निर्वाचनको मिति र भ्रमित अन्तिम पाँचबर्से नारा



आउँदो मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने मिति तोकिएको छ । निर्वाचन हुने मिति तोकिनुअघि र पछि गरेर केही राजनीतिक घटनाक्रमहरुले जनजनमा स्थान जमाएको छ ।

यसमा कति पनि विमति छैन कि लोकतन्त्रको मेरुदण्ड भनेको निर्वाचन नै हो । जनताले जनतालाई सम्मान गर्ने र दण्ड दिने दुवै विषयहरु निर्वाचनले नै समेट्ने गर्दछ । निर्वाचनको मिति घोषणा नगरेर निर्वाचन सार्ने परिपञ्चमा सरकार लागिपरेको छ भन्ने भाष्यमा निर्वाचनको मिति घोषणापछि पूर्णविराम लागेको छ ।

जनताको आवाज नबोल्ने, जनताको समस्या समाधानमा लागि नपर्ने जनप्रतिनिधि र समुच्च दललाई नै पुरस्कृत गर्ने कि दण्ड गर्ने, जनन्यायिकको कठघरामा उभिएका दल र दलका प्रतिनिधि वा स्वतन्त्र जोसुकै हुन्, तिनीहरुलाई निर्वाचनको माध्यममार्पmत आफ्नो मत प्रयोग गरेर जनकार्यवाही गर्ने वा पुनः पुरस्कृत गर्ने, जनजनको काँधमा जिम्मेवारी आइपुगेको छ ।
वर्तमान सत्ताका शासकहरु र प्रमुख प्रतिपक्ष वर्तमानमा प्रतिपक्ष (नदेखिएका)हरुका विगतदेखिका काम–कारबाहीबाट जनता पक्कै वाक्कदिक्क भएका छन् ।

त्यसको विरुद्धमा खरो उत्रिन सक्ने नेतृत्व जनताले खोजिरहेकोमा विमति छँदै छैन । अबको निर्वाचनमा विश्वासिलो नेतृत्व खरोरुपमा उत्रेर सोही अनुरुप जनजनको मन छुने कार्यक्रम पस्किन सक्यो र जनजनको विश्वास जित्न सक्यो भने आगामी पाँच वर्षको लागि उदाउने भनेको त्यही नेतृत्व नै हो भन्ने कुरामा द्विविधा छैन । स्थानीय निर्वाचनको नतिजाले पनि यो कुराको सांकेतिक विचरणलाई सघाउ पु-याएको देखिन्छ ।

अब आउने निर्वाचनमा राजनीतिक दाउपेचलगायत दृश्य, अदृश्य हेराफेरीमा माहिर कहलाइएका पुराना राजनीतिक दलहरू र गलत राजनीतिक हतकण्डाविरुद्ध संघर्ष गर्न सकिन्छ भन्दै नयाँ दलको रुपमा उदाउन खोजेका केही पुराना दर्तावाल दलहरु र भर्खरै दर्ता भएका राष्ट्रिय स्वतन्त्र पार्टी नामका दलहरुबीच प्रतिस्पर्धा हुने लक्षण देखा परिरहेको छ ।राजनीतिकरुपमा पद प्राप्त गरी जनजनको समस्यामा लागिपरेर आफ्नो योगदान दिएका राजनीतिकर्मीहरुले ‘दुई तिहाइ वा बहुमत देऊ वा पाँच वर्षभित्र देशको रुपान्तरण गर्छौं’ भन्ने बाचा २०४६ सालदेखि लगाएको लगायै गरे । जनजनले त्यसलाई स्वाभाविकरुपमा लिएका थिए र उनीहरुको नारालाई पत्याएर प्रत्येक पाइलामा साथ दिए ।

