बञ्चरेडाँडाका स्थानीयकाे भदौ १ गतेदेखिकाे आन्दोलन स्थगित



काठमाडौं ।

सिसडोल–बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाको फोहोरमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् । मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।

दुबै ल्ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गतेदेखि सधैँका लागि राजधानीको फोहोर ढुवानी बन्द गर्ने घोषणा गरेका थिए । मन्त्रालयको निर्णयसँगै तत्काल आन्दोलन फिर्ता लिएको बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

ढुंगानाले सिसडोल (बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभाबित कोल्पुखोला आधारक्षेत्रका आम जनसमुदाएको जिउधन वातावरण रक्षाको लागि नेपाल सरकारले इतिहासिक निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

मन्त्रालयको निर्णयानुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिनेछ । “भदौ १ गतेदेखि नै सधैँका लागि फोहोर बन्द गर्ने घोषणा गरेका थियौँ । मन्त्रालयको निर्णयसँगै आन्दोलन फिर्ता लिएका छौँ । तर, रचनात्मक आन्दोलन निरन्तर रहनेछ,” उनले भने, “आज पनि स्थानीयको आन्दोलन जारी छ ।” सरकार प्रभावित क्षेत्रको दीर्घकालीन समाधानमा दृढ रहेकाले काठमाडौं उपत्यकाको समस्या समाधानमा काठमाडौं महानगरपालिलाई आफ्नो कर्तव्यबाट बिचलित नहुन ढुंगानाले सुझाएका छन् ।

स्यानिटरी ल्याण्डफिल साइटका सहायक ईन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज बिहानैदेखि फोहोर उठ्न सुरु भएको छ । आइतबार दिउँसो बाख्रालाई ठक्कर दिएको भन्दै र तिनपिप्ले सडकखण्डमा फोहोर बोकेका ट्रकहरूले बाटोमै फोहोर फालेको निहुँमा अवरोध गरेका थिए ।

आइतबार साँझ धुनिवेशी–१ का नेपाली कांग्रेस सभापति पूर्ण सिंह तामाङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष विष्णु तामाङ र नेकपा (एकीकृत समाजवादी)का भीषण धितालले नगर कार्यसमितिका अध्यक्ष तथा सभापतिलाई पत्राचार गर्दै फोहोर मैला सधैँका लागि बन्द गर्न माग गरेका थिए ।

पटक–पटक गरी अहिलेसम्म १७४ वटा सम्झौता भएको तर कार्यान्वयन नगरिएको भन्दै स्थानीय तहले पनि नागरिकसँगै आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।

पटक–पटक स्थानीयले अवरोध गर्दा महानगरले लामो समयदेखि फोहोरमैला व्यवस्थापनका लागि साइटको प्रहरीको सुरक्षा माग्दै आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आवश्यकता अनुसार प्रहरी पठाइएको बताए ।

प्रभावित क्षेत्रका गाउँ–गाउँमा गन्धनिरोधक औषधि र स्वास्थ्यका सन्दर्भमा दैनिक कर्तव्यनिष्ठ हुन मेयर बालेन्द्र शाहलाई समितिले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्