पर्यटन व्यवसायमा ह्रास आउन नदिऔं



नेपालमा विदेशी पर्यटनको आगमन ठप्पजस्तै बनिसकेको छ । विदेशीहरू नेपालमा घुम्न नआउनुको कारण हवाईजहाज व्यवसायीले महँगो भाडा लिएर ठग्ने अनि होटेलदेखि लिएर टुरिस्ट बसहरूले समेत विदेशी भनेपछि ठग्ने गर्छन् । ट्रेकिङ गर्न पनि नेपालीलाई भन्दा चर्को शुल्क लिन्छन् । पछिल्लो समय फाटफुट मात्र विदेशी देखिन्छन् । पहिलेको जस्तो चाप छैन । नेपालमा भएका केही पर्यटकले समेत राम्रो सेवा–सुविधा पाउन सकेका छैनन् । सरकारले पनि यसतर्फ ध्यान दिएको छैन ।

हरेक पाइलामा विदेशी पर्यटन ठगिएका छन् । उही सामान नेपालीलाई भन्दा दोब्बर मूल्यमा बेच्ने क्रम अझै पनि जारी छ । पर्यटकलाई गर्ने व्यवहार राम्रो छैन । विदेशीका लागि उचित सुरक्षाको व्यवस्था पनि मिलाइएको छैन । नेपालको भौगोलिक अवस्था हेर्ने हो भने एकदमै भिरालो छ । बाहिरी जिल्लामा सडकको समेत विस्तार भएको छैन । जसले गर्दा उनीहरूले अकालमा ज्यान गुमाउनुपरेको छ । ट्रेकिङमा जाँदा, सगरमाथा चढ्दा र विभिन्न ठाउँमा घुम्न जाँदा विदेशीको ज्यान गएका थुप्रै घटनाहरू बाहिर आएका छन् ।

त्यसै गरी मठमन्दिरमा दर्शन गर्न जाँदा मन्दिर परिसरमा माग्न बसेकाहरू विदेशीको खुट्टामै झुत्तिन्छन् । उनीहरूलाई दर्शन गर्न जान पनि निकै सकस परेको देखिन्छ । माग्नेहरूले उनीहरूलाई हैरान पारिरहेको भेटिन्छ । उता, होटेल व्यवसायीले पनि नेपालीलाई उही सेवा दिन्छ हजार रुपैयाँमा तर विदेशीसँग त्यसको तेब्बर असुल्छ । हरियो प्लेटका बसहरू पनि त्यस्तै ठगिरहेका छन् । नेपालीले एक हजार रुपैयाँ तिर्ने बाटोमा विदेशीहरू पाँच हजार तिर्छन् । नेपाल ओर्लिनेबित्तिकै विदेशीहरू ठगिन शुरु हुन्छ । एयरपोर्टमा साना व्यापारीदेखि लिएर ठूला सबैले ठग्छन् ।
अरूलाई २० रुपैयाँमा बेचिने पानीको मूल्य एकाएक सय रुपैयाँ पर्न जान्छ । एयरपोर्टबाट विभिन्न होटलमा जानका लागि ट्याक्सीको आवश्यकता पर्छ । हरियो होस् कि कालो प्लेटको पाँच सयको बाटोमा पाँच हजार मागिदिन्छन् ।

नेपालमा ‘अतिथि देवो भव’ भनिन्छ । पाहुनाको सेवा र सत्कार गर्नु हाम्रो धर्म हो । तर, आएका पाहुनालाई नै हामी कहिल्यै नफर्किने गरी शिथिल बनाइरहेका छौं । भन्ने एउटा गर्ने अर्कोजस्तो भइरहेको छ । विदेशीलाई कसरी राम्रो सेवा–सुविधा दिने ? उनीहरूलाई पटक–पटक नेपाल आउन कसरी प्रोत्साहन गर्ने ? कसैलाई चासो छैन ।विदेशी मरोस् कि बाँचोस्, नेपाल सरकारलाई केही मतलब नै छैन । घुम्न भनेर नेपाल आएपछि उसको सुरक्षा गर्नु सरकारको दायित्व हो । विदेशीहरू जहाँ जान्छन्, उनीहरूले कर तिरिरहेका हुन्छन् । नेपालीलाई भन्दा उनीहरूलाई लिने कर निकै नै महँगो छ । केही महिनाअघि ठमेलस्थित एक होटलको छतबाट विदेशी लडेर मरे । यसले नेपालका होटलहरु कति असुरक्षित र जोखिमपूर्ण छन् भनेर साबित भइसकेको छ । विदेशीहरू नेपाल घुम्न आउने हो, ठगिन र मर्न आउने होइन । तर, अहिले नेपाल आउनु भनेको पैसा बढी भएर आएको जस्तो गर्न थालिएको छ ।

न राम्रो सेवा सुविधा छ, न ज्यानको सुरक्षा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग यस विषयमा कुनै पनि योजना छैन । बढीभन्दा बढी विदेशीलाई नेपाल आउन कसरी प्रोत्साहन गर्ने ? भनेर उनले खाका पनि तयार पारेका छैनन् । होटेल व्यवसायीहरूले हाम्रो व्यवसायी चुर्लुम्मै डुब्यो, विदेशीहरू आउने वातावरण बनाइदिनुप¥यो भन्दै पर्यटन मन्त्रीलाई ज्ञापनपत्र बुझाए । तर हिजोको दिनमा रातारात धनी हुने सपना नदेखेको भए आज विदेशीको खडेरी लाग्दैनथ्यो । हाम्रो पाहुनालाई हामीले ठग्नुहुँदैन, राम्रो बोली बचन गर्नुपर्छ भनेर सोचेको भए विदेशीहरू फर्की–फर्की नेपाल आउँथे ।
आफ्नो व्यापार व्यवसाय डुब्ने भो भनेर यतिखेर बिलौना गरेर के गर्ने ? हामीले बैंकको ऋण तिर्न सकेनौं, कर्मचारीलाई तलब दिन सकेनौँ भनेर उनीहरूले मन्त्रीलाई दुखेोि पोखे ।

