सबै जिम्मा मेयरले लिनुपर्ने हो भने अरु किन चाहियो ?



राजधानीको फोहोर व्यवस्थापन अहिलेको जटिल समस्या हो । फोहोर उठ्न नसकेको महिनौं बितिसकेको छ । काठमाडौं महानगरपालिकाको फोहोर नउठ्नु मेयर बालेन्द्र साहको मात्र कमजोरी हो ? फोहोर उठाउने जिम्मेवारी उनकै मात्र हो ? कि त प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शहरी विकासमन्त्री मेटमणि चौधरीको पनि हो ?
आफू केही नगर्ने अनि फोहोरमा पनि राजनीति गर्न खोज्ने ? नियतले पनि यस्तो गर्न दिन्छ ? उपमेयर सुनिता डंगोल एमालेबाट छिन् तर गर्ने केही होइन ।

एक्लो भएको मौका छोपेर यिनीहरुले बालेन्द्रलाई शिथिल बनाएका छन् । यता, बालेन्द्रले काम गर्न पनि नदिने अनि दोष मात्र लगाउने । नगरसभाको बैठकमा बालेन्द्रलाई एक्लो पारेर बोल्नसमेत दिँदैनन् । वडाध्यक्षहरुले उनको एउटा कुरा पनि टेर्दैनन् अनि कसरी अघि बढ्ने ?सुझाव माग्यो भने विवाद गर्न खोज्ने पार्टीगत वडाध्यक्षहरुकै कारण पनि फोहोर उठाउन सकस परेको हो । यता, नुवाकोटको बन्चरेडाँडामा आन्दोलन गर्ने र फोहोर लैजान नदिने पनि झोले कार्यकर्ता नै हुन् । बन्चरेडाँडाको स्थानीय उचाल्नुमा प्रधानमन्त्री देउवा र ओलीको ठूलो हात छ । सहयोग कसैले नगर्ने अनि एक्लै यत्रो महानगरको फोहोर उठ्छ ? बालेन्द्रलाई सिध्याउनका लागि पूरै गिरोह नै मिलेका छन् ।

यहाँ त काठमाडौंको फोहोर उठाउने जिम्मा बालेन्द्रको जस्तो मात्र देखिन्छ । आफ्नो वडाको फोहोर व्यवस्थापन गर्ने दायित्व वडाध्यक्षकै हो । वडाको सरसफाइ पनि वडाध्यक्षकै जिम्मेवारी हो । वडाध्यक्षहरु हात बाँधेर बस्ने अनि मेयरको खुट्टा तानेको तान्यै गर्ने । यदि हरेक वडा चहारेर मेयरले काम गर्ने हो भने वडाध्यक्ष किन चाहियो ? बेकारमा राज्यको सम्पत्ति किन दोहन गर्ने ?पार्टीबाट आएका सबै वडाध्यक्षले सामूहिक राजीनामा दिनुप-यो, जे–जे काम छ सबै मेयरले नै गर्छन् । समन्वय गरेर काठमाडौंवासीलाई सहजता बनाइदिनुको साटो कसरी नीचा देखाउने भन्ने मात्र छ । यता, उपमेयर डंगोलको कसैले नाम पनि लिएको सुनिदैन् ।

जति बेला पनि त्यही बालेन्द्रले केही काम गरेन भन्यो अनि अरुको टाउकोमा दोष थुपा¥यो । मेयर मात्र होइन, उपमेयर र वडाध्यक्ष पनि काम गर्न असफल भएका छन् ।
अरुमाथि जुठो छर्केर आफू चोखो बन्ने काम काठमाडौंका वडाध्यक्ष र उपमेयरले नगरे नै बेस होला । स्वतन्त्रले जितेको प्रतिशोध साँधेर एउटा व्यक्तिलाई कतिसम्म नङ्ग्याउन खोज्ने ? हिजो ठूलो कुरा त उपमेयर र वडाध्यक्षले पनि गरेका थिए । खोइ त नतिजा ? एक प्रतिशत पनि केही विकास भएको छैन भने यिनीहरुकै कारणले फोहोर पनि उठ्न सकेन । काम गर्छु भनेर पाइला अघि सारेका व्यक्तिलाई झोले कार्यकर्ताहरुले रोक लगाएका छन् । मेयरमा पछारिएका एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहको बालेन्द्रलाई असफल पार्न ठूलो हात छ ।

अर्कोचोटि आफ्नो पार्टी आओस् भन्ने स्वतन्त्रलाई थिचोमिचो गर्ने काम भइरहेको छ । जनता सडकमा ल्याएर त्यत्रो आन्दोलन गर्न लगाउने पनि चुनाव हारेका व्यक्तिहरु नै हुन् । पदका लोभीहरुले मुलुक सखाप पार्ने निश्चित छ । यता, निवर्तमान उपमेयर हरिप्रभा खड्गीले एउटा कार्यक्रममा आफूहरुको सल्लाहविना मेयरलाई हल्लिन पनि नदिने बताएकी थिइन् ।

उनी को हुन् ? यसअघिको असफल र नालायक उपमेयर आफू पदमा बसुन्जेल एउटा सिन्को भाँच्ने काम पनि गरेनन् । यिनीहरुको पालामा पनि सडकको फोहोर यस्तै थियो । बालेन्द्रले पटकपटक बैठक बोलाएर फोहोर कसरी व्यवस्थापन गर्ने भनेर सुझाव मागिरहेका छन् । तर, सुझाव दिन पनि ¥याल काढेको देखिन्छ । तत्कालीन मेयर विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गीले त्यति पनि गरेनन् ।

