नेपाली कागजमा सुवर्ण अक्षरले लेखेको दुर्लभ पुस्तक



इन्द्रबहादुर शाक्य

प्रज्ञापारमिता पुस्तकलाई आदिम युगमा लेखेको पुस्तक भनिन्छ । यो किताब हातले नै लेखिएको थियो । मानिसको भनाइ अनुसार यो पुस्तक आदिबुद्धको पालामा लेखेको भन्ने गरिन्छ ।

चौबीस क्यारेट सुनलाई पगालेर अथवा झोल बनाएर मसी बनाउने र हातले बनाएका नेपाली कागतमा सोही सुनको मसीले हातले लेखेको पुस्तकलाई नै सुवर्ण अक्षर पुस्तक भनिन्छ । सुनले लेखिराखेको हुनाले यसलाई सुवर्ण अक्षर पनि भनिन्छ ।

रुख अथवा झारपातलाई पिनेर र केही जडीबुटी प्रयोग गरी हातले बनाउने कागतलाई हाते कागत भनिन्छ । यो कागतलाई एक–एक गरी तीन पट्टी अथवा तीनवटा जोडेर वा टाँसेर अलि बाक्लो गरी यो पुस्तक बनाउन हुने गरी तयार गरिन्छ ।

यो कागतको विशेषता पानीले नबिग्रिने, कीराले नखाने, लेख्दाखेरि फुलेर नआउने भनेर विभिन्न किसिमको जडीबुटी राखी बनाइराखेको उच्च गुणस्तर भएको कागत हो । लोक्ता, टिमुरको रस, तुलसीको रस, हीराको रस तथा जडीबुटी राखेर बनाइन्छ । तर अहिले यस्तो प्रचलन छैन ।

यो कागत बनाउने विधि अथवा प्रविधि विशेष गरी चिना लेख्ने पहिलेका जोशीहरुलाई ज्ञान छ । तर अहिले यो पनि हराएर गइसकेको छ । यस्तो वैज्ञानिक प्रविधिले बनाएको नेपाली कागतमा सुनको मसी बनाएर पुस्तक लेखेकोलाई सुवर्ण अक्षर भएको पुस्तक भनिन्छ । सुनको मसी बनाएर लेख्ने अनुसन्धानबाट पत्ता लगाएको वा पत्ता लागेको के छ भने, यो लेख्ने जाति नेपाली बौद्धमार्गी अथवा बुद्धिस्ट, शाक्य वंश र वज्राचार्यहरुमध्ये कोही व्यक्तिहरुले लेख्ने गर्दथे ।

त्यति बेला हातले बनाएको नेपाली हाते कागतमा सुनको मसीले अक्षर लेखी किताब वा पुस्तक तयार गरिन्थ्यो । त्यस्तो लेखिराखेको पुस्तकको नाम हो ‘प्रज्ञापारमिता’ । त्यसलाई नेवारीमा थ्यास सफु प्रज्ञापारमिता पनि भनिन्छ । यो पुस्तक पल्टाएर हेरेर पढ्ने अथवा पाठ गर्ने गरिन्छ । त्यति बेला पे्रस भन्ने नभएको बेलामा यस्तो पुस्तक बनाइसकेको छ । यस्तो थ्यास सफु पुस्तक अहिले पनि नेपालको स्वयम्भु दहभित्र (उपत्यकाभित्र) बौद्ध विहारहरुमा हेर्न सकिन्छ ।

थाहा पाए अनुसार काठमाडौंको ठमेलमा भगवानबहाल, इटुबहाल र ललितपुरको हिरण्यवर्ण महाविहार र रत्नाकर विहार (हःबहाल) मा यस्तो सुवर्ण पुस्तक रहेको छ । मलाई थाहा भए अनुसार यो किताबको साइज ६ इन्च चौडाइ र लम्बाइ २४ इन्चजतिको हुन्छ । यस्तो पुस्तक ठमेलको भगवानबहालमा रहेको छ । हिरण्य महाविहारमा पनि ४ इन्च चौडाइ र १० इन्च लम्बाइको साइजमा यस्तो पुस्तक रहेको छ । यो पुस्तक अथवा सफु अहिले पनि हेर्न सकिन्छ ।

