विद्युत् सर्ट हुँदा एकको मृत्यु, १२ जना घाइते



पर्वत।

जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङ धारापानी गाउँमा विद्युत् सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाइनमा विद्युत् सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीयवासी यामबहादुर केसीले बताए । स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काका अनुसार करेन्ट लागेर धारापानीकीे ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको छ ।

घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर १२ जना घाइते भएका छन् । हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुई सय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चँुडिएर स्थानीयवासी प्रताप आचार्यको फार्मका १६ बाख्रा मरेका छन् ।

विद्युत् कार्यालयको लारबाहीका कारण दुःखद् घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेका छन् । टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत् प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ ।

उता, नेपाल विद्युत् प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा दुई सय २० भोल्टेज प्रसारण हुनुपर्ने विद्युत्को तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएको बताए । विद्युत प्रवाहमा देखिएको समस्या समाधानका लागि केही स्थानमा रुख हटाउन थालिएको बताए । रुखहरू हटाउने क्रममा फलामे पोलबाट एलटि लाइनमा विद्युत् लिकेज भएको हुनसक्ने उनले अनुमान गरे ।

कम्पोजिट एल्टीमा लाइनछिरेका कारण विद्युत् आपूर्तिमा समस्या भएको हुनसक्ने उनले अनुमान गरेका छन् । यस्तो घटना जम्पर लुज भएका कारण पनि विद्युत् प्रवाहमा समस्या आउनेसक्ने उनले बताए ।

घटनाको यथार्थ विवरण प्राविधिक जाँच पछि आउनसक्ने भन्दै दुई सय २० भोल्टेज प्रवाह हुनपर्ने तारमा ११ हजार भोल्टेजसम्मको लाइन प्रवाह भएको हुनसक्ने उनले अनुमान गरे। कार्यालय प्रमुख गोसेलीले प्रारम्भिक रूपमा दुई २० भोल्टेजभन्दा बढी चार सय ४० भोल्टेजसम्म पनि प्रवाह भएको हुनसक्ने तर कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए । गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्