फोहोरकै कारणले महामारी फैलिने अवस्था सिर्जना भएको छ । जनतालाई बाटो हिँड्न पनि धौधौ परेको छ । यस्तोमा पनि पार्टीकै बारेमा सोच्नु, उसकै निर्देशनको आधारमा चल्नु कतिसम्म लज्जास्पद विषय हो । काठमाडौंवासीले पनि फोहोर उठाउन पहल गर्नुपर्ने भएको छ । आफ्नो शहर सुन्दर चाहिएको छ भने जनताले पनि आवाज उठाउनुपर्छ । यता, पार्टीको पछि लागेर आरोप–प्रत्यारोप गर्ने वडाध्यक्षहरुलाई राम्रो सबक सिकाउनुपर्छ । अबको चुनावमा कांग्रेस र एमालेलाई कसैले पनि भोट दिनुहुँदैन । यिनीहरुकै कारण काठमाडौं ध्वस्त भयो ।

बालेन्द्रको पार्टी भनेकै जनता हो । जनताले नै उसलाई साथ दिएनन् भने कसरी शहर सफा र सुन्दर हुन्छ ? अझै पनि पार्टीकै कार्यकर्ता बनेर सोच्ने हो भने राजधानीको हाल बेहाल हुन्छ । नगरसभाको बैठकमा बालेन्द्रलाई बोल्न पनि दिइएन । उनलाई वडाध्यक्षहरुले प्याकप्याकी बनाए । सबै आरोप उनीमाथि पनि खन्याएर अरु सबै पन्छिए । यिनीहरुको योजना बालेन्द्रलाई भित्तामा पु¥याएर छाड्ने थियो, जसमा उनीहरु सफल हुँदै गएका छन् । तर, काठमाडौंको हाल के हुन्छ ? यो यिनीहरुले देखेका छैनन् । तत्कालीन मेयर र उपमेयरले महिनौ दिनदेखिको फोहोर बालेन्द्रलाई सुम्पिएर गएका थिए ।

अरुको पालाको फोहोर उठाउने ठेक्का पनि उसकै हो ? काठमाडौंका जनताले समेत यतिखेर बालेन्द्रलाई साथ दिएको देखिँदैन । उसले पटकपटक फोहोर वर्गीकरण गर, फोहोर व्यवस्थापन गर्न ठाउँको खोजी नभएसम्म घरमा राख भनेर आग्रह गर्दा पनि कोही सुन्न चाहँदैनन् । आफ्नो घर सफा चाहिनेलाई सडकचाहिँ किन नचाहिएको होला ? जनता आफैँ पनि अलिकति जिम्मेवार भइदिए राजधानीको फोहोर उठाउन त्यति अप्ठ्यारो पर्दैन ।

अब बालेन्द्रले फोहोरको जिम्मेवारी छोडिदिए पनि हुन्छ । वडाध्यक्षले नै फोहोर व्यवस्थापन गर्नुपर्ने निर्णय उनले गर्नुपर्छ । राजधानी सुधार्नु मेयरको मात्र जिम्मेवारी होइन । वडाभित्रको समस्या समाधान गर्नु वडाध्यक्षको कर्तव्य हो । त्यसैले मेयर अब आफैं सतर्क हुनु-पयो । किनकि वडाध्यक्षले जानाजान विवादमा ल्याउन खोजेका छन् । यता, बन्चरेडाँडाका स्थानीयहरु दहीचिउरे भए ।

कि त फोहोर नै फाल्न नदिने भनेर अडान लिनुप¥यो । होइन भने कहिले फाल्न दिने भन्ने कहिले सडकमा उत्रिने । विभिन्न माग राख्ने अनि आएको पैसा ल्यामल्युम पार्ने । त्यसपछि फेरि आन्दोलन गर्ने । अडानमा टेकेपछि सरकारले पनि केही गर्न सक्दैन । जनता मारेर फोहोर फाल्ने कुरा त आउँदैन । बन्चरेडाँडाका स्थानीयहरु पनि पैसामा बिके । फोहोरका कारणले उनीहरुलाई समस्या परेको सबैले बुझेका छन् तर छिन्मै कुरा फेर्नु त भएन ।

अब फोहोर व्यवस्थापन अझै जटिल हुन्छ । आफ्नो घरबाट निस्केको फोहोर आफैंले जिम्मा लिने भनेर सरकारले नीति ल्याउनुप-यो । उत्पादनकर्ताले नै फोहोर व्यवस्थापन गर्नुपरेपछि त सबैको चेत खुल्ला । सरकारले फोहोरको जिम्मा लिनु नै घाँडो बनेको छ । काठमाडौंका बासिन्दा आफू घर बनाउने, भाडामा लगाउने अनि बन्चरेडाँडाका जनतालाई दुःख दिने । मोज आफूहरु गर्ने अनि सास्ती अरुलाई दिने ।

आफू मन्त्री पदबाट हटेको आवेगमा आएर रामकुमारी झाँक्रीले पर्दाभित्र बसेर बन्चरेडाँडाका जनता उचालेको कुरा सुन्नमा आइरहेको छ । मन्त्री पदको मोह झाँक्रीमा कति छ ? अहिले पनि स्पष्ट देखिन्छ । २०७९ जेठ २७ गते झाँक्रीले अब काठमाडौंको फोहोर उठ्छ । उनीहरुको माग पूरा गरेको र फोहोर उठाउनमा कुनै अवरोध नहुने भनेर दाबी गरेकी थिइन् । तर, खोइ त ? अहिले पनि काठमाडौंको फोहोर जस्ताको त्यस्तै छ । महानगरभन्दा ठूलो जिम्मा शहरी विकास मन्त्रालयको हो । शहर व्यवस्थित बनाउने, फोहोर उठाउने र सुन्दर बनाउने पनि मन्त्रालयकै मातहतमा पर्दछ ।
– रुसा शर्मा ।

प्रतिक्रिया दिनुहोस्