काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा



हरेक वर्ष भाद्र कृष्णपक्ष प्रतिपदाका दिन काठमाडौं उपत्यकाका नेवारहरुले सो वर्षमा मृत्यु भएका घरहरुबाट गाईजात्रा निकाल्ने गर्छन् । नेवारहरुले ‘सायाः सापारु’ भन्ने यो गाईजात्राको परम्परा धेरै पहिलेदेखि चल्दै आएको हो । नेवारहरुको यो परम्परा नेवारी समुदायमा मात्र सीमित नभई पछि गएर व्यङ्ग्यात्मक हास्यव्यङ्ग्य, प्रहसन, नाटक मञ्चनका साथै गाईजात्रे पत्रपत्रिका प्रकाशित गर्ने अनि अन्य सञ्चारमाध्यमबाट पनि हास्यव्यङ्ग्यका कार्यक्रमहरु चलाएर चाडपर्वका रुपमा मानिदै आएको देखिन्छ ।

नेवारहरुको यो सायाः अर्थात् गाईजात्रा निकाल्ने चलन कहिलेदेखि चलेको हो भन्ने निश्चित तिथिमिति केही नभए पनि एउटा भनाइअनुसार नेपाल संवत् ५७५ मा राजा प्रताप मल्लका कान्छा छोरा चक्रवतीन्द्र मल्ल दादुरा आई मरेछन् । आफ्नो प्यारो छोरा मरेकाले रानी राजमतिले गरेको शोकलाई राजाले रोक्न जति प्रयास गरे पनि सकेनछन् । रानीको शोक शान्त पार्न राजा प्रताप मल्लले जसको घरमा त्यस वर्ष मानिस मरेको छ त्यसको नाममा गाईजात्रा निकाली हनुमानढोका राजदरबारमा हाजिरी जनाउनुपर्ने उर्दी दिएछन् ।

त्यस समयमा काठमाडौं उपत्यका नेवारहरुको देश थियो । देशभरिका जनताले मृत परिवारका नाममा निकालेको गाईजात्रा र झाँकी देखेर रानीले ‘यो संसार अनित्य रहेछ, यहाँ जो–कोहीले पनि मर्नुपर्दो रहेछ’ भन्ने ज्ञान प्राप्त गरी मेरो छोरा मात्र होइन, जनताका धेरै मानिस मरेका रहेछन् भन्ने सम्झेर चित्त बुझाइन् । त्यही समयदेखि राजादेखि रङ्कसम्म देखा परेको विकृति विसंगतिजस्ता काम कुराको व्यङ्ग्य गर्ने छुट दिइएको हो भनिन्छ । अरु बेलामा राजा, प्रधानमन्त्री र मन्त्रीलगायत प्रशासकको विरोध गर्न नमिल्ने र गालीगलौज पनि गर्न नमिल्नेजस्ता कामकुराप्रति यसै गाईजामा व्यङ्ग्यको रुपमा गरिँदै आयो र त्यस बेलाका सरकार र प्रशासकले पनि आफूलाई सच्याउन थालेका हुन् भनिन्छ ।

गाईजात्राको झाँकी प्रदर्शन गर्ने परम्परा राजा प्रताप मल्लको पालदेखि शुरु भएको देखिए पनि मरेका मान्छेको नाममा गाईजात्रा निकाल्ने परम्परा राज वंशावलीअनुसार राजा जयस्थिति मल्लको शासनकालमा नेपाल संवत् ५०० तिरै राज खलकमा कोही म¥यो भने गाविन्दवलि गीत गाउन लगाएर देश परिक्रमा गर्ने परम्परा भइसकेको हो । अझ बौद्ध परम्पराअनुसार मर्नेहरुको नाममा भाद्र कृष्ण द्वितीया गाईजात्राको भोलिपल्ट पाटनको मंगलबजारबाट निकालिने मतयाः बत्ती बाल्ने जात्रा, न्यकू जात्रा सिंङ फुक्ने राजा गुणकामदेवको राज्यकालमा शुरु भएको देखिन्छ ।

