खोप लगाउनुस्, प्लिज !



नेपालमा कोरोना संक्रमण बढ्दो छ । यसको नियन्त्रणको मुख्य उपाय भनेकै खोप र स्वास्थ्य मापदण्ड भएको चिकित्सकहरुले प्रष्ट पारिसकेका छन् । खोप नै विकल्प हो भन्ने बुझाई कम भएर हो वा कोरोनालाई नपत्याएर हो नेपालमा बुष्टर डोज लगाउनेको संख्या २५ प्रतिशत कट्नसकेको छैन ।

जतिबेला नेपालमा खोप न्यून मात्रामा भित्रिएको थियो त्यतिबेला खोप कसरी पाइन्छ भन्ने चासो राख्ने नेपालीहरु आज सरकारसँग खोप छ भन्ने थाहा पाएर पनि लगाउन गइरहेका छैनन् ।

‘नहुदा कस्तो, भएपछि सस्तो’ भन्ने उखानलाई नागरिकले चरितार्थ पारेका छन् । यस सम्बन्धमा भुटानबाट सिक्नुपर्छ । दक्षिण एशियामा कोभिड– १९ ले धेरै संकट पार्न नसकेको मुलुक भुटान हो । त्यहाँका हरेक नागरिकले खोपमा जोड दिए र स्वास्थ्य मापदण्डको पनि पूर्ण रुपमा पालना गरे । नेपाललीले पनि उदाहरणीय रुपमा आफू र आफ्ना परिवारको स्वास्थ्य सुरक्षाका लागि आवश्यकता अनुसारको खोप लगाएर विश्व सामु नमूना बन्न सक्थे ।

कति मुलुकले खोप नै नपाएका बेला नेपाललाई अन्तर्राष्ट्रिय समुदायले निकै माया गरेर खोप उपलब्ध गराएकै हो । प्राप्त खोप नागरिक सामु कसरी पु-याउने भन्ने विषयमा सरकारले ‘सम्भव भएसम्म’ कोशिस गरेकै छ । यस अवस्थामा आम नागरिकको जागरुकता कम भएको पाइएको अभिव्यक्ति विश्व स्वास्थ्य संगठनले समेत औल्याइसकेको अवस्था छ ।

यसरी नेपालप्रति विश्व स्वास्थ्य संगठनले देखाएको सदाशयतालाई सम्मानपूर्वक सदुपयोग गरेर भोलिका दिनमा पनि हुने महामारीमा चाहेका बखत सहयोग लिने र दिने वातावरण बनाउने विषयमा आम नेपालीले सोच्नुपर्छ । प्राप्त खोप प्रयोग नगरी कोभिडको सिकार हुनेको संख्या ७५ प्रतिशत रहेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मध्ये १२ बर्ष माथि ८८ दशमल्भ ४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । कुल जनसंख्यामा भने यो प्रतिशत ७० दशमलभ ६ प्रतिशत हुनआउँछ ।

खोपको निश्चित अवधि वा म्याद हुन्छ र खोप प्रयोग गर्ने पनि निश्चित अवधि नै हुन्छ । यस्ता विषयमा भोलि या पर्सि नभनौ आजै गरौं । नेपालीले सहयोगको सही सदुपयोग गरि जीवन जोखिममा पर्नबाट जोगाउने एउटै उपाय भनेको कोभिड विरुद्धको खोप नै हो । पछिल्लो रिपोर्ट अनुसार अधिकांश कोभिडका कारण मृत्यु भएका व्यक्तिहरुमा २१ देखि माथि उमेर समूहका भएको र एक जना मात्र ६० बर्ष माथिको भएको पाइएको छ । मृत्यु हुनेमा ७५ प्रतिशतले कोभिडको पूर्ण खोप अर्थात् बुस्टर डोज नलगाएको पाइएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

खोप लगाएपछि कोभिड लाग्दै नलाग्ने भन्दा पनि जटिल हुनबाट जोगिन्छ भन्ने कुरालाई ध्यानमा राखी कोभिडका कारण परिवारको एकजना संक्रमित हुँदा घर परिवार, छरछिमेकी, आफन्त मात्र नभै राष्ट्रकै लागि ठूलो संकट आउने हुनाले आम नागरिकले आफ्नो अधिकारसँगै कर्तब्य र दायित्व बोध गर्नुमै कल्याण देखिन्छ । जहिले पनि सरकार र नेतालाई गाली गरेर ‘ठूलो मान्छे’ बन्ने होइन, खोप लगाएर बलियो र बुद्धिमानी नागरिक बन्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्