विडम्बना, २०४६ सालपछि जुनसुकै दलका सदस्य सत्तामा पुगे पनि एकाध अपवादबाहेक सबै राजनीतिक नेतृत्वहरुले आफ्नो र आफ्नो गुटको दुनो सोझ्याउनेदेखि बाहेक अरुमा ध्यान केन्द्रित गराउनै सकेनन् । अन्ततः प्रायः दलका सदस्यहरु राजनीतिक व्यवसायीमा परिणत हुन पुगे । जनजनले गएको निर्वाचनमा एकातिर कम्युनिस्टहरूलाई सुधारिएर शासन गर भन्ने सन्देश प्रवाह गरेकै थिए । झन्डै–झन्डै दुई तिहाइको मत प्राप्त थियो कम्युनिस्टहरूलाई । त्यसै गरेर अर्कोतिर कांग्रेसहरूलाई पनि जनजनले छिःछि र दूरदूर गरिहालेका थिएनन् ।

सशक्तरुपमा प्रतिपक्षको भूमिका निभाउन जनादेश प्राप्त थियो । साथसाथै साना दलहरूलाई पनि यदि सत्तामा जाने हो भने सत्तामा नभएका बेलामा पनि जनताका मन छुने कार्यक्रमहरूमार्फत सम्बोधन गरेमा त्यसपछि हुने स्थानीय निर्वाचनदेखि प्रदेशसभा अनि प्रतिनिधिसभाको निर्वाचनमा विचार गरिने सन्देश पनि प्रवाह भएको थियो पाँच वर्षअगाडि । निःसन्देह एउटा सत्य कुरो के हो भने, देशलाई सार्थक सम्बोधन गर्छु भनेर विभिन्न बहानाबाजीमार्फत थरी–थरीका राजनीतिक व्यवसायीहरूका हस्तीहरूले पटक–पटक सत्तामा हालिमुहाली चलाए र वर्तमानमा पनि चलाइरहेका छन् । कहिले कोही सत्ताधारी हुन्छ त कोही प्रमुख प्रतिपक्षी हुन्छन् ।

कम्युनिस्ट नै भए पनि पृथक–पृथक धार बोकेर अगाडि बढिरहेका राजनीतिक व्यवसायीहरू एकै थलोमा जम्मा भएर राज्यको स्रोतलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न कहिल्यै छोडेनन् । जब–जब भागवण्डामा अशान्ति देखिन थाल्यो तब–तब एक–अर्कामा ङ्यारङ्यार र ङुरङुर गरेर जग हँसाउने कार्यलाई कहिल्यै पूर्णविराम दिएनन् । मात्र सत्तामा पुगेका सत्ताधारीहरूलाई कसरी नङ्ग्याउन सकिन्छ भन्दै उनीहरुका दुर्गुण केलाउँदै सत्तासीनहरूलाई सरकारबाट कसरी विस्थापित गराउन सकिन्छ र आफू सत्तामा पुग्न सकिन्छ भन्ने तिकडमबाजीको प्रयोगदेखि बाहेक सुसंस्कृत राजनीतिको कहिल्यै अवलम्बन गरेनन् ।

यो पनि साँचो हो कि साना तथा वैकल्पिक भनिने केही दलले यही कुरालाई मनन गरी संस्थागत क्षमतासहित अगाडि बढ्नु बुद्धिमानी हुनेछ भन्ने जनजनको अनुरोध र आशलाई पनि आत्मसात् गर्न सकेनन् । पूर्वपत्रकार रवीन्द्र मिश्रमा इमान देखिए तापनि बेलाबेलामा अपनाइने गरेको ढुलमुले नीति र मिलन पाण्डे र तिनका समूहहरुको बचकनापनले गर्दा समाज र जनजनको मनमा बसिसकेको दल आजको यो हबिगतमा आइपुग्यो । उदाउँदै गरेका रवि लामिछानेले यही कुरा र यस्ता उदाहरणहरुलाई आफ्नो राजनीतिक जीवनमा शिक्षाको रुपमा ग्रहण गर्दा हुन्छ भन्ने जनजनको आग्रह छ ।