समग्रमा हेर्ने हो भने, ऐतिहासिक परम्पराअनुसार काठमाडौंमा गाईजात्रा, पाटनमा मतयाः र न्यकू जात्रा, भक्तपुरमा धिन्ताकिसी जात्राको रुपमा गाईजात्रा मान्दै आएको पाइन्छ । त्यस्तै कीर्तिपुरमा बाःचाःहिलेगु नाममा मच्छेगाउँ र पाटनको खोकनामा सिकाली अजिमाको मन्दिरअगाडिको पोखरीमा बीभत्स ढंगले जिउँदो बाख्रीलाई खोसाखोस गरेर टोक्दै मारेर गाईजात्रा मनाइन्छ ।

धार्मिक परम्पराअनुसार श्रेष्ठ र ज्यापु समुदायले निकाल्ने एकै प्रकारको हुन्छ । बाँडा, वज्राचार्य, चित्रकार, उदास, साल्मीहरुको गाईजात्रामा भने बुद्धको स्तोत्र पाठ गर्दै मतयाः बत्ती बाल्दै निकाल्ने गरिन्छ । त्यस्तै, वैदिक नेवार द्यःब्रम्हु राजोपाध्याय, शर्माहरुको गाईजात्रामा नृसिंहको झाँकी प्रदर्शन गर्ने परम्परा छ ।

काठमाडौंका नेवारहरुले मरेकाको नाममा एकजना मान्छेलाई सेतो जामा, छ्वालीको पटुका, शिरको अघिल्लो भागमा गाईको चित्र भएको र पछाडी गणेशको चित्र टाँसिएको पेरुंगाको मुकुण्डो लगाउन लगाई सिँगारपटार गरी बाजा बजाउँदै गाईजात्रा निकाल्छन् । त्यस्तै, अर्को मानिसलाई पहेँलो वस्त्र लगाउन लगाई फेटा बाँधिदिएर, झोली, चिम्टा र कमण्डलु समाउन लगाएर, जोगी बनाई गोसाई बनाएर लान्छन् । त्यस्तै, गाईलाई पनि ढाडमा कपडा राखी सिँगारेर नगरका विभिन्न स्थानमा घुमाई मरेकाहरुका नाममा पुरी, मालपुवा, जुलेबी, स्वारी, फलफूल र दूधका साथै पैसा पनि दान दिइन्छ ।

गाईजात्रामा आउनेलाई यसरी दान दिँदा १ सय ८ वटा अथवा प्याकेटसहित १ सय ८ थान पु¥याउनुपर्ने परम्परा छ । यसरी, गाईजात्रा निकाल्दा र दान दिँदा सिथि चाडका दिनदेखि बन्द भएको यमलोकको ढोका खुल्ने र मरेकाहरु सजिलै स्वर्गमा जान पाउँछन् भन्ने मान्यता रही आएको छ । गाईजात्रा गरेर नगर परिक्रमापश्चात् फर्किंदा घरको मूलढोकाअगाडि हातखुट्टा धोइदिएर स्वागत गरी गाई बनेका र गोसाई बनेका व्यक्तिलाई घर भित्र्याइन्छ ।

बौद्ध मतअनुसार यसरी गाईजात्रा आउनुलाई भगवान् बुद्धलाई मार आएको भन्ने मान्यताअनुसार बौद्धमार्गी नेवार शाक्य, वज्राचार्य, साल्मी, चित्रकार र उदासहरुले मृतव्यक्तिका नाममा बाजा बजाउँदै धूपवत्ती बालेर नगर परिक्रमा गर्छन् ।

कीर्तिपुरमा गाईजात्राको अघिल्लो दिन अर्थात् जनै पूर्णिमाको मध्यरातमा बाःचाःहिलेगु भन्दै मरेकाहरुको नाममा धूपबत्ती बालेर, बौद्धचैत्य विहार परिक्रमा गरेर पैसा चढाउने गर्छन् । गाईजात्राको दिन झ्याँय झ्याँय पापाको नाममा रंगीविरंगी देवताहरुको ख्यालः मनोरञ्जनका रुपमा देवीदेवताको मुकुट लगाएर देश परिक्रमा गर्दै स्थानीय मानिसहरुले बाघभैरव मन्दिरको अगाडि नारायणको मन्दिरबाट पोखरीमा राँगोको टाउको र खुट्टा फालिदिन्छन् । अनि युवाहरुले ती राँगाको टाउको र खुट्टा खोसाखोस गरेर लिने प्रतियोगिता गर्दै मनोरञ्जन गर्छन् ।

