काठमाडौं दरबार स्क्वायरको अध्यक्षमा वज्राचार्य



काठमाडौं ।

काठमाडौं दरबार स्क्वायर पर्यटन प्रर्वद्धन संघको अध्यक्षमा शैलेन्द्रमान वज्राचार्य निर्वाचित हुुनुभएको छ ।

संघले सोमबार वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको घोषणा गरेको हो । समितिको महासचिवमा पुरुषोत्तम डंगोल र कोषाध्यक्षमा सञ्जयमान श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा दिनेश सुवाल, किरण श्रेष्ठ, चिरनरत्न शाक्य, डिल्लीरत्न तुलाधर, मसिन मुलेपति र अभिनवदास श्रेष्ठ हुनुुहुन्छ ।

हनुमानढोका दरबार क्षेत्रको संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धनमा सघाउँदै त्यसमार्फत् स्थानीयको आर्थिक स्तर उकास्ने उद्देश्यले संघ २०६२ सालमा स्थापना भएको हो ।

हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा घुम्न आउने पर्यटकहरुका लागि आवश्यक पूर्वाधार र वातावरण बनाउँदै स्थानीयलाई स्वरोजगार बन्ने स्थिति बनाउन होम स्टे, सुविधाजनक होटेल, रेष्टुरा खोल्न चाहनेहरुलाई तालिम तथा प्रशिक्षण दिने र उद्यमशीलता विकास गर्ने संघको मुख्य उद्देश्य रहेको अध्यक्ष बज्राचार्यले बताउनुभयो ।

‘यहाँ आउने पर्यटकले देखेका समस्याको समाधान, सुधार गर्नुपर्ने विषयको पहिचान तथा सम्बोधन गर्ने र स्थानीय नागरिकको सुझाव अनुसारका कार्य गर्नेछौं’ अध्यक्ष बज्राचार्यले भन्नुभयो ‘सम्पदा वरपरका बासिन्दाको जनजीवनमा यस संस्कृति र सम्पदाले पारेको प्रभाव, आर्थिक उन्नति, सांस्कृतिक सम्मानको पहिचान आवश्यक छ । हरेक स्थानीय वासिन्दाले यसको पहिचानपछि मात्र यसको संरक्षणमा सक्रियता बढाउने छन् ।’

संघले आफ्नो उद्देश्य र योजनाको विस्तृत जानकारी सरोकारवालासँंग बृहत छलफल गरी दुई सातापछि सार्वजनिक गर्नेभएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्