकार नयाँ निर्वाचन सम्पन्न नभएसम्म अन्तरिम सरकारमा परिणत भएको थियो ।

मध्यावधि निर्वाचन सोही वर्षको कात्तिक २६ र मङ्सिर ३ का लागि तय पनि गरिएको थियो । २०७८ असार २८ मा विपक्षी गठबन्धनले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ गर्न गठित सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गर्ने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । सोही आदेशबमोजिम अहिले परमादेशको सरकारले राज्य सञ्चालन गरिरहेको छ ।

तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेका ओली, झापामा विद्यालय जीवन शुरु गरेर कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए । ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट वि.सं. २०२८ मा प्रवेशिका परीक्षामा उत्तीर्ण भएका थिए । वि.सं. २०२२ मा कम्युनिस्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । वि.सं. २०२८ को झापा आन्दोलनका प्रमुखहरुमध्येका एक थिए, त्यही वर्ष उनी जेलसमेत परे । ओली तत्कालीन नेकपा (माले) को संस्थापकमध्येका एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेलजीवन भोगेका थिए ।
राजनीतिमा निकै उतारचढाव भोगेका ओलीले माओवादीसँग पार्टी एकता गरेर भएको सरकारलाई भंग गर्दा विभिन्न समस्या आइप¥यो, जुन उनले सोचेका पनि थिएनन् होला । संसद् विघटनपश्चात न त मुलुक निर्वाचनमा जान सक्यो, न त उनले सरकारलाई टिकाउनै सके, उल्टै सरकारबाट बाहिरिए र बाँकी रहेको समयमा परमादेशको सरकार चल्दै छ । संसद् विघटनले पार्टी एकता भंग भयो, जसमा माओवादी केन्द्र बिउँतियो । एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल जो केपीसँग रुष्ट हुँदा पार्टी फुटको अवस्था सिर्जना हुँदा हाल नेपाल एकीकृत समाजवादीको नेतृत्व गर्दै माधव नेपाल गठबन्धनको सरकारमा छन् ।

केपी ओली सरकारमा रहँदा होस् वा प्रतिपक्षमा, उनका कार्यशैली र उखान टुक्काले सञ्चारमाध्यममा निकै स्थान पाउने गथ्र्यो । उनले जे गरे पनि, जे भने पनि समाचार बन्थे । वास्तवमै भन्ने हो भने उनी राजनेता कम र उट्फट्याङका गतिविधि बढी गर्ने गरेकोमा आलोचना भइरहन्थ्यो ।

उनले बोलेका कुराहरु कम पूरा गर्ने तर गफले पूरा गरेबराबर ठान्ने एक नम्बरका गफाडी नै थिए, जुन कुरा माधवकुमार नेपालले भन्ने गरेका थिए । ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर, फूर्ति त कम छैन तर त्यो गफ मात्रै हो, गफमा उनलाई कसैले सक्दैन’ भन्दै नेपालले ओलीलाई ‘गिनिज बुकमा नाम लेखिदिए हुन्छ, गफाडी नम्बर १, केपी ओली’ भनी अभिव्यक्ति दिएका थिए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले पनि २०७८ असोज १८ गते दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले विभाजन हुनुको मुल कारण केपी ओली भएको बताएकी थिइन् । ओलीलाई गाली शिरोमणिको संज्ञा दिँदै झाँक्रीले एमालेलाई विधिसम्मत ढंगले नचलाएको आरोपसमेत लगाएकी थिइन् । ओलीलाई यस्ता आरोप लगाउने र खण्डन गर्ने यहाँ धेरै छन्, जुन उनका सत्ताबाट बहिर्गमनपश्चात् झन् खुल्न थालेका थिए । उनकै पार्टीभित्रका नेताले समेत उनका कार्यशैली पत्याउँदैनन् । यस्तै बानीले ओलीलाई घाटा पु¥याइरहेको हुन्छ ।

उनी गफमा मात्र पोख्त छैनन्, अन्य विविध गतिविधिमा समावेश हुँदै सस्तो लोकप्रियता कमाउन लालायित हुन्छन् । यसले उनलाई आलोचित त बनाएकै छ, तर अर्कोतर्फबाट पनि सोच्ने हो भने उनका यो उमेरका अतिरिक्त क्रियाकलापले ‘उहाँ केपी ओली !’ भन्नेसम्मका जमात पनि भेटिन्छन् । बुढेसकालको उमेर समूहमा पनि उत्तिकै जोश–जाँगर रहनु भनेको सामान्य होइन ।

एउटा नेतामा राजनीतिबाहेक अन्य ज्ञान, जानकारी, अतिरिक्त क्रियाकलापमा पोख्त को छ भन्ने प्रश्नमा शायदै पहिलो नाम केपी ओलीकै आउँछ । उनले के गरेका छैनन् भन्न सजिलो होला, जति उनले गरेका छन् । उनी खेलकुदमा फुटबल, ब्याडमिन्टन, स्नोकर, क्याराम बोर्ड, पेन्टिङ, वाद्यवादनमा समेत पोख्त भएको देखाउन माहिर छन् । ती क्रियाकलापका भिडियो अहिले पनि सामाजिक सञ्जालमा उत्तिकै भाइरल बनेका छन् ।

