१२ घण्टा चल्छ जिल्ला प्रशासन : सेवाग्राही आउँछन् मध्यरातमा



काभ्रे । 

सेवाग्राहीहरुको चापका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले विभिन्न कार्यालयको समन्वयमा बिहान ७ बजे देखि साँझ साढे ७ बजेसम्म सेवा दिन थालेको १६ दिन भएको छ तर सेवाग्राही मध्यरात देखि लाइनमा बस्न छाडेका छैनन् ।

‘राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरू मध्यरातबाट लाइन बस्न थालेसँगै त्यसलाई रोक्न प्रशासन कार्यालयमा भएको जनशक्तिको अलावा थप जनशक्ति व्यवस्थापन गरेर बिहान ७ बजेबाट साँझ ७ बजेसम्म सेवा प्रारम्भ गरेका छौँ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘सेवाग्राहीहरूले तोकिएको समय भित्र आउँदा पनि सेवा उपलब्ध हुन्छ भन्ने विश्वास दिलाएका छौँ तर पनि उहाँहरू लाइन बस्न छाड्नु भएको छैन ।’

राष्ट्रिय परिचयपत्रका लागि जिल्लामा दुई वटा क्यामेरा स्टेसन राखिएको छ । दैनिक ८० जनाको क्षमता हुँदा पनि एक सय भन्दा धेरैको फोटो खिच्ने गरिएको थियो । अहिले दैनिक १ सय ५० भन्दा धेरैको फोटो खिचाउँदा पनि सर्वसाधारणको लाइन घटेको छैन । प्रशासन कार्यालयले भिड व्यवस्थापनका लागि १३ वटा पालिकालाई बार अनुसारको समय तोकेको छ । उक्त समय भित्र परिचयपत्र बनाउन आउनेहरूको भिडले प्रशासन कार्यालय अस्तव्यस्त बनेको महिनौँ भई सकेको छ ।

‘राष्ट्रिय परिचयपत्रका लागि बनेपामा रहेको निष्ट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले बिहान ११ बजेबाट साँझसम्म निःशुल्क सहयोग गरिरहेका छन्’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘कार्यालयमा कार्यरत कर्मचारी बिहान ७ बजे देखि साँझ साढे ७ बजेसम्म निरन्तर क्रियाशील छन् । थप सेवा सुविधा उपलब्ध गराउन सकिएको छैन । तर पनि नागरिकको सेवाका लागि उहाँहरू निरन्तर खटिइरहनु भएको छ ।’

अधिकृत परशुराम थापाको नेतृत्वमा अन्य कर्मचारीहरूको टिम निरन्तर साढे १२ घण्टा सेवामा खटिएको भए पनि सेवाग्राहीले भने गुनासो गरिरहेका छन् । ‘स्टेसन नथपिँदा सम्म समस्या समाधान हुने देखिएन’– अधिकृत परशुराम थापाले भन्नुभयो–‘दैनिक साढे १२ घण्टा काम गर्दा पनि नागरिकहरूको चित्त बुझाउन सकिएको छैन ।’ राष्ट्रिय परिचयपत्रको फाराम अनलाइन भर्नु पर्नेछ । एउटा फाराम भर्न १५ मिनेट लाग्छ भने त्यस पछि फोटो खिचाउने प्रयोजनमा १० मिनेटको समय खर्च हुन्छ । निष्ठ कलेजका विद्यार्थीहरूले फाराम भरिदिँदा समयको बचत भएको छ ।

यस अघि नागरिकहरूले आफै फाराम भरेर ल्याउँदा कम्प्युटर इन्ष्टिच्युटहरुले मनलाग्दी पैसा लिएको उजुरी पछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कार्यालय भित्रै उक्त सेवा दिने निर्णय गराएसँगै नागरिकहरूको रकम बचत हुन थालेको छ । ‘नागरिकहरूलाई ४-५ सय सम्म फाराम भर्न लिएको उजुरी आए पछि बाहिर फाराम भर्न बन्द गरेर कार्यालय भित्रै सुरु गरेका हौँ’– प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘केही ढिला भए पनि नागरिकहरू ठगिनबाट जोगाउ भन्ने उद्देश्य हो ।’

स्टेसन थप्न र जनशक्ति व्यवस्थापनका लागि गृह मन्त्रालयमा पटक पटक अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो । रोशी गाउँपालिका घर भई भक्तपुर डेरा लिएर बस्ने सिता तामाङका श्रीमान् रातको १ बजे लाइन बसेर बिहान ७ बजे श्रीमती सीताको फोटो खिचाए । सीताले बनाएर राखौँ भन्ने उद्देश्यले मात्रै परिचयपत्र बनाएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि राहदानी बनाउनेहरूको चापका साथै नयाँ नागरिकता बनाउनेहरूका कारण राष्ट्रिय परिचयपत्र बनाउनेहरूको भिड बढेको बताउनु भयो ।

जिल्लामा अभियानका क्रममा २ लाख ८ हजार नागरिकको परिचयपत्रका लागि फोटो खिचाएको थियो भने आर्थिक वर्ष २०७७-२०७८ मा ६ हजार ४ जनाले फोटो खिचाए । आर्थिक वर्ष २०७८-२०७९ मा १३ हजार ९ सय ८४ जना र २०७९-२०८० मा ८ हजार ६ सय ८९ जनाले फोटो खिचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्