सिंहका शिशुले ल्याए गाजामा खुशीयाली



एजेन्सी।

युद्धले क्षतिग्रस्त गाजा सहरमा सिंहका नवजात शिशुले खुशीयाली ल्याएका छन् । यहाँको चिडिया घरमा दुर्लभ रमाइलो दृश्य देखेका सबैले युद्धले थोपरेको तनावबाट केही आनन्द महसुस गरेका छन् ।

शनिबार यहाँको चिडियाखानामा सिंहका तीनदिने तीनवटा शिशु प्रदर्शनीमा राखिएको थियो । नामा चिडियाखानामा शनिबार सिंहका छाउराको प्रदर्शनीले बालबालिकामात्र नभइ वयस्कहरू पनि आल्हादित भएका थिए । इजरायली विमानले बम वर्षा गरिरहँदा प्रसव वेदनाले छटपटाएकी सिंहीनीले यस पटक भने स्वस्थ शिशु जन्माइन् । यसअघि उनको गर्भपात भएको पशु चिकित्सक महमुद अल सुल्तानले बताए ।

कर्कश र चर्को आवाजबाट जङ्गली जनावरलाई तनाव हुने र पिँजरामा कैद उच्च गर्जन भएको जङ्गलको राजालाई मात्र होइन तारन्तारको बमबारीले अन्य जनावरलाई पनि जोखिममा पार्ने उनी बताउँछन् ।

इजरायलसँगको द्वन्द्वका कारण विगतमा यहाँका केही निजी चिडियाघरका पशु आहारा नपाएर मरेका थिए भने केही भने मानव–मानवबीचको झगडमा मारिएका थिए । पशुकल्याणका निम्ति कार्यरत अन्तर्राष्ट्रिय समूहले यहाँका सिंह र बाघलाई जोर्डन र अफ्रिकाका आरक्षण केन्द्रमा सारिएका थिए । चिडियाघरबाट पशुलाई स्थानान्तरण वा उद्धार गर्नु आफैमा कठिन र चुनौतीपूर्ण काम हो भने त्यसको आर्थिक लागत पनि तुलनात्मकरूपमा बढी हुन्छ ।

यहाँका विद्यालयले बालबालिकालाई नियमितरूपमा चिडियाखानाको भ्रमण गराउने गरेका छन् । हरेक विद्यार्थीबाट प्रवेश शुल्कबापत एक अमेरिकी डलर लिइन्छ जुन चिडियाघरको खर्च व्यवस्थापनमा उपयोग गरिन्छ । नामा चिडियाखानामा सिंह र बाघबाहेक विभिन्न प्रजातिका चराचुरूङ्गी, बाँदर, ब्वासा, हरिण र स्याल पनि छन् ।

प्रतिक्रिया दिनुहोस्