के सरकारलाई जनताको माया छैन ?



काठमाडौँलगायत विभिन्न जिल्लाहरुमा केही दिनदेखि कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या उच्च भइरहेको पाइन्छ । अहिले अभिभावकहरु स्कूल, कलेजमा कोरोना फैलिन्छ भनेर आफ्ना बालबच्चा पढाउनका लागि पठाउन मान्दैनन् । निजी तथा सरकारी विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुले कोरोना नियन्त्रण गर्न सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरिरहेको जस्तो देखिँदैन । यस्तै यता अभिभावकहरुले बालबालिकाहरुलाई विद्यालय पठाउन छोडेसँगै अनलाइन कक्षा शुरु गर्नुपर्छ भन्ने हाल माग गरिरहेका छन् ।

यसरी यत्रो कोरोना फैलँदा अब कोरोनाले धेरै क्षति पु¥याउँछ भन्ने अभिभावक तथा विद्यार्थीहरुको मनमा परेको छ । शिक्षकशिक्षिकहरु पनि अब कोरोनाले हामीलाई ठूलो क्षति पु-याउँछ भनेर मन्त्रालयसँग विद्यालय बन्द गर्नुपर्छ भनेर माग गरिरहेको बताउँछन् । कोरोना संक्रमित यति धेरै फैलँदा पनि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले विद्यार्थी बचाउनुपर्छ भनेर नसोच्दा अहिले कैयौँ बालबालिकाहरु कोरोनाबाट ग्रसित भएका छन् ।
अभिभावकहरु भन्छन्– सरकारले अब अनलाइन कक्षा शुरु गर्नुप-यो, होइन भने हामी हाम्रा बालबालिकालाई विद्यालय पठाउँदैनौँ ।

साना बालबालिकालाई कोरोनाले गर्दा हाम्रो ज्यान पनि जान सक्छ भन्ने कुराको थाहा नहुँदा उनीहरु विद्यालयमा मास्क पनि लगाउँदैनन् र दूरी पनि कायम गर्दैनन् । यसरी बालबालिकाले कोरोना नियन्त्रण गर्न सरकारले बनाएको मापदण्ड पालना नगर्दा विद्यालय सञ्चालक समिति तथा व्यवस्थापकले पनि यसमा कुनै चासो देखाउँदैन ।अहिले कोरोनाले यसरी महामारीको रुप लिँदा शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय बालबालिकाहरुलाई बचाउनुपर्छ भनेर कुनै निर्णय गर्दैनन् । यदि बालबालिकाहरु नै नरहने हो भनी शिक्षा कसलाई दिने हो ? के मानिसको ज्यानभन्दा ठूलो शिक्षा हो । पहिला बालबालिका बचाएपछि पो शिक्षा दिन मिल्छ त । त्यस्तै चाडपर्व वा पूजापाठको नाममा अहिले मठमन्दिरहरुमा दर्शन गर्ने र पूजा गर्नेहरुको भीड धेरै लागेको छ ।

पशुपतिमा गएर हेर्दा दर्शन गर्न आएका मानिसहरुले पनि मास्क लगाएका छैनन् र सामाजिक दूरी पनि कायम गरेका छैनन् । विभिन्न मठमन्दिरहरुमा पनि यस्तै हालत रहेको छ । पशुपति कोष वा पर्यटक नागरिक उडड्यन मन्त्रालयले मठमन्दिरहरुलाई अब कोरोना फैलँदा हालको लागि बन्द गर्नुपर्छ भनेर निर्णय गरेको छैन । जसले अहिले सबैभन्दा बढी कोरोना फैलने स्थल नै मठमन्दिर र विद्यालयहरु बन्दै गइरहेको छ ।
जनता पनि हाल भन्ने गर्दछन्– मठमन्दिर र विद्यालयहरु तत्काल बन्द गर्नुपर्छ । त्यस्तै यता अन्य बाहिरी मुलुकबाट आएका मानिसहरु पनि सिधै मठमन्दिरमा गएर दर्शन गरिरहेका छन्, जसले गर्दा कुनै एकलाई कोरोना छ भने त्यसले गर्दा हजारौँ मानिसलाई कोरोना लाग्न सक्छ । फिल्म हलहरुमा पनि त्यस्तै भइरहेको पाइन्छ ।