यो किताब (सफु) पालीभाषा र संस्कृत भाषामा लेखिएको छ । रञ्जना लिपिमा लेखिएको छ । साथै यस पुस्तकको पानाको बीच–बीचको भागमा सुनले कोरेको देवी–देवताहरुको चित्र छ ।संसारमा सुनले लेखेर अथवा कोरेर देवताहरुको चित्र बनाएर त्यसको बयान गरी सुनले लेखिराखेको पुस्तक नेपाल राष्ट्रभित्र पहिले नै नेपाली जातिले लेख्ने र पढ्ने गरेको इतिहास उल्लेख छ ।

हिरण्य महाविहारको प्रज्ञापारमिता पुस्तक मल्ल राजाको समयमा पनि मर्मत गरिएको थियो । अभय मल्ल राजाको पालामा मर्मत गरेको थियो । (२४५ नेवार संवत) । हाम्रो देश नेपाल राष्ट्रभित्र यो सुनले लेखेको किरात वंशको अन्तिम राजाको पालामा हो । तर अहिले पनि यो पुस्तकको अक्षर मर्मत गर्नुपर्ने भएकोले केही व्यक्ति यसमा लागेका छन् भन्ने सुन्नमा आउँछ ।

हिरण्यवर्ण महाविहारका वज्राचार्य चक्रराजसँग सोधपुछ गर्दा केही व्यक्ति यो पुस्तक मर्मत गर्ने बेलामा काम गर्ने गर्दछन् । अहिले पनि सुनको मसी बनाएर नै लेख्ने गर्दछन् । पहिलेको प्रविधिबाट होइन ।
यहाँ भएको पुस्तकको साइज ४ इन्च चौडाइ र २० इन्च लम्बाइको ३०० पाना जतिको छ । यो पुस्तक १० जवान वज्राचार्यहरु बसेर पाठ गर्दछन् । यहाँको पुस्तकमा सुनले लेखेका चित्रहरु छन् । प्रत्येक पानामा चित्रहरु छन् ।

यस्तो पुस्तक चाडपर्वमा मात्र हेर्न सकिन्छ । ललितपुरको हिरण्यवर्ण महाविहारको एकठाउँमा मात्र दिनका दिन पूजा पाठ हुन्छ । पाठ गर्न आउने भएकोले यहाँ मध्याह्न १२ बजेसम्म दर्शन गर्न सकिन्छ । हातले छोएर पनि ढोग्न सकिन्छ । यहाँ ३ वर्षमा एकचोटि यस्तो पुस्तक मर्मत गर्ने गरिन्छ । ठमेलको भगवान बहालमा श्रावण शुक्ल सप्तमीको दिनदेखि कृष्ण पक्ष भदौको सप्तमीसम्म हेर्न सकिन्छ । यस्तो स्वर्ण पुस्तकको पूजापाठ गरिन्छ । यो ठाउँमा बिहानदेखि दिउँसो ४ बजेसम्म हेर्न सकिन्छ ।

यहाँ झ्वावहालका वज्राचार्यहरुले पाठ गर्दछन् । पाठ गर्न सकिएपछि त्यहाँका पूजारीलाई दिएर सिल गर्दछन् । त्यहाँका प्रधान जातिले यसलाई सुरक्षित गरिराखेका छन् । त्यस्तै इटुबहालमा वर्षको एकचोटि श्रावण महिनाको शुक्ल पक्ष (गुलाथ्व) वहिल र विहारहरुमा देवताको प्रदर्शनी गर्ने बेला मात्र यो किताब त्यस ठाउँमा हेर्न सकिन्छ । त्यो श्रावणको शुक्ल पक्ष सप्तमीको दिनदेखि भदौ कृष्ण सप्तमी (कृष्ण जन्माष्टमी) सम्म मात्र देख्न अथवा हेर्न सकिन्छ ।

