नेतालाई पाठ



आगामी मंसिर ४ गते आइतबार संघीय संसद् र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएसँंगै राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

क्रियाशील राजनीतिक दलहरु अहिले संसदीय निर्वाचनको जोड– घटाउमा लागेका छन् भने कतिपय राजनीतिक दलहरु आफ्नो अस्तित्व जोगाउन दलीय गठबन्धनको तयारीलाई तीव्र पारिरहेका छन् ।

सत्तारुढ दलहरु आउँदो निर्वाचनमा सँंगै अघिबढ्ने उद्घोषका साथ श्रृंखलावद्ध बैठकमा व्यस्त छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धन बाहेकका अन्य दलसँंग गठबन्धन गरेर अघिबढ्ने तयारी स्वरुप विभिन्न दलका नेतासँंगको भेटघाटलाई तीव्र बनाइरहेका छन् । आउँदो संसदीय निर्वाचनले ठूला भनिएका राजनीतिक दलहरुका लागि गर या मरको अवस्था सिर्जना गरिदिएको छ ।

नेकपा एमाले विरुद्ध मोर्चा कसेर अघि बढेको सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको एउटै उद्देश्य भनेको नेकपा एमालेलाई विजयी हुन नदिनु हो । दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने नेकपा एमालेका कारण मुलुकको संसदीय व्यवस्था संकटमा परेको भन्दै ती दलहरु अहिले एमाले विरुद्ध एउटै चुनाव चिन्हबाट चुनावमा होमिने तयारीमा छन् ।

तर जनमत भने उनीहरुले सोचेजस्तो देखिदैन । वर्तमान सरकारको कार्यशैलीप्रति जनता दिक्क भइसकेका छन् । हिजोभन्दा आज भ्रष्टाचार मौलाउँदो छ भने सुशासन गिर्दो अवस्थामा देखिन्छ । महँंगीले जनता शहर छोडेर गाउंँ फर्कनुपर्ने अवस्थामा छन् । जनताको चुलो बल्न निकै मुस्किल हुन थालेको छ । गठबन्धन सरकारका कारण मन्त्रीहरु आ–आफ्नै ताल र सुरमा काम गर्नाले जनताले सोचेजस्तो राज्यको सेवा अनुभूत गर्न सकेको पाइदैन । चरम निरासामा रहेका जनतालाई फकाउनु सत्तारुढ दलका लागि फलामको च्यूरा भएको देखिन्छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका लागि दुई–दुई पटकको संसद् विघटन आउँदो निर्वाचनका लागि भारी पर्ने देखिन्छ । दुई तिहाईको सरकारको नेतृत्व गरेको नेकपा एमाले आफ्नै दम्भका कारण प्रमुख प्रतिपक्षमा पुग्नु परेको तितो यथार्थलाई अन्य दलले मसलाको रुपमा प्रयोग गर्ने निश्चितप्रायः छ ।

मुलुकमा दलविही पञ्चायती व्यवस्था ढलेको पनि ३३ वर्ष बितिसकेको छ तर जनताका समस्या ज्युंँका त्यँुं नै छन् । मुलुकले विकास–निर्माणमा फड्को मार्न सकेको छैन । शुरु भएका योजना समयमा सम्पन्न नहुने र बनेका योजना पनि भरपर्दो सावित नहुने स्थिति छ ।

दलीय संकीर्णताका कारण जनतामा निरासा छाउँदै गएको छ । मुलुकमा जुन किसिमले रोजगारी सिर्जना हुनुपर्ने थियो त्यो हुन नसक्दा आज लाखांैंको संख्यामा रोजगारीका लागि विदेशिने युवाको जमातले नेपालको अवस्था कस्तो छ भन्ने देखाइदिएको छ । भाषणमा ठूला कुरा गर्ने तर जनताको काम नगर्ने दलीय नेताहरुको व्यवहारलाई जनताले रुचाएको देखिंदैन ।

त्यसैले दलका नेताहरुले सोच्ने बेला आइसकेको छ । दलको विकल्प दल नै हो ‘हामीलाई मत नहाले जनतासँग अरु के विकल्प छ र ?’ भन्दै घमण्ड देखाउने नेताहरु यतिखेर लोकतान्त्रिक व्यवस्थाका दुश्मन बन्न पुगेका छन् । उनीहरु बेलैमा नसच्चिए राष्ट्रियता नै संकटमा पर्ने अवस्था आउने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्