वैशाखयता ७० दिन पूर्ण बन्द



काठमाडौं  । 

लगातार बन्द , केही दिनको वर्षा र बाटो मर्मत गर्ने घटनाबाहेक चार महिनामा ७० दिन फोहोर विसर्जनमा अवरोध भएको छ । स्थानीयले विभिन्न माग राख्दै आन्दोलन गरेपछि वैशाखयता ७० दिन फोहोर विसर्जन बन्द भएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरू गरेदेखि नै पटकपटक बन्द भएको छ ।

स्थानीयको माग र संघर्ष समितिको लामो समय सम्मको संघर्षको कारण करिब ७० दिन फोहोर व्यवस्थापन बन्द भएको कामपाले जनाएको छ ।

दिनबाहेक करिब १५ दिनजति कहिले बाख्रा किचेर त कहिले बाटोमा धुलो उडेर, कहिले वर्षात्को पानीले घर जलमग्न भएको भन्दै ७० फोहोर विसर्जनमा अवरोध खडा भएको कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले बताउनुभयो ।

उहाँका अनुसार त्यसबाहेक पनि स्थानीयको विभिन्न माग र शहरी विकास तथा भवन निर्माण विभागले बाटो निर्माण गर्दा १० दिनजति अवरोध भएको थियो ।स्थानीयको अवरोधको कारण हिजो मंगलबार पनि फोहोर विसर्जन हुन पाएन । स्थानीयले ढुंगामुढा गर्दै गुलेली प्रहार गर्न थालेपछि अवरोध भएको थियो । बल प्रयोग गरेर फोहोर खसाल्ने प्रयत्न गर्दा समेत सफल हुन नसकेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

वातावरण विभाग प्रमुख राईका अनुसार साउन महिनामा १७ गतेदेखि हिजोसम्म १४ दिन पूर्ण रुपमा अवरोध भएको छ भने त्यसअघि असार ४ देखि १५ सम्म, जेठमा १० देखि २६ गतेसम्म र वैशाखमा १० देखि २५ गतेसम्म फोहोर व्यवस्थापनमा पूर्ण रूपमा अवरोध भएको थियो । त्यसबाहेक असारमा लगातार वर्षाको कारण दुई साताजति फोहोर विसर्जन हुन नसकेको विभागको भनाइ छ ।

कामपाले दैनिक करिब ३ सय ट्रक फोहोर खसाल्ने गरेको थियो । चार महिनाको अवधिमा केही दिनबाहेक दैनिक करिब १ सय ५० ट्रक फोहोर मात्र विसर्जन गर्न सकिएको कामपा ल्याण्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले बताउनुभयो ।राजधानीलगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसक्दा अधिकांश स्थानीय तह पूर्ण रुपमा दुर्गन्धित भएको छ । काठमाडौं महानगरपालिकाको सबै सडकमा फोहोरको डंगुर थुप्रिएको छ । ललितपुरले भित्री शहरको मल सुन्दरीघाट नजिक मल पोखरी क्षेत्रमा फ्याँकिरहेको छ ।

कामपा प्रवक्ता नवीन मानन्धरले स्थानीयको अवरोधको कारण फोहोर व्यवस्थापन जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो–‘हामीले स्थानीयको माग पूरा गर्न तयार छौं भन्दा पनि आन्दोलन नरोकिनु विडम्बना हो ।’

महानगरले अर्बाै रुपियाँ खर्र्च गरिसक्दा पनि फोहोर फ्याक्न अवरोध नरोकिएकोमा मेयर बालेन्द्र साहले सरकार र दलको आलोचना गर्नुभएको छ । निर्वाचित भए लगत्तै सिसडोल र बन्चरेडाडा ल्यान्डफिल साइट पुगेर स्थानीयसँग व्यवस्थित रूपमा फोहोर खसाल्ने प्रतिबद्धता जनाएका मेयर साहले प्रतिबद्धताअनुसार काम नभएको भन्दै स्थानीयले अवरोध जनाएका हुन् ।

स्थानीयको धारणा बुझ्न मंगलबार ल्यान्डफिल साइट पुग्ने तयारी गरेको मेयर साह र प्रवक्ता मानन्धर तीन पिप्लेबाटै फर्किएका थिए । मेयर साहले विभिन्न तहबाट कुराकानी गर्दा समेत फोहोर फ्याँक्न सकिएको छैन ।यसैबीच स्थानीयले व्यवस्थित रूपमा फोहोर फ्याक्ने प्रतिबद्धता जनाएर स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन गरेपछि मात्रै फोहोर खसाल्न दिने अडान राखेका छन् ।

उता स्थानीयले श्रीराम ढुगानाको संयोजकत्वमा आइतबार भएको सम्झौता धोका भएको भन्दै अति प्रभावित जनताको भावनाअनुसार माग सम्बोधन नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने जनाएका छन् ।
ढुंगाना संयोजक रहेको स्थानीयले आजबाट हुने संघर्षको सबै कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए । सो समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी शहरी विकास तथा भवन निर्माण विभाग र कन्सल्टेन्टसँग सम्झौता गरेको थियो ।

गृह मन्त्रालय किन मौन

सरकारले फोहोरमैला व्यवस्थापनदेखि विसर्जन गर्नेसम्मको कार्यमा हड्ताल गर्न नहुने उल्लेख गर्दै त्यस्ता सेवालाई अत्यावश्यक सेवामा समावेश गरेको छ ।

तर, सोही सेवामा महिनौंदेखि आंशिकबाहेक अधिकांश समयमा हड्ताल जारी रहेको छ । अत्यावश्यक सेवामा हड्ताल गर्न नहुने जानकारी हुँदाहुँदै त्यसलाई नियन्त्रण गर्न गृह प्रशासन असफल देखिएको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले सो विषयमा मन्त्रालयलाई जानकारी भएको बताउनुभयो ।

फोहोर व्यवस्थापनमा सधैं हड्ताल भइरहदा मन्त्रालयले कसरी समाधान निकाल्छ भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा सूचना अधिकारी भट्टराईको जवाफ थियो–‘यो विषयमा सीडीयोलाई सोध्नुस् ।’सरकारले जारी गरेको अत्यावश्यक सेवा निषेध गर्नेसम्बन्धी १४ औं बुँदामा फोहोर मैलाको संकलन, ढुवानी, प्रसोधन, विसर्जन स्थान, निर्माण, पूर्वाधार निर्माण र संकलन तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित क्षेत्रमा हड्ताल गर्न निषेध गरिएको उल्लेख छ ।

अत्यावश्यक सेवामा हड्ताल गरे सरकारले तत्काल हड्ताल गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न सक्छ तर गृह मन्त्रालयले सो विषयमा खासै पहल गरेको छैन । मन्त्रालयका अधिकारीको सधैं एउटै भनाइ हुन्छ– ‘हामीले फोहोर व्यवस्थापन गर्न सुरक्षाकर्मी खटाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्