नेपाल–भारत मैत्री समाजद्वारा युथ क्लबलाई कम्प्युटर प्रदान



काठमाडौं।
भारतको ७६ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल–भारत मैत्री समाजले काठमाडौंको जैसी देवल युथ क्लबलाई ३ वटा कम्प्युटर र एउटा ल्यापटप प्रदान गरेको छ । मैत्री समाजले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उक्त कम्युटर र ल्यापटप जैसी देवल युथ क्लबलाई हस्तान्तरण गर्नुभएको हो ।

स्थानीय युवाहरूलाई नि:शुल्क कम्प्युटर तालिम प्रदान गरी सक्षम बनाउने उद्देश्यले मैत्री समाजले स्थानीय क्लबलाई कम्प्युटर र ल्यापटप सहयोग गरेको मैत्री समाजका अध्यक्ष प्रेम लस्करेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष लस्करेले नेपाल–भारत सम्बन्धलाई जनस्तरमा प्रगाढ बनाउन मैत्री समाजले थुप्रै सामाजिक कार्यहरू गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरू गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री केसीले भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरूले पनि महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै भन्नुभयो– ‘भारतको स्वतन्त्रता आन्दोलनमा संलग्न भएकै कारण हाम्रा नेताहरूले त्यहाँ जेल जीवन पनि बिताएका थिए । त्यस्तै नेपालको लोकतान्त्रिक लडाईमा पनि भारतको सहयोग र समर्थन रहँदै आएको छ ।’ उहाँले नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्दै जाओस् भन्ने कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा भारतका लागि नेपालका पूर्व राजदूत दिप कुमार उपाध्यायले नेपाल–भारत सम्बन्ध कुनै नेताले बनाएको नभई संस्कृति, धर्म र रितिरिवाजको विरासत भएको र यो सरकार वा जनस्तरको सम्बन्धभन्दा निकै गहिरो भएको धारणा राख्नुभयो । उहाँले नेपाल–भारतबीच रहेको समस्या समाधान नै निकाल्न नसकिने गरी विकराल नभएको टिप्पणी गर्दै दुबै देशका राजनीतिक नेताहरूले ईच्छाशक्ति प्रदर्शन गर्ने हो भने समस्याको जड पहिचान गरी समाधान गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा भारतीय दूताबासका काउन्सिलर अनिल गिरीले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक र अनुपम रहेको चर्चा गर्दै यसलाई थप उचाईमा पुर्‍याउनुपर्नेमा जोड दिनुभएको थियो ।

पूर्वमन्त्री हिसिला यमी, जनता समाजवादी पार्टीका नेता मनिष सुमन, प्राडा लोकराज बराललगायतले दुई देशबीचको सम्बन्ध अतुलनीय भएको भन्दै सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच काठमाडौंस्थित भारतीय दूताबासले भारतको ७६ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सशस्त्र बलका दिवगंत नेपाली सैनिकको योगदानको कदरस्वरुप ती दिवंगत सैनिकका श्रीमती र नजिकका नातेदारहरूलाई २ करोड ६५ लाख रुपियाँ वितरण गरेको छ ।

कार्यक्रममा दूताबासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कृत गरेको थियो । आजादीका अमृत महोत्सव भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको अवधारणा हो ।

दूताबासमा सोमबार आयोजना गरेको कार्यक्रममा दूताबासका काउन्सिलर प्रसन्न श्रीवास्तवले उक्त रकम दिवंगत सैनिकका श्रीमती र नजिकका नातेदारलाई हस्तान्तरण गर्नुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्