रवि लामिछानेलगायत अन्य नयाँ तथा साना दलहरूले आउने निर्वाचनमा जनमत प्राप्त गर्ने हो भने विचार पु-याउनुपर्ने कुरा के हो भने, आफ्नो दलको स्पष्ट खाका जनसमक्ष पस्किनै पर्दछ । सोही किसिमको आचरण सत्तामा नपुग्दा पनि गरेको छु भनेर जनजनलाई देखाउनै पर्दछ । जनताले ‘अब हामीलाई सत्तामा पु-याइदेऊ, हामी यस्तो–यस्तो गर्छौं’ भनेका भरमा विश्वास गर्दै मत हालिहाल्छन् भन्ने छैन । यी यस्ता कुराहरुबाट आम मतदाताहरु आजित भैसकेका छन् । जुन–जुन काम सत्तामा पुगेपछि गर्छौं भनेका छन्, सत्तामा नपुग्दै पनि त्यो काम गर्न अघि सर्नेलाई जनताले पत्याउने अवस्था रहन्छ ।

अरुलाई भए नि नभए नि रवि लामिछानेलाई भने यो शंकाको सुविधा प्राप्त हुने अवस्थाचाहिँ देखा परेको छ, अर्थात् उनले आपूm पत्रकारको भूमिकामा रहँदा उनले गरेका कार्यहरुका कारण उनको प्रशंसा चुलिएको छ । उनी सत्तामा पुगे भने कम्तीमा यत्तिचाहिँ गर्छन् भन्ने कुरामा थुप्रै मतदाताहरु विश्वस्त देखिएका छन् ।

हामी सत्तामा पुगेपछि ४६ सालयताका उच्च ओहदामा रहेका र पुगेका कर्मचारी र राजनीतिज्ञहरू सबैको सम्पत्ति छानबिन गर्छौं भन्दै सत्ताको बागडोर आफ्नो हातमा पारेपछि आफ्ना बाचा पूरा गर्नु त कता हो कता, उल्टो भ्रष्टाचार र बेथितिलाई बढावा दिँदै जनताको नजरमा स्खलित हुन पुगे ।

पुराना दलका राजनीतिक व्यवसायीहरुका यस्ता नारालाई अब जनजनले विश्वास गरिहाल्ने ठाउँ देखिँदैन । अख्तियारमा तामेलीमा रहेका हजारौं मुद्दाहरु र गठित विभिन्न समितिहरूले आफ्नो प्रतिकूल दिएका प्रतिवेदनहरू गुपचुप गराउने वा तामेलीमा राख्ने वा आफ्नो अनुकूलको छुट्टै समिति गठन गरी प्रतिवेदेन ल्याउने विगतदेखिका कार्यहरूलाई प्रत्येक पुराना दलहरुले निरन्तरता नै प्रदान गर्दै गए ।

पछिल्लोपटक वाक्कदिक्क भएका आफ्नै दलका कार्यकर्ताहरु र जनजनलाई झुक्याउन र भ्रममा पार्न सकिन्छ कि भन्दै पुराना दलका राजनीतिक व्यवसायीहरुले नौलो नारा पस्किन थालेका छन् । उनीहरुको पछिल्लो नारा हो पाँच वर्षपछि पुनः प्रधानमन्त्री नहुने वा राजनीतिबाटै संन्यास लिने ।