फिल्म हेर्न जाने दर्शकहरुको मुखमा मास्क पनि छैन र दूरी पनि पालना भइरहेको जस्तो देखिँदैन ।अहिले हरेक दिन नयाँ–नयाँ फिल्महरु सञ्चालन हुने हुँदा फिल्म हलमा मानिसहरुको चाप निकै बढिरहेको पाइन्छ । यसरी फिल्म हलहरु अहिले कोरोना फैलाउने एउटा कारखाना बन्दै गइरहेको छ । कोरोना यसरी फैलँदा अब फिल्म हलहरु बन्द गर्नुपर्छ भनेर जनताले सरकारसमक्ष माग गर्दा सरकार कानमा तेल हालेर बसिरहेको छ ।

पार्टी प्यालेसहरुमा पनि विवाह, व्रतबन्ध, भोज, राजनीतिक कार्यक्रम आदिका कारणले गर्दा त्यत्तिकै भीडभाड रहेको पाइन्छ । यसरी यी स्थलहरुका कारणले गर्दा अहिले कोरोना भव्यरुपमा फैलिरहेको पाइन्छ । यता बैंक, फाइन्स तथा वित्तीय संस्थाहरु डुब्यो भनेर पैसा निकाल्ने मानिसहरुको भीड उत्तिकै रहेको पाइन्छ । अहिले दिनहुँ ५ वटाभन्दा बढी सहकारीहरु भागिरहेका छन्, जसले गर्दा मानिसहरु आफ्नो पुँजी निकाल्नका लागि बैंक तथा सहकारीमा लाइन लागेर बसिरहेका छन् ।

यसरी आफ्नो बचत वा पुँजी निकाल्न आएका मानिसहरुले मुखमा मास्क पनि लगाएका छैनन् र सामाजिक दूरी पनि कायम गरेका छैनन् । सरकारी कार्यालयमा पनि सरकारी कर्मचारीहरु मुखमा मास्क नलगाई र दूरी पालना नगरी कोरोना फैलाइरहेका छन् । कार्यालयमा सेवा लिन जाने जनताले पनि मुखमा मास्क लगाएको र दूरी पालना गरेको जस्तो देखिँदैन ।

सरकारी कार्यालयहरु पनि कोरोना फैलाउने कारखाना बन्दै छन् । यस्तै यता होटेल, रेस्टुरेन्ट, क्याफे, दोहोरी साँझ ,डान्स रेस्टुरेन्टहरुमा पनि सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना गरेको छैन । यिनीहरुले पनि कोरोना फैलाउने काम गरिरहेका छन् । चिडियाखाना र संग्रहालयहरु पनि अहिले कोरोना फैलाउने कारखाना बनिरहेको छ । यी स्थलहरु पनि बन्द गर्न ढिलो भइसकेको छ । यहाँ आउने मानिसहरुले पनि कोरोना नियन्त्रण गर्न बनाएको कुनै मापदण्ड पालना गरेका छैनन् ।

अहिले भाटभटेनीजस्ता सुपर मार्केटहरुमा पनि मानिसको चाप धेरै बढिरहेको छ । यहाँ पनि कोरोना नियन्त्रणका कुनै मापदण्ड पालना भइरहेको छैन । अब सरकारले यी ठाउँहरु छिटोभन्दा छिटो बन्द गर्न आवश्यक भइसकेको छ । त्यस्तै यता गाडी बनाउने वर्कसप, पसले, व्यापारी, फुटपाथमा व्यापार गर्ने व्यापारीहरुले पनि मुखमा मास्क लगाएका छैनन् र दूरी पनि पालना गरेका छैनन् । सार्वजनिक सवारीसाधनहरुमा पनि यात्रुहरुको मुखमा मास्क छैन र सहचालक तथा चालकहरु पनि मुखमा मास्क नलगाई गाडी चलाइरहेका छन् । अझै यिनीहरुले त सिटभन्दा बढी यात्रु हालेर कोरोना फैलाउने काम गरिरहेका छन् ।