यस्तै, पाँगामा गाईजात्राको दिन धुसी गणेश (पिंगला देवता) स्थानमा मरेकाका घरघरबाट मानिस जम्मा हुन आउँछन् । अनि ९ देखि ११ जनासम्मको समूह–समूह बनाई संयुक्तरुपमा गाईजात्रा मनाउँदै देश परिक्रमा गर्ने चलन छ । सन्ध्याकालमा दरबारको अगाडि पोखरीमा हाँस, राँगाको टाउको र खुट्टाहरु फालेर लिने प्रतियोगिता गरिन्छ । त्यस्तै, कीर्तिपुरको मच्छेगाउँको ग्वाःटोल, साय्मीटोल र नाय्टोलबाट लाखेनाच निकालिन्छ । गाईजात्राका दिन नारायणस्थानमा मरेकाहरुको नाममा निकालिने गाईजात्रा र ख्यालः प्रहसन प्रदर्शन गर्दै शहर परिक्रमा गरिन्छ । राति विष्णुदेवीको भव्य जात्रा मनाइन्छ । यो जात्रा कृष्णाष्टमीसम्म चलाइन्छ ।

उपत्यकाका विभिन्न स्थानबाट निकालिने गाईजात्रामध्ये भक्तपुरमा निकालिने गाईजात्रा विशेष रुपको देखिन्छ । यहाँको गाईजात्रालाई ‘घिन्तकिसी’ भनिन्छ । मरेकाहरुको घरबाट छ्वाली, लामो बाँस र काठ प्रयोग गरेर तायमचा नामक खट बनाइन्छ । अनि मरेका व्यक्तिको फोटो त्यसमा राखी पुरोहितद्वारा पूजा गराएर बाजा बजाउँदै नगर परिक्रमा गराइन्छ । यसका साथै राजनीतिक, सामाजिक र विभिन्न किसिमका घटनाको व्यङ्ग्य प्रदर्शन गर्दै तायमचा खटको पछिपछि ख्यालः प्रहसन नाच, खिं, धाः, धिमे, बाँसुरी बाजाको तालमा लठी नाच, लठी जुधाई गरिने नाच भव्यरुपमा प्रदर्शन गरिन्छ ।

काठमाडौं देवपतनमा गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन धान रोप्ने रोपाइँ जात्रा गरिन्छ । अनि नवदुर्गा जगाउने नौजनाको पायाः निकालेर खड्ग जात्रा गरिन्छ । नेपाल भाषामा ग्वलः अर्थात् ८१ संयोजन भएको बस्ती जगाउन वर्षभरिमा मरेकाहरुको आत्माको शान्तिको कामना गर्दै बाजा बजाउँदै नगर परिक्रमा गर्ने गरिन्छ । यस्तै, लिच्छविकालीन देश हाँडीगाउँमा देवघरबाट यही दिन खड्ग समाइरहेको पायाः निकालेर खिं, काहाँ बाजा बजाएर रोपाइँ जात्रा प्रदर्शन गर्ने परम्परा छ ।

पाटनमा चक्रबही, इखाछेँ, हौगः, बकुम्बहाः, इखालखु, क्वबहाः, नकबहीः, मगलबजाः, नागबहाः लगायत १० वटा टोलबाट पालैपालो हरेक वर्ष गाईजात्राको भोलिपल्ट सिंङ जात्रा र मतयाः गरिन्छ । पाटन नगरमा रहेका बुद्ध चैत्यहरुमा मरेकाहरुका नाममा दीप दान गर्ने र राँगाको सिङ फुुकेर नगर परिक्रमा गर्ने भएकाले यो पर्वलाई मतयाः न्यकू जात्रा भन्ने गरिएको हो । यो मतयाः जात्रामा कसैले मनोरञ्जनका निम्ति भाग लिएका हुन्छन् भने कतिपय व्रत बसी चोखोनितो गरेर पानी पनि नखाई बस्ने पनि हुन्छन् । बौद्ध चैत्यहरुमा जीउ नाप्दै परिक्रमा गर्नेहरु पनि हुन्छन् । मतयाः जात्रामा ज्यापुहरुले राँगाको सिङ फुकेर, ढोलक, बाँसुरी मगःखिं बजाएर भजन गाउँदै नगर परिक्रमा गर्दा अत्यन्तै रमाइलो हुन्छ । त्यसमा पनि बीच–बीचमा युवायुवतीहरुले विभिन्न किसिमका मुकुट लगाएर हाँस्यव्यङ्ग्यका झाँकी देखाउनाले पनि झनै रमाइलो हुन्छ ।