उनीहरुको यो नाराबाट के कुरा झल्किन्छ भने, पुराना नेताहरुले अब कार्यकर्तालगायत आम जनमानसलाई विकास र थरी–थरीका अश्वासनले झुक्याउन अब नसकिने भयो भन्ने कुराको मनस्थितिमा पुगिसकेको स्पष्ट पार्दछ । पछिल्लोपटक शीर्षस्थ नेताहरुको बोल्ने कार्यक्रमहरुमा आफ्नै कार्यकर्ता तथा असन्तुष्ट पक्षहरुबाट विरोधका स्वरहरु र होहल्लाहरुका परिदृश्यहरु जुनरुपमा सार्वजनिक हुन थालेका छन्, चाहे त्यो प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्न खोजेको बेला युवाहरुले लगाएका विरोधका नाराहरु हुन् वा एमालेका केपी ओलीले सम्बोधन गर्न लाग्दा गरिएका हल्लाहरु हुन्, या त प्रचण्डले ‘नेताहरु गाउँ–गाउँमा आएमा चोर आयो भन्छन्, यो सत्य हो त ?’ भन्दा आफ्नै कार्यकर्ताहरुले हो भनेपछि तिलमिलाएको अवस्था होस् अथवा अन्य कुनै नेताले बोल्दा असन्तुष्टि देखाइएको वा देखिएको अवस्था होस्, अब जनताले यिनीहरुका भ्रमपूर्ण कुरा र आश्वासन पत्याउनेवाला छैनन् भन्ने प्रस्ट देखिएको छ ।

चाहे नमस्कार गरुन् या खुट्टै ढोगून् या जतिसुकै प्रलोभन दिऊन्, जनता र कार्यकर्ता अब वास्तविक र अर्थपूर्णरुपमा जनतामा परिणत भैसकेका छन् । अब पुराना नेताहरुले भट्याउने गरेका पाँच वर्षपछि पद त्याग्ने वा राजनीतिबाट संन्यास लिने नाराहरुलाई स्थानीय निर्वाचनले पनि गलत साबित गर्न भूमिका खेलिसकेको छ । गोपी हमाल, हर्क साम्पाङ र बालेनजस्ता व्यक्तिहरुको उदयले यसलाई प्रमाणित गरेका छन् । तथापि सकारात्मक परिवर्तनको बाटोलाई पुनः अन्धकारमा फर्काउन सकिन्छ कि भन्दै यी तीनै जनामाथि सुनियोजित प्रहार पनि भैरहेको जनजनले बुझेका छन् र काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा प्रयोग गरिने गाडीहरुमा तोडफोड पनि यसैको पछिल्लो उदाहरण हो भन्ने कुरामा पनि जनजन विश्वस्त भएका छन् ।

पछिल्लोपटक पत्रकारको रुपमा काम गरिरहेका पत्रकार पेसालाई छोडर राजनीतिमा होमिएका रवि लामिछानेको क्रेज दिनानुदिन बढ्दै गइरहेको छ । उनी जहाँ पुग्छ त्यहीँ मानिसहरुको थामी नसक्नु भीड लाग्ने गरेको छ । उनका विरुद्ध पनि केही राजनीतिक व्यवसायीहरुका अनुयायीहरु लागिपरेका छन् ।

सामाजिक सञ्जालहरुमा जे–जस्तो आरोप लगाए पनि सामाजिक सञ्जालमार्पmत नै प्रमाणसहित त्यसलाई चिर्दै, उल्टै आरोपकर्ताहरुलाई धन्यवाद दिँदै अन्य कुनै उनका त्रुटि र गल्तीहरु भए सार्वजनिक गरिदिन रवि स्वयंले हौस्याएका छन् अनि तिनीहरुलाई अझ आफ्नो मित्र मान्ने बाचा गरेका छन् ।

रविका यी रणनीतिहरुले आरोप लगाउने आरोपीहरुका आत्मामा के–कस्ता असर पारे वा पारेनन्, त्यो सम्बन्धितले नै बुझ्ने कुरा भयो तर उनको पार्टीको नामकरणमा विरोध गर्नेले समेत उनकै सभामा गएर उनैलाई समर्थन गरेको परिदृश्यले चाहिँ यी पुराना राजनीतिक व्यवसायीहरुले पाँच वर्षपछि छोड्छु र राजनीतिबाट संन्यास लिन्छु भन्ने भ्रमपूर्ण शब्दावलीमा नलोभिने कुराको सुनिश्चित भएको छ । झुक्याऊलान् है झुक्याऊलान्, फेरि पनि झुक्याऊलान् ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्