यसरी सिटभन्दा बढी यात्रु हाल्दा र मास्क नलगाई चालक तथा सहचालकहरुले गाडी चलाउँदा पनि ट्राफिकहरुले यिनीहरुलाई कारबाही गर्दैन । यता कालीमाटी फलफूल तथा तरकारी बजार, बल्खु तरकारी तथा फलफूल बजार, तीनकुने फलफूल तथा तरकारी बजार, भक्तपुर फलफूल तथा तरकारी बजारहरुमा पनि मानिसहरुको भीडभाड हेरिनसक्नु रहेको छ । लामो रुटमा चल्ने गाडीको टिकट काट्ने काउन्टरमा बसेका मानिसहरुले पनि मुखमा मास्क लगाएका छैनन् । जनता सरकारसँग लामो रुटमा चल्ने सवारीसाधन र प्लेन तत्काल बन्द गर्नुपर्छ भनेर माग गर्छन् तर सरकार सुन्दैन । यी संस्थाहरुले कोरोना नियन्त्रणका कुनै मापदण्ड पालना गरेका छैनन् ।

यसरी प्लेनबाट आएका मानिसहरु पनि आफ्नो घरमा सिधै गइरहेका छन्, जसले गर्दा यदि कुनै व्यक्तिलाई कोरोना लागेको छ भने उसको सम्पूर्ण घरपरिवारलाई पनि कोरोना लाग्ने सम्भावना बढिरहेको छ ।उपत्यकावासीहरु नाका बन्द गर्नुपर्छ भनेर पटक–पटक भनिरहेका छन् । यदि नाकाबाट कोही मानिस आएमा उनीहरुको पहिला कोरोना चेकजाँच गरेपश्चात् मात्र नाकाभित्र छिर्न दिन मिल्छ भनेर जनता माग गर्छन् । तर पनि यस विषयमा कुनै चासो दिएको देखिँदैन ।

अब सरकारले भीडभाड कम गर्न तत्काल सवारीसाधन जोर–बिजोर गर्नुपर्छ र निषेधाज्ञा जारी गर्नुपर्छ । अहिले हरेक घरमा जनता रुघाखोकी, ज्वरो आदिका कारण ग्रसित भइरहेका छन् तर पनि वडा र नगरपालिकाले कोरोना चेकजाँच गर्दैन । सरकारले अहिले पनि कोरोना चेकजाँच गरेको पैसा लिने गर्छ, जसले गर्दा मानिसहरु पैसा नभएर कोरोना चेक नगर्ने र कोरोना फैलाउँदै हिँडिरहेका छन् । अब सरकारले कोरोना चेकजाँच निःशुल्क गरी उपचार पनि निःशुल्क गर्न जरुरी रहेको छ ।

यसरी सरकारको लापरबाही र व्यापारीको फाइदाले यत्रो नेपाली जनता कोरोना लागेर मृत्युको मुखमा पुगे तर यसरी कोरोनाबाट मरेका मानिसको आफन्तलाई न सरकारले क्षतिपूर्ति नै दियो, न ती मानिसलाई शहीद घोषणा नै ग-यो । २०७२ सालको संविधानमा जनताको बाँँच्ने अधिकार स्पष्टरुपमा लेखिएको छ तर यहाँ त सरकार नै कोरोना फैलाउँदै जनता मार्ने काम गरिरहेको छ । सरकारले नागरिक जन्माउन पनि सक्दैन र कोरोना फैलाएर नागरिक मार्न पनि पाउदैँन । के सरकारले कोरोना फैलाएर जनता मार्न पाइन्छ ? के सरकारलाई जनताको माया छैन ?
– रुषा थापा ।

प्रतिक्रिया दिनुहोस्