लिच्छवि राजा बालार्चनदेवका पालादेखि चल्दै आएको मतयाः, न्यकू जात्रा राजा सिद्धिनरसिंह मल्लले अझ व्यवस्थित रुपमा चलाएका हुन् भनिन्छ । मतयाः जात्रामा न्यकू बाजामा नौ थरीका बाजा हुन्छन् । यो बाजालाई श्रृंगभेरी पनि भनिन्छ । यो नौ बाजामा मुख्य बाजा धाः बाजा हो । अनि धिमे, नाय्खिं, दमोखिं, ज्वःनगरा, खैंचरी, काशी बाजा, दक्षिण बाजा, खिं र डबडब डमरु हुन् । यी बाजाका साथै पञ्च ताल पँय्ताः र राँगाको घुम्रेको सिङलाई विशेषरुपमा सिङ बाजा बनाइराखेको हुन्छ । डमोखिंलाई भने भैरव, काली र महालक्ष्मी देवीको मुकुटले सजाएर किकिपा पनि लगाइराखेको हुन्छ ।

पाटन नगर परिक्रमा गरेर मनाइने मतयाः न्यकू जात्राको बाजामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रचलनमा भएका सबै बाजाहरुको संयोजन छ भनिन्छ ।

न्यकू सिङ जात्राबारे एउटा आख्यानअनुसार सिंहकेतु राजाको शासनकालमा रानी सुलक्षणा अत्यन्तै धर्मकर्म गनुपर्ने धार्मिक रहिछन् । तर राजा भने दिनदिनै सिकार खेलेर निर्दोष पशुपक्षीको हत्या गर्ने गरेकाले त्यसो नगर्न रानीले धेरै पटक अनुरोध गरिन् तर केही सीप लागेन । एकदिन कालगतिले दुवैको मृत्यु हुन्छ । पशुहत्याराका कारण राजा एउटा ब्राह्मणको घरमा राँगाका रुपमा र रानी उही घरमा ब्राह्मणकी छोरीको रुपमा जन्म हुन पुगिछ ।

एकदिन राँगो भीरबाट खसेर मर्छ । पूर्वजन्मको कुरा सम्झन सक्ने शक्ति भएकाले ब्राह्मणकी छोरीको रुपमा जन्मेकी रुपमतीले मरेको राँगो आफ्नो पति हुन् भन्ने बुझेर राँगाको हाडखोर जम्मा गरी, बौद्धचैत्य निर्माण गरी, राँगाको सिङलाई बाजा बनाई फुकेकी रहिछन् । यही कुरा र घटनाको सम्झनास्वरुप हत्या–हिंसाको विपाकबाट बच्न सन्देश दिन हरेक वर्ष यसै दिन पाटनमा सिङ जात्रा र मतयाः पर्व मान्दै आएको हो भनिन्छ ।

पाटनका बौद्धिक नेवारहरु द्यःब्रम्हु, शर्मा, राजोपाध्यायहरुको भने गुँलाको पञ्चमीका दिन मंगलबजारबाट उपाकर्म सायाः गाईजात्रा निकाल्छन् । अकलं सायाः पनि भनिने यो गाईजात्रामा नृसिंहको दाहिने लक्ष्मी, देब्रे सरस्वती र भक्त प्रल्हादको बिन्ती गरिराखेको मुद्रामा पछि–पछि जाने गरिन्छ । हिरण्यकश्यप दैत्यको प्रतीक कपडाको पुतला सडकमा घिसारेर नगर परिक्रमा गराइन्छ । रुन्चे लागेका बच्चालाई त्यस दैत्य पुतलामा छुवाएमा रोग निको हुन्छ भन्ने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्