काठमाडौंमा कोरोनासँगै हैजा



काठमाडौं  ।

काठमाडौं उपत्यकामा कोरोनाका साथै हैजाका बिरामी पनि बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म ४२ जनामा हैजा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएको बताइएको छ ।

पछिल्लो समय ताहाचल, त्रिपुरेश्वर, टेकु र ढल्कुमा हैजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकुका दुई जनामा तथा ताहाचल, त्रिपुरेश्वर र ढल्कुका एक–एक जनामा हैजा देखिएको हो ।

पहिलोपटक असार २ गते बागबजारका दुई जनामा हैजा देखिएको थियो । त्यसयता डिल्लीबजार, सानेपा, कपन, बोहराटार, गोकर्णेश्वर, मनहरा, ढल्कु, टेकु, त्रिपुरेश्वर र ताहाचलमा हैजा देखिएको हो ।

अहिलेसम्म हैजा देखिएकामध्ये तीन जना पाँच वर्षभन्दा मुनिका बालबालिका छन् । त्यस्तै, ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ ।

यसैबीच, सोमबार ९ सय ४३ लाई कोभिड–१९ संक्रमित भएको छ भने एक जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, देशभर ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा संक्रमितको योे संख्या देखिएको हो । आइतबार ५ सय ३५ जनामा कोरोना पुष्टि भएको थियो ।

सोमबार २ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९८ जनामा र २ हजार ४ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३६ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ । कोरोनाबाट सोमबारसम्म ११ हजार ९ सय ७२ को मृत्यु भएको तथ्यांकले देखाउँछ । पछिल्लो २४ घण्टामा ४ सय ७० जना निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्