बनेपाको योग भवनमा नि:शुल्क स्वास्थ्य शिविर



काभ्रे।

पतञ्जलि योग समिति काभ्रेपलाञ्चोकको आयोजना तथा आर्युवेद पञ्चकर्म हेल्थ होम बनेपाको संयोजनमा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको ५० औ शुभजन्मोत्सव तथा जडीबुटी दिवसको अवसर पारी बनेपाको योग भवनमा १५ दिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरको नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गर्नु भएको छ ।

‘१५ दिनको शिविरमा सबै रोगको परामर्शका साथै मधुमेह भएका बिरामीहरूलाई निःशुल्क परीक्षण गरी भर्खरै मधुमेह देखिएका व्यक्तिहरूको विशेष उपचार हुनेछ’–आयुर्वेद पञ्चकर्म हेल्थ होम तथा पतञ्जलि योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले भन्नुभयो–‘बिहान १० बजे देखि आयुर्वेद परामर्शदाता डा. अभिषेक ताम्राकारले दिउसो १ बजेसम्म सहभागीहरूलाई उपचार गराउनु हुनेछ ।’

सत्मार्ग, सत्कर्मका लागि योग महत्त्वपूर्ण बनिरहेको सन्दर्भमा शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि योगको प्रवेशले व्यक्तिलाई स्वस्थ बनाउने अभियान सफल पार्नु पर्ने अध्यक्ष तौजलेलले बताउनु भयो । शिविरको उद्घाटन पछि नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिका भित्रका नागरिकहरूलाई हरेक क्षेत्रबाट समृद्धि बनाउन योग महत्त्वपूर्ण भएकाले योग मार्फत हुने हरेक क्रियाकलापमा नगरपालिका साझेदार समन्वय गर्न तयार रहेको बताउनु भयो ।

शिविरमा वडा अध्यक्षहरु बलराम अधिकारी, हिटलर शाक्य, पतञ्जलि योग समिति बागमती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ तथा विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको प्रकाश कायस्थले जानकारी दिनुभयो ।

१५ दिनको शिविरमा सहभागी भएका मध्ये मधुमेह देखिएको एक वर्ष पुरा नभएकाहरु मध्येबाट १० जनालाई नियमित परिक्षण गरी औषधी सेवन विना नै मधुमेह नियन्त्रण गर्न सक्ने तर्फ केन्द्रीत गरी उनिहरुको सफल अभ्यासबाट अन्य व्यक्तिहरूलाई पनि त्यही विधिको उपचार सेवा सुरु गर्ने गरी शिविर आयोजना गरिएको डा. अभिषेक ताम्राकारले बताउनु भयो ।

बनेपाको योग भवनमा सुरु भएको आयुर्वेद पञ्चकर्म हेल्थ होममा शिरोधारा, अभ्यङ्ग, वास्प स्वदेन, वमन, जानुवस्ति, कट्टीबस्ति लगायतका सेवा उपलब्ध छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्