चुनावी तालमेल कार्यदलको संयोजकमा सिटौला चयन

अर्को बैठक साउन २६ मा बस्ने



काठमाडौं । 

सत्ता गठबन्धन दलले चुनावी तालमेलका लागि मोडालिटी तयार गर्न बनाएको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ । कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कार्यदलको बैठकले सिटौलालाई संयोजकमा चयन गरेकोे हो ।

बैठकले भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल गरेको बताउँदै उहाँले कार्यदलको अर्को बैठक साउन २६ गते पुनः बस्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘आजको कार्यदलमा भएको छलफलबारे गठबन्धन दलमा आन्तरिक छलफल भएर फेरि बैठक बस्ने सहमति भएको छ ।’
बैठकमा गठबन्धन दलबीच सिट बाँडफाँटको आधार र मापदण्डको विषय प्रवेश गरेको बताइएको छ । पार्टीका नेताहरूको परामर्शका आधारमा शुरूमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहनुभएको छ भने माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सय ६५ र प्रदेश सभामा ३ सय ३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ ।

सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस ५० प्रतिशतभन्दा बढी सिट पाउनुपर्ने पक्षमा रहेका छ । तर, सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाले दलको सम्मानजनक सिट पाउनुपर्ने अडान राख्दै आएका छन् । प्रतिनिधिसभामा कांग्रेसले कम्तीमा ९० सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।

कांग्रेसले पचासभन्दा बढी सिटमा दाबी गरेपछि यता सत्ता सहयात्री दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका बीचमा पनि छुट्टै गृहकार्य अघि बढेको छ । दलको हैसियतअनुसार सिट लिँदा थोरै पर्ने भएकाले ५० प्रतिशित सिट ल्याउने रणनीतिमा कांग्रेसबाहेकका दलहरू गृहकार्यमा जुटेको बताइएको छ । कांग्रेसलाई दबाब दिनका लागि माओवादी केन्द्रका नेताहरू नेकपा एमालेसँग पनि चुनावी तालमेल हुन सक्ने अभिव्यक्तिसमेत दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्