वि.सं. २०७६ माघ २२ गते बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारको माहौल भिन्न बनेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँ–बायाँ राखेर बाँसुरी बजाएका थिए ।

मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझ कार्यक्रम चलेको थियो । सो कार्यक्रमा तत्कालीन प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले वाद्यवादन गरेको तस्वीर निकै भाइरल भएको थियो । ओलीका अतिरिक्त क्रियाकलापहरु यत्तिमै सीमित छैनन्, नयाँ कार्य गर्दै चर्चित बन्न लागिपरिरहन्छन् । चाहे सरकारमा हुँदा होस् या त प्रतिपक्ष, यस्ता हर्कत गरिरहेका हुन्छन् ।

हालै मात्र उनी गृहनगर झापा जाँदा ब्याड्मिन्टन कोर्टमा झुल्किए । झापाको महानन्द चोकस्थित बिग ब्रदर्स ब्याड्मिन्टनमा पुगेका उनले करिव एक घण्टा ब्याड्मिन्टन खेलेका थिए । ओली कुनै समय नियमितजस्तो ब्याड्मिन्टन खेल्थे रे । जुन उनका समकक्षीहरुले भनेका थिए । शारीरिक व्यायामका लागि ब्याड्मिन्टन खेल्दा उनले पार्टीका थुप्रै नेतालाई हराएका अनि थुप्रै नेतासँग हारेका पनि थिए रे भन्ने उनका निकटतमले बताउँदै आएका थिए ।

यो उमेरमा यसरी खेलमा रमाउनु शारीरिकरुपमा पनि फूर्तिलो हुनु हो, जुन कुरा ओलीमा देख्न सकिन्छ । उनले ब्याड्मिन्टन खेल्दा नियमसंगत खेलेका जानकारहरुले बताएका थिए । जेलमा बस्दा ब्याड्मिन्टन सिकेका ओलीले त्यसपछि पनि खेलिरहन्थे ।हालै मात्र युवा संघले आयोजना गरेको एक कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भएको बताएका थिए ।

साहसिक खेलअन्तर्गत पर्ने बन्जी जम्प गर्न साहस गर्नु ओलीको आत्मविश्वासलाई मान्नै पर्छ । शायदै उनको उमेरका कारण बन्जी जम्प गर्न सहजता छैन तर डाक्टरलाई सोध्नुपर्ने कुरासमेत उनले बताएका थिए । युवा संघको कार्यक्रम भएर युवाहरुलाई अभिव्यक्तिले तताएका थिए भन्ने मान्न सकिन्छ । युवालाई आँटिलो बनाएका थिए, उनको आशय भनेको म बूढो भएर त आँट गरेको छु, अब युवा पछि हट्नुहुँदैन, जे आइपर्छ त्यो गर्न तत्पर रहनुपर्छ भन्ने अभिव्यक्ति ओलीले दिएका थिए । तर युवाले भने मैले जसरी डाक्टरलाई नसोधी बन्जी जम्प गर्न सक्ने भन्दै हौस्याएका थिए ।

त्यति मात्र होइन, युवाले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा सहभागी हुनुपर्ने भन्दै युवाको ध्यान केन्द्रित गराएका थिए । वास्तवमा भन्ने हो भने ओली गफले सम्पूर्ण काम गर्छन् तर व्यवहारमा उतार्न भने सक्दैनन्, जुन उनका कार्यकालले स्पष्ट पार्दछ । अतिरिक्त कार्यमा माहिर ओलीका क्रियाकलाप यतिमा मात्र सीमितता छैनन्, उनका उट्फट्याङमय कार्य भइरहन्छन् । उनले क्यारामबोर्ड खेल्दै गरेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

२०७४ सालमा दशरथ रंगशालामा भएको मुख्य सचिव र प्रधानमन्त्री टिमबीचको फुटबल प्रतियोगितामा समेत भाग लिएका थिए । कार्यक्रमकै सिलसिलामा माटोको भाँडा बनाउँदै गरेको भिडियो, त्यस्तै क्यानभासमा चित्र उतार्दै गरेका भिडियोहरु निकै भाइरल भएका थिए । उनी यस्ता कार्य गरेर जनमानसको मन जित्न माहिर बन्दै छन् ।

उमेरले ७० वर्ष काटे पनि ओलीको शारीरिक बनावटको ताजगीपनलाई मान्नै पर्छ । ओलीले अतिरिक्त क्रियाकलापबाट जति वाहवाही कमाए, राजनेता बन्दा त्यति कमाउन सकेनन् । गफाडी र उखान टुक्केको ट्याग लागेका उनको राजनीतिक कार्यकाल त्यति सफल बन्न सकेन, मध्यम स्तरकै रह्यो । जति गफ गरे त्यति पूरा नगरी संसद् भंग गरेर दुई तिहाइको सरकारबाट बाहिरिए ।

बोलीको मात्र भर भएको भए आज उनको जयजयकार हुन्थ्यो । पहिला उनकै उखान टुक्का सुनेर तररर ताली आउँदा हौसिने ओलीले अहिले ताली नबजाउँदा आफ्नै कार्यकर्तासँग आक्रोश पोख्ने गरेका छन् । उनी पनि भाइरल मात्र बन्न खोजिरहे, अतिरिक्त कार्यलाई प्राथमिकता दिँदा उनको राजनीतिक भूमिका कमजोर र खस्कँदो रुपमा गएको स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्