गाई पालनबाट मनग्य आम्दानी गर्दै कमला



स्याङ्जा। 

जिल्लाको भीरकोट ६ ठाडो हटियाकी कमला गोदार व्यावसायिक गाई पालनमा लाग्नुभएको पनि ९ वर्ष भयो । महिलाले आर्थिक उपार्जनमा जोडिनुपर्छ भन्ने मान्यताका साथ गोदार अहिलेसम्म पनि निरन्तर गाई पालन गरी दूध विक्री  गर्दै आईरहुनु भएको छ । उहाँले एक्लै निरन्तर ५ वटा उन्नत जातका गाई पालन गरी दैनिक ६० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।

२०७२ देखि लगनशील महिला गाई पालन फर्म दर्ता गरी व्यावसायिक दूध उत्पादनमा लाग्नुभएकी गोदार श्रीमानले विदेशमा कमाए पनि आफूले  पनि केही  गर्नुपर्छ भन्ने मान्यताका साथ गाई पालनमा लाग्नुभएको हो । बयरघारी स्थित शुभ लक्ष्मी सहकारीले गाई पालनका लागी ऋण सहयोग गरेपछि उहाँले दुई वटा गाईबाट व्यावसायिक गाई पालन सुरु गर्नुभएको थियो ।

गोदारले दूध बिक्रीबाट मासिक रुपमा ९० हजारको कारोबार गर्दै आउनुभएको छ । होलिस्टोन जातका उन्नत गाईले दूध धेरै दिने भन्दै सम्पुर्ण गाईको बिमा समेत गरेको गोदारले बताउनुभयो । दुधमा ल्याक्टो हेरेर ५० देखि ५५ रुपैँया प्रतिलिटर दूध बिक्री भइरहेको छ । गोदार जस्तै अन्य कृषकहरुले उत्पादन गर्नुभएका दूध भीरकोट सहकारी संस्थाले बजारीकरण गरिदिएको छ ।

समय समयमा दाना र सुख्खा घाँसको उचित व्यवस्थापन गर्न सकियो भने होलिस्टोन जातका गाईले पर्याप्त दूध दिन्छन् । यी गाईहरु हेर्दा भने दुब्ला र पातला देखिन्छन् । बजारमा खपत हुने दूध सहकारी मार्फत बिक्री भइरहेको छ भने बाँकी रहेको दूध पोखरामा खपत हुँदै आएको छ । दैनिक बिहान ४ बजेदेखि उहाँको गोठमा काम सुरु हुन्छ । एक्लै ५ वटा गाईको लागी आवश्यक घाँस काट्ने दाना व्यवस्थापन गर्नेलगायतका काममा उहाँ आफै खटिनुभएको छ ।

बयरघारीको पुलको मुखमा रहेको दुग्ध संकलन केन्द्रमा दूध जम्मा हुन्छ भने भीरकोट नगरपालिकाले दूध ढुवानीमा अनुदान समेत दिँदै आएको छ । गाईको दूध बिक्रीबाट मासिक रुपमा एटिएमबाट पैसा बुझ्दा कमला निकै खुसी समेत हुनुहुन्छ । दुई छोराछोरीको पालनपोषण गरेर समेत कमलाले गाई पालन गर्न भ्याउनुभएको हो । श्रीमान् श्रीमती रथका दुई पाङ्ग्रा रहेकाले घर व्यवहारदेखि हरेक कुरामा दुवैको महत्त्वपूर्ण हात हुने भन्दै श्रीमानकै भरमा नपरी श्रीमती समेत आर्थिक उपार्जनमा लाग्नुपर्ने कमलाको विचार छ ।

आगामी दिनमा गाई पालनलाई अझै विस्तार गर्ने उहाँको सोँच छ । गण्डकी प्रदेशबाट समेत अनुदान पाउनुभएकी गोदारले श्रीमानलाई बोलाएर दुईजनाले संगै गाई पालनलाई विस्तार गर्ने बताउनुभयो । अनुदानकै लागी भन्दा पनि आफ्नो लागी गर्नुपर्छ भन्ने भावनाका साथ निरन्तर परिश्रम गर्नुपर्ने उहाँको सोँच छ । पशुपालनका लागी आवश्यक प्राविधिक सहयोग नगरपालिकाले गर्दै आइरहेको छ ।

विदेशमा मात्रै नभई यहीँ श्रम गरेमा मनग्य आम्दानी गर्न सकिने भन्दै उहाँले श्रीमानलाई पनि स्वदेश फिर्ता बोलाउनुभएको छ । स्कुले बच्चा सहितकी महिला व्यावसायिक रुपमा अगाडि बढ्दा धेरै संर्घष गर्नुपरेको गोदारको भनाई छ । व्यवसायमा विभिन्न चुनौती व्यवहोर्दै आउनुभएकी गोदार कुनै पनि काम गर्न मन आँटिलो बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुहुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्