अरु बेलामा हेर्न सकिँदैन । यहाँको प्रज्ञापारमिता पुस्तक रञ्जना लिपिमा छ, पछि तिब्बतीयन लिपिमा पनि केही पाना थप गरी राखेको छ । यसमा सुन र चाँदीको मसीले लेखेको रञ्जना लिपिमा लेखेको छ । यो अन्दाजी १७०० वर्ष पुरानो पुस्तक हो । पुस्तकको पाना ४७८ छ । पुस्तकको साइज ६ इन्च चौडाइ र २४ इन्च लम्बाइ छ । यस पुस्तकमा मूर्ति क्रममा मात्र छ । उपत्यकाभित्र धेरै विहारहरुमा पहिला यस्ता किताब थिए तर अहिले छैनन् । कुनै–कुनै बहालमा भने अहिले पनि देख्न सकिन्छ ।

नेपाली कागजमा सुनको मसी बनाएर लेख्ने वर्गहरु त्यति बेला धेरै विकसित भइसकेका थिए । संसारमा त्यति बेला सुनको अक्षरले किताब लेख्ने भनेको यही नेपालको राजधानीवासी शाक्य र वज्राचार्यले मात्र हो । प्रज्ञापारमिता पुस्तक भनेको ज्ञानकोे भण्डार हो । यस पुस्तकबाट हामीले धेरै ज्ञान पाउन सक्छौं । यो पुस्तकको दर्शन गर्न पायो भने पनि सुस्वास्थ्य लाभ हुने र पूजापाठ गर्न सकियो भने आफूले चिताएको सबै कुरा पूरा हुन्छ भन्ने विश्वास छ । धेरै मानिसले यसको पूजापाठ गरी लाभ उठाउँछन् ।

लिच्छवि कालदेखि अहिलसम्मका राजाहरुले पनि यो पुस्तक पाठ गर्न लगाउँथे । हाल नेपालमा भएका प्रधानमन्त्रीहरु र विदेशी राजदूतहरुले पनि हिरण्यवर्ण महाविहारमा भएको प्रज्ञापारमिता पाठपूजा गर्न लगाउँछन् । यो गर्ने बेलामा पाठ गर्ने गुरुजीहरुलाई दक्षिणा दिन्छन् । केही नीति–नियममा बसी यो पाठ गर्नुपर्दछ । काठमाडौंमा यो पाठ गर्दा वज्राचार्यहरुले मात्र गर्ने गर्दछन् । त्यस्तै ललितपुरमा यो पूजापाठ गर्न हिरण्य महाविहारका वज्राचार्यले मात्र गर्ने गर्दछन्, अरुले गर्दैनन् । १० जना गुरुजीहरु बसी पाठ गर्ने प्रचलन छ ।

यस्तो सुवर्ण अक्षरले लेखेको पुस्तक नेपालको बौद्ध विहारमा छ भन्ने विदेशीहरुलाई समेत यसको जानकारी रहेको छ । जापान, दक्षिण कोरिया, थाइल्यान्ड, श्रीलंका, बर्मा, भियतनाम, इन्डोनेसिया, तिब्बत, चीन, बेलायत आदि देशका बुद्धिष्टहरुमा पनि यसको जानकारी छ । जापानको अन्तर्राष्ट्रिय मेलामा सहभागी हुँदा एक जापानिजले यो प्रज्ञापारमिता पुस्तकबारे मसँग कुरा गरेका थिए । यस्तो सुनले लेखेको पुस्तक किन्न पाइन्छ कि भनेर उनले सोधेका थिए ।

नेपालमा यस्तो अक्षर लेखी पुस्तक तयार गर्ने व्यक्तिलाई सम्मान गर्ने र सुरक्षित गर्न सकिएको छैन । यो प्रविधिलाई अहिले पनि चलाउन सकिन्छ तर सरकारले वास्ता गरिरहेको अवस्था छैन । नेपाली कागज व्यवसायी र हस्तकला महासंघ एवं नेपाल हाते कागज संघले पहिलेको यो प्रविधिलाई प्रयोग गर्ने कोशिश गर्नुपर्दछ भन्ने मेरो सुझाव छ ।
(लेखक शाक्य नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्