तर मन्त्रीले अब के गर्ने ? तानेर ल्याउने कुरा भएन । होटलमा खाएको र बसेको रेट सरकारले तोकेको होइन । होटेल व्यवसायी आफैंले तोकेका हुन् । उनीहरूले मनलाग्दी रेट राखेर विदेशी र नेपाली दुवैलाई लुटिरहेका छन् । होटेल व्यवसायीले खानेकुराहरु बासी खुवाउने, ओछ्यान सफा नहुने, बाथरुमको प्रबन्ध पनि त्यति राम्रो नहुने, टिभी पनि थोत्रा र पुराना राख्ने गरेको पाइन्छ ।जस्ताको टहरामुनि पनि होटल सञ्चालन भइरहेको छ । चर्किसकेको घरहरुमा लज, गेस्ट हाउस चलाइरहेका छन् । कुन घरमा होटेल राख्ने ? होटेल खोल्न के–के मापदण्ड हुनुपर्ने ? यो त सरकारले तोकिदिनुप¥यो । होटेल त व्यवस्थित ठाउँमा सञ्चालन गर्नुपर्ने हो । सामान्य होटलले दैनिक एकदेखि ठूलाले करोडसम्म व्यापार गरिरहेका छन् । तर, यसबापत राज्यले राजस्व पाएको छैन । नागरिक मात्र नभई राज्य पनि ठगिएको छ । कतिपय होटलहरु दर्ता नगरी पनि सञ्चालन भएका छन् । दर्ता भएकाहरूको पनि कागजात नवीकरण गरिएको छैन । यसको अनुगमन न जिल्ला प्रशासन कार्यालयले गर्छ, न नगरपालिकाले । वडाको त कुरै नगरौँ ।

लज र होटलमा बसेको र खाएको रेट सञ्चालकको जिब्रोले तोक्छ । सरकारले निर्धारण गरिदिने हो भने सबैलाई सर्वसुलभ पर्न जान्छ । होटेल साहुले खानेकुराको महँगो रकम लिन्छन् तर त्यसअनुरुप खानेकुरा पाउँदैनन् । पैसा गनेर लिइसकेपछि खानेकुरा पनि जोखेर दिनुप¥यो । सरकारले यसका निम्ति कानुन बनाउनुपर्छ । सामान तौलिएर दिन्छ भने होटलमा पनि यही व्यवस्था लागू गर्नुप¥यो । पैसा त तिर्छौं तर पेट भरिँदैन । पर्यटन मन्त्रालय र पर्यटन विभागको यसतर्फ ध्यान गएको छैन । सम्बन्धित निकायले पनि अनुगमन गरेको पाइँदैन घुमघाम गर्न वा आफ्नो कामका लागि एउटा जिल्लाबाट अर्को जिल्लामा जान्छौँ । आफन्त नभएपछि होटेलमै गएर बस्नुपर्ने हुन्छ । तर, भुरा र बूढासँग युवालाई दाँजिएको छ । बच्चाले कतिचाहिँ खान सक्छ ? तर, उसको पनि ठूलो मान्छेको जति नै पैसा लिन्छन् ।

उनीहरूको त हाफ लिनुपर्ने हो । होटेल व्यवसायी महासंघको अगाडि सरकार लम्पसार परेको छ । होटेल व्यवसायी जनता र राष्ट्रप्रति जिम्मेवार भएनन् । आफू नाफा कमाउनका लागि होटेल व्यवसायीले कमसल सामान ल्याएर पकाउँछन् । गुणस्तरहीन, म्याद गुज्रिसकेका सामान पकाएर महँगोमा बेच्छन् । तरकारीदेखि लिएर माछामासुमा पनि त्यस्तै छ । होटलमा राखेका मदिराजन्य पदार्थहरू पनि खान अयोग्य छन् । डुप्लिकेट रक्सीहरू पनि राख्छन् ।

सरकारले निरीक्षण नगर्दा जनता रोगको सिकार बनेका छन् । होटलमा अनुगमन गरेका कुराहरु खासै सुनिदैन । सरकारले होटेल व्यवसायीलाई छाडा छाडेको छ । उनीहरूले जे गरे पनि छुट छ । न कारबाही हुन्छ, न जरिबाना । अहिले विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । विदेशीहरू नआउँदा देश नै टाट पल्टिसकेको छ । तर, विदेशीलाई अब कसरी भित्र्याउने ? सहुलियत दिएर हुन्छ कि ? सेवा–सुविधामा थप राम्रो बनाएर हुन्छ कि ? यस विषयमा सम्बन्धित निकायको ध्यान गएको छैन ।

डलर नभित्रिँदा अर्थतन्त्र प्रभावित बनेको छ । मनोमानी चलाउने होटेल व्यवसायीको दर्ता नै खारेज गरिदिनुपर्छ । विभिन्न नीति अघि सारेर नेपाललाई श्रीलंका बनाउनबाट रोकौं । नेपालको मुख्य आम्दानीको स्रोत भनेको पर्यटन नै हो तर पर्यटनलाई नै हामीले राम्रो व्यवहार गर्न सकेनौं ।
– सविना भट्ट ।

प्रतिक्रिया